१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पर्यटक तान्दै रामारोशन

मेनुका ढुंगाना

अछाम — सरकारले हालै छनोट गरेका सय नयाँ पर्यटकीय गन्तव्यमा परेको अछामको रामारोशन क्षेत्रमा आन्तरिक पर्यटकको संख्या बढेको छ । उच्च लेकाली भेगमा रहेको यो क्षेत्रमा विभिन्न आकृतिका १२ वटा ताल र १८ घाँसे मैदान छन् । ९ प्रकारका लालीगुराँस र राष्ट्रिय चरा डाँफे पाइने रामारोशनले पर्यटकको मन जित्न थालेको छ ।

पर्यटक तान्दै रामारोशन

विभिन्न प्रजातिका जडीबुटीको भण्डार मानिने रामारोशनमा लोपोन्मुख बन्यजन्तुको समेत बासस्थान छ । यहाँ थुप्रै मनमोहक ताल छन् । जसले सबैको मन लोभ्याउँछ । करिब १० बिघाभन्दा बढी क्षेत्रफलमा मैदान र ३ वटा ताल फैलिएका छन् ।


रामारोशन घुम्न गएकाहरू पर्यटनको प्रचुर सम्भावना भएको रामारोशनलाई सरकारले चिन्न ढिलाइ गरेको बताउँछन् । ‘चौतर्फी हराभरा जंगल र बीचमा हरियो वनजंगलले सजिएको मनोरम दृश्यले रामारोशनलाई झन् सुन्दर बनाएको छ,’ डडेलधुराबाट रामारोशन पुगेकी लक्ष्मी ऐरले भनिन्, ‘यो क्षेत्रको प्राकृतिक सुन्दरता बयान गरिनसक्नु छ ।’


उत्तरतिर अटल आकासे भीर, मालिकाको शिर र चाखाको चुचुरो अनि चारैतिर हरियो र सुन्दर देखिने जंगल, बीचैमा ठूल्ठूला घाँसे मैदान । त्यहाँ पुग्दा साँच्चिकै बिहानीको उदाउँदो लालीमासँगै चाखा मालिका र आकासेभिरसँगै मुसुक्क हासेको महसुस हुन्छ । ‘प्रकृतिले दिएको सुन्दर उपहारलाई चिन्न सरकारले ढिलो गर्‍यो,’ ऐरले भनिन् ।


किनिमिनीको मैदानमा यातायातको व्यवस्था मिलाउन सकिएमा आर्थिक तथा सामाजिक परिवर्तनका साथै देश विदेशका पर्यटक भित्र्याउन ठूलो सहयोग पुग्ने स्थानीय बताउँछन् । ‘पर्यटकीय, धार्मिक र ऐतिहासिक अनुसन्धान गर्न पनि अति महत्वपूर्ण स्थानको रूपमा विकास गर्न सकिन्छ । रामारोशन क्षेत्रलाई सिमसार क्षेत्रमा राख्न सके अझ राम्रो हुने थियो,’ स्थानीय व्यापारी केशर रोकाले भने, ‘यहाँ जति पर्यटक आउँछन् सबैले रामारोशनको बयान गर्छन् । अहिलेसम्म ५ जना मात्रै विदेशी पर्यटक आएको रेर्कड छ । स्थानीय सरकारले सहयोग गरेमा हामी स्तरीय होटेल संचालन गर्न सक्छौं ।’


घाँसे मैदान, ओल्लो र पल्लो सैन गरी २ सैनमा विभाजन भएर बीचमा रोशनगडाको बीचबाट बग्दै आएको कैलाश खोला किनिमिनीको मैदानको बीचमा पनि भयानक अजिङ्गर बेरिए जसरी कलकल बगेको श्रव्यदृश्य अर्को प्रकृतिको उपहारझै लाग्ने यहाँ पुगेकाहरू सुनाउँछन् ।


रोशनगडा रामेको बण्डालबाट करिब ३ किलोमिटर अगाडि पूर्वाेत्तरमा पर्छ । रोशनगडामा सय जना गोठालाहरूका गोठहरू छन् । यो ठाउँ ६ हजार बढी बस्तुभाउ पाल्न सकिने फराकिलो फाँट हो । यो मैदानमा ४० प्रतिशत भूगोल दलदलले भरिएको छ भने २० प्रतिशत भूगोल जंगलले भरिएको देख्न सकिन्छ । अन्य ४० प्रतिशत भूभागमध्येमा २० प्रतिशत भूभाग अजिङ्गर जस्तो बेरिएर कलकल मैदानको बीचबाट बग्ने कैलाश खोलाले ओगटेको छ । आकाशेभीरका भेरा बाङ्गेछहरा अनि गणचुचे र रोशनगडा हेर्नलायक छन् ।


रामारोशन पुग्ने मार्ग

पहिलो रुट: धनगढी– दिपायल–साँफेबगर हुँदै तिमिल्सैनसम्म पक्की सडक भएकोले गाडीमा आउन सकिन्छ । तिमिल्सैनबाट कच्ची सडक भएकाले वर्षातको समयबाहेक रामारोशनसम्म जिप, मोटरसाइकल र ट्याक्टरहरू पुग्छन् ।


यस रुटमा आउने क्रममा डडेल्धुराको उग्रतारा र अमरगढी किल्ला, डोटीको शैलेश्वरी, अछामको वैद्यनाथ लगायत धार्मिक तथा पर्यटकीय स्थानहरूमा पुग्न सकिन्छ ।


दोस्रो रुट : धनगढी–दिपायल हुँदै खप्तड जाँदा त्यहाँबाट रामारोशनसम्म आउने अर्को पैदल रुट पनि छ । यस रुटमा बीचमा अछाम तथा बाजुराका मनोरम दृश्यावलोकन गर्न पाइन्छ ।


तेस्रो रुट : काठमाडौं–सुर्खेत–अछामको विनायक हुँदै मंगलसेन–वलिगाउँसम्म गाडीमा र त्यहाँबाट हिंडेर शान्तडा हुँदै रामारोशन पुग्न सकिन्छ भने यस रुटमा सुर्खेतका बुलबुले ताल, धार्मिक स्थान, माथिल्लो कर्णाली आयोजना स्थल, विनायक पञ्चदेवल लगायतको अवलोकन गर्न सकिन्छ ।


चौथो रुट : सुर्खेत हुँदै कालिकोटसम्म पुग्ने र त्यहाँबाट हिंडेर रामारोशन पुग्न सकिन्छ । यो रुटमा धेरै हिंड्नुपर्ने भएकोले अलि असहज र जंगलको बाटो हिंड्नुपर्ने हुन्छ ।

प्रकाशित : कार्तिक २९, २०७५ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?