१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

दसैं बिदामा नयाँ गन्तव्य

भवानी भट्ट

कञ्चनपुर — पोखरा लेखनाथका मनोजकुमार श्रेष्ठ एक साताको भ्रमणमा निस्किए । भारतको दिल्ली, आगरा र नैनीताल घुमेर फर्किएका उनी महाकाली नदीमा निर्मित दोधारा–चाँदनी जोड्ने झोलुंगे पुलमा पनि पुगे ।

दसैं बिदामा नयाँ गन्तव्य

पोखराकै जनता सहकारीको अवलोकन भ्रमणमा निस्किएका श्रेष्ठसहित ४६ जनाको टोलीले झोलुंगे पुल घुम्न सुरुमै समय छुट्याएको हो ।


पोखरेलीहरूले करिब २ घण्टा झोलुंगे पुलमा बिताए । सेल्फीदेखि सामूहिक तस्बिर खिच्ने र पुलमा पैदल यात्रा गर्नेलगायतका काम गरे । ‘झोलुंगे पुलका बारेमा हामीले सुनेभन्दा बढी राम्रो र हेर्न लायक रहेछ,’ श्रेष्ठले भने, ‘पुल हेर्न आउनेको भीड पनि ठूलै हुँदो रहेछ ।’ तर पर्यटक बस्नका लागि पूर्वाधारको अभावका कारण केही समस्या भएको उनले बताए ।


दुई दशकअघि महाकाली पारिका दोधारा र चाँदनी गाविसलाई सदरमुकामसँग जोड्नका लागि निर्माण गरिएको झोलुंगे पुल अहिले यस क्षेत्रकै प्रमुख पर्यटकीय स्थलका रूपमा विकास भएको छ । अझ दसैं र तिहारका बेला त झन् झोलुंगे पुल आन्तरिक पर्यटकले भरिभराउ हुने गरेको छ । पुलमै सेल्फी खिच्ने, सामूहिक फोटो खिच्ने लगायतका गतिविधिहरू ठाउँठाउँमा भइरहेका हुन्छन् ।


केही वर्षयता दसैं र तिहारको बिदाको अवसर पारी घुम्ने संस्कृतिको विकास हुँदै गएको छ । जसका कारण नयाँ गन्तव्यमा आन्तरिक पर्यटक बढ्दै गएका छन् । महेन्द्रनगर घुम्न आउने अधिकांश एक पटक झोलुंगे पुल पुगेरै फर्किन्छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएकाले आन्तरिकसँगै बाह्य पर्यटक पनि पुल हेर्न पुग्ने गरेका छन् । हाल आएर वनभोजका लागि पनि यो स्थान परिचित हुन थालेको छ ।


तिहारमा देउसी खेलेपछि पुल आसपासका क्षेत्रमा वनभोजका लागि आउनेहरूको भीड लाग्छ ।

दसैं बिदाको अवसरमा भारतका विभिन्न ठाउँ घुमेर फर्केका कोहलपुरका उमेश शाही पनि झोलुंगे पुल पुगे । पुलबाटै हिंडेर महाकाली पारिको दोधारा चाँदनीलाई पनि नजिकबाट नियाले । ‘झोलुंगे पुलसँगै दोधारा–चाँदनी पनि हेर्न पाइयो,’ उमेशले भने, ‘महाकाली पारिका बस्ती र पुल दुवै त्यत्तिकै राम्रा छन् ।’


झन्डै डेढ किलोमिटर लामो पुलको ठाउँठाउँमा सेल्फी खिच्ने र सामूहिक तस्बिर लिनेको झुन्ड देखिन्छ । रमाउँदै पुलमा यात्रा गर्ने पनि त्यत्तिकै देखिन्छन् । तर पुल आसपास बस्न तथा खानका लागि उपयुक्त होटल र विश्राम स्थल नहुँदा भने पर्यटकले यहाँको बसाइ छोट्याउने गरेका छन् ।


झोलुंगे पुलसँगै कञ्चनपुरको वेदकोट नगरपालिकामा चुरे फेदीमा रहेको लिंगा पनि नयाँ पर्यटकीय गन्तव्य बनेको छ । चुरेको पहाड खिइएर बनेको टाकुराहरूलाई लिंगा नाम दिइएको छ । यहाँ पनि आन्तरिक पर्यटकको चाप बढेको छ । झोलुंगे पुलझैं यहाँ पनि सेल्फीमोह अति नै देखिन्छ । स्थानीयले लिंगेश्वर महादेवका रूपमा पूजा पनि गर्दै आएका छन् ।


भीमदत्त नगरपालिकाकै चुरे फेदीमा रहेको भम्केनी धाम क्षेत्र पनि नयाँ पर्यटकीय गन्तव्य बनेको छ । तीन वर्षअघि जगतगुरु मोहनशरण देवाचार्य यहांँ आएर महायज्ञ लगाएपछि यसको प्रचारप्रसार तीव्र भएको हो ।


जगतगुरुले उक्त क्षेत्रलाई धार्मिक, पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न पहल गरेका छन् । उक्त क्षेत्रमा नेपाल आमाको ७५ फिट अग्लो मूर्ति निर्माणको काम पनि सुरु भएको छ । यहांँ पनि आन्तरिक पर्यटकको भीड बढेको छ ।

प्रकाशित : कार्तिक २७, २०७५ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?