फैलिँदै छठ पर्व

मोहन बुढाऐर

धनगढी — तीस वर्ष पहिला राधेश्याम गुप्ता र पुरन लालको दुई परिवार मात्र छठ पर्वमा उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ चढाउन मोहना घाट पुग्थे । बर्सेनि थपिंँदै गए । दस वर्ष जति मात्रै भयो, मोहना घाट छठी पर्वको अवसरमा झकिझकाउ हुन थालेको । राधेश्यामका छोरा सचितानन्द भन्छन्, ‘अहिले हजारांैको भीडभाडमा छैठीको दिन मोहना नदीमा खुट्टा हाल्ने ठाउँ पाउन मुस्किल हुन्छ ।’

फैलिँदै छठ पर्व

सुदूरपश्चिमका दुई वटा तराईका जिल्ला कैलाली र कञ्चनपुरमा छठ पर्व मनाउने मधेसी समुदायको उपस्थिति न्यून छ । ५० को दशकअघि नगण्य संख्यामा मधेसीहरू यो क्षेत्रमा बस्थे ।


‘सरकारी जागिर र व्यापारको सिलसिलामा पूर्वी मधेसबाट बसाइ सरेकाहरूको संख्यामा वृद्धि हुँदै गया,े’ सचितानन्दले भने, ‘साठीको दशकपछि छठ पर्वलाई भव्यरूपमा मनाउन थालिएको हो ।’

उनका अनुसार छठ पूजालाई भव्य र सम्भ रूपमा मनाउन छठ पूजा सेवा समिति गठन भएको छ । उक्त समितिले नदी किनारमा टेण्टको व्यवस्था गर्न सुरु गरेपछि उदाउँदो सूर्यको पूजा राति बास बसेर मनाउन थालेको उनी बताउँछन् । त्यो भन्दा पहिला अस्ताउँदो सूर्यलाई अर्घ दिएर भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिन ब्रतालुहरू जान्थे । पहिला छठ पूजा गर्नेहरूको संख्या थोरै भएकाले सुरक्षाको कारण पहिला रात्रि घाटमा जाग्राम बस्दैनथे । अहिले भने १० हजारभन्दा बढीले सूर्य भगवानलाई अर्घ चढाउन मोहना घाटमा राति जाग्राममा बस्ने गरेको सचितानन्दले बताए ।


पहिला पहिला यो क्षेत्रमा व्यापार र जागिरको क्रममा आएका मधेसीहरू छठ पर्वको अवसरमा आफ्नो घर जाने गरेकोले पर्वमा त्यति रौनक हुँदैनथ्यो । ‘अहिले त पूर्व घर फर्कने कमै हुन्छन्,’ पप्पु गुप्ताले भने, ‘यता घर परिवार नभएकाहरू मात्रै पूर्व घर जान्छन्, बाँकी सबै यतै मनाउँछन् ।’ पछिल्लो एक दशकमा ठूलो संख्यामा मधेसी परिवारको बसोबाससमेत बढेको उनी बताउँछन् ।


अहिले छठ पूजा सेवा समितिले चन्दा संकलन गरेरै मोहना घाटलाई झकिझकाउ बनाउने गरेको छ । समितिका अध्यक्ष सन्तोस मन्डलका अनुसार देशभरिमै अहिले धनगढी मोहना किनारको छठी पूजा ‘टप टेन’ मा पर्छ । उक्त समुदायबाट ४/५ सयदेखि एक लाखसम्म चन्दा सहयोग लिएर छठी पूजाका लागि मोहना घाटमा टेण्ट, अस्थायी मन्दिर, भजनकृतन नाचगान, लगायतको थुप्रै कुराहरूको व्यवस्था गर्ने गरेको बताए । उनले यो वर्ष सात लाखभन्दा बढीको लागत अनुमानमा मोहना किनारमा छठी पूजा पर्व मेलाको आयोजना गरिएको बताए । समितिद्वारा मात्रै भक्तजन र ब्रतालुहरूका लागि व्यक्तिगत लगानीमा घाट निर्माण गरिदिने गरेका छन् । विगत ३ वर्षदेखि धनगढीका शत्रुघन भरतले ३ लाखभन्दा बढीको लगानीमा घाट निर्माण र टेण्ड हालेर भजनकृतन भवन, नाँच घर, झाकी प्रर्दशन गराउने गरेका छन् ।


पहाडी समुदायमा मिसिंदै छठ

धनगढीका राहुल गुप्ताले पहाडीमूलकी साधना खत्रीसँग वैवाहिक सम्बन्ध जोडे । मधेसी समुदायको चलनअनुसार साधनाले पनि छठ पूजा गर्न सुरु गरिन् । त्यस्तै मामा प्रदीप गुप्ताले चौधरी समुदायसँग नाता जोडे ।


सेवा समितिका सल्लाहकार पूर्ण शंकर यादवले पछिल्लो समयमा छठी पूजा गर्न मधेसी समुदायसँगै पहाडी र अन्य समुदायको मिश्रण बढेको बताए । उनका अनुसार पहाडी र मधेसीहरूको चेलीबेटीको वैवाहिक सम्बन्धले मात्रै हैन अहिले देखासिखी र रहरले पनि अन्य समुदाय छठ पर्व मनाउन थालेका छन् । उनले मोहना घाटमा लाग्ने छठ पर्वको मेला हेर्ने कुल जन समुदायमा ३० प्रतिशत छठ नमान्ने समुदायहरूको उपस्थिति रहने गरेको बताए ।


उनले हरेक वर्ष छठ मान्ने पहाडी समुदायका परिवारहरू बढ्दै गएको जानकारी पनि दिए । ‘केही वर्षमै छठ पर्व मधेस तराई हुँदै पहाड उक्लिने छ,’ उनले भने, ‘सारा नेपालीलाई एउटै माला छठमा बाँध्ने छ ।’ पूर्णशंकर यादवकी श्रीमती सुजिताले अहिले माइती र ससुराली दुवैमा छठ पर्व मनाउन लागेको बताइन् । छठी माईको व्रतले मनमा शान्ति दिएपछि आफूले आफ्नो माइती घरमा छठ मनाउन आग्रह गरेको बताइन् । उनले सुरुमा तीन दिन भोकै बस्नुपर्ने यो व्रत बस्न असाध्यै कठिन भए पनि पछि मनमा शान्ति प्राप्त हुन थालेको बताइन् । अहिले घरमा दसैं तिहार र छठ पर्वलाई समान रूपमा मान्ने गरेको बताइन् ।


स्थानीय राजन गुप्ताले छठ पूजाले सन्तान र सुखसमृद्धि प्राप्त हुने मान्यताले पूर्वमा पछिल्लो समयमा समुदायका परिवारले छठ मनाउन लागेको बताए ।

प्रकाशित : कार्तिक २८, २०७५ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?