कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

निर्मला हत्या प्रकरणः ऐक्यबद्धता जनाउनेको भीड

भवानी भट्ट

कञ्चनपुर — चितवनका जितबहादुर घलेसहितको समूह मंगलबार बिहानै महेन्द्रनगर पुग्यो । घुम्न आएका उनीहरूले यहाँ पुग्ने बित्तिकै निर्मलाका हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै पीडित परिवारले सुरु गरेको अनिश्चितकालीन धर्नास्थल पुगेर ऐक्यबद्धता जनाए ।

निर्मला हत्या प्रकरणः ऐक्यबद्धता जनाउनेको भीड

पीडित परिवारलाई साथ दिन यहाँ आएका उनीहरू समर्थन जनाउन केहीबेर निर्मलाका बुवा यज्ञराज र आमा दुर्गादेवीसँगै धर्नामा बसे ।


काठमाडौंका क्रान्ति लामा पनि निर्मलाका आमा बुवालाई साथ दिन महेन्द्रनगर पुगेका छन् । मंगलबार दिउँसो महेन्द्रनगर पुगेका उनी पनि केहीबेर पन्त परिवारसँगै धर्ना बसे । ‘यति ठूलो घटना भएको छ, सरकार अझै पनि गैरजिम्मेवार बनेको छ’ उनले भने, ‘दबाबमूलक रूपमा पन्त परिवारले सुरु गरेको धर्नामा ऐक्यबद्धता जनाउन यहाँ पुगे ।’


बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै परिवारले आइतबारदेखि सुरु गरेको अनिश्चितकालीन धर्नामा ऐक्यबद्धता जनाउन आउनेको संख्या दिनहँु बढ्दो छ । स्थानीयसँगै धनगढी, नेपालगञ्ज, बुटवल, चितवन र काठमाडौंदेखि समेत ऐक्यबद्धता जनाउनकै लागि सर्वसाधारण यहाँ पुग्न थालेका छन् । विभिन्न संघ संस्था, राजनीतिक दलका नेताहरू, आफन्त र अधिकारकर्मीहरू आउने क्रम बढेको छ ।


‘निर्मलाका आमा बुवाले सुरु गरेको धर्नामा समर्थन जनाउन म पनि यहाँ पुगेको हुँ,’ नेपालगन्जका राम घिसिङले भने, ‘यो घटनालाई सबैले चासोका साथ हेरेका छन्, परिवारलाई सबैको साथ र समर्थन छ ।’ उनी पनि पन्त परिवारसँगै केही बेर धर्ना बसेका थिए । धर्नास्थलमा पन्त परिवारलाई भेट्न आफन्त र इष्टमित्रसमेत आउने गरेका छन् । जिल्ला प्रशासन कार्यालयको गेट अगाडि भएकाले प्रशासनमा आउने सेवाग्राहीसमेत एकपटक पन्त परिवारलाई भेटेरै जाने गर्छन् । बाटोमा हिंड्ने बटुवाहरू समेत एकपटक पन्त परिवारलाई भेटेर सन्चो बिसन्चो सोध्नुका साथै साथ र समर्थन रहेको बताउँछन् ।


‘यो नहुनुपर्ने घटना भयो, हामी पनि दुखी छौं’ भीमदत्त नगरपालिका १८ कटानका भोजराज भट्टले भने, ‘अब पनि हत्यारा पत्ता लगाएर चाँडो सार्वजनिक नगरे आमा बुवासमेत बिरामी हुने खतरा छ ।’ उनी पन्त परिवारका इष्टमित्र हुन् । धर्नाले केही दबाब बढे पनि प्रहरी प्रशासनले अझै बेवास्ता गरिरहेको उनको गुनासो छ ।


धर्नास्थलमा राखिएको उपस्थिति हेर्दा ऐक्यबद्धता जनाउन दैनिक ३ सय जनाभन्दा बढी पुग्ने गरेका छन् । स्थानीयसँगै बाहिरका समेत आउने गरेका छन् । सोमबार साँझ कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडु पनि ऐक्यबद्धता जनाउन यहाँ पुगेका हुन् ।


धर्ना बसेकै बेला नेता बडुले पन्त परिवारले सुरु गरेको आन्दोलन कसैका विरुद्ध नभई न्यायका लागि भएकाले साथ र समर्थन रहेको बताए । ‘यो सत्यको आग्रह हो, सत्य थाहा पाउनुपर्छ भन्ने उहाँहरूको मागमा हाम्रो पनि साथ छ,’ उनले भने, ‘सत्यको आग्रहमा ठूलो तागत हुन्छ, सरकरले समयमै यो कुरालाई सुन्नुपर्छ ।’


पीडित परिवार अनिश्चितकालीन धर्नामा बसे पनि प्रहरीले भने अझै अनुसन्धानमा ठोस उपलब्धि हुन नसकेको जनाएको छ । पछिल्लो पटक तिहारअघि नै डीएनए परीक्षणका लागि ४ जनाको नमुना पठाइएको र त्यसको रिपोर्ट आइनसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुबेर कडायतले बताए । ‘अनुसन्धान जारी छ, अझै कति समय लाग्छ केही भन्न सकिंदैन’ उनले भने, ‘हामी विभिन्न कोणबाट अनुसन्धान गरिरहेकै छौं ।’ तिहार बिदा भएका कारण डीएनए रिपोर्ट आउन ढिला भएको एसपी कडायतले बताए ।


यसैबीच निर्मला घटना भएकै दिनदेखि आन्दोलनरत नागरिक संघर्ष समितिले पनि थप आन्दोलनको तयारी गरेको छ । दसैं र तिहारका लागि आन्दोलन स्थगित गरेको समितिले मंगलबार छलफल गरी पन्त परिवारलाई साथ दिने, ज्ञापनपत्र बुझाउने लगायतका कार्यक्रमहरू गर्ने सम्बन्धमा छलफल भएको छ ।


प्रकाशित : कार्तिक २८, २०७५ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?