कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

अनुदानको मल दुरुपयोग

राष्ट्रिय बीउबिजन कार्यालयमा मौज्दात रहे पनि किसान भारतबाट अवैध रूपमा आयातित बीउ खरिद गरिरहेका छन्
मोहन बुढाऐर

धनगढी — राम्रो वर्षा भएकाले यो वर्ष धानको उत्पादनमा वृद्धि भएको छ । गहुँबाली लगाउने बेलामा परेको हल्का वर्षाले उत्पादकत्व राम्रो हुने संकेत गरेको छ । मल र बीउ अभावमा किसानले भने गहँु लगाउन पाएका छैनन् । 

‘गहुँ लगाउने यो बेला हल्का वर्षा असाध्यै राम्रो हो,’ कैलाली फूलबारीका प्रेम चौधरीले भने । आइतबार कैलालीमा हल्का वर्षा भएको थियो । उनले मल र बीउको अभावमा अधिकांश किसानको गहुँ लगाउन बाँकी रहेको बताए । मंसिर पहिलो सातापछि गहुँबाली लगाइन्छ । कात्तिकभित्रै लगाएको राम्रो हुने उनको कथन छ ।


उनले आफ्नो ३ बिघा जमिनका लागि उनलाई कम्तीमा १ सय ८० किलो डीएपी र ३ सय किलो युरिया मल चाहिएको बताए । ‘त्यसको जोहो गर्न नजिकको सहकारी पसलमा दिनदिनै धाइरहेको छु’ उनले भने, ‘गहुँ लगाउने सिजन सकिन लाग्यो, मल पाएको छैन ।’


कृषक भलाइ सहकारी संस्थाका कुवेर अधिकारीले धनगढी कृषि सामग्री कम्पनीबाट थोरथोरै परिमाणमा मल पाइने भएकोले पसलमा मल झार्दाझार्दै सकिने गरेको बताए । कुनै किसानले पनि चाहिने जति मल पाउन नसकेको बताए । मल नपाएर किसानले भारतबाट गुणस्तरहीन अवैध मल तस्करबाट किन्न बाध्य भएको उनी बताउँछन् । ‘सरकारी मल र बीउलाई कति पर्खने’ अधिकारीले भने, ‘जहाँ पायो, त्यहींबाट किन्न थालेका छन् ।’ उनले तस्करले घरघरै मल र बीउ पुगाइदिन लागेको बताए ।


शुक्रबार किसानहरूले मल नपाएको विरोधमा आन्दोलन पनि गरेका छन् । उनीहरूले शुक्रबार कृषि सामग्री संस्थानको कार्यालयमा ताला लगाएका थिए । सुदूरपश्चिम प्रदेशको कृषि तथा सहकारी मन्त्रालय एक घण्टा घेराउ समेत गरेका थिए । उक्त विरोध कार्यक्रमपछि कृषिमन्त्री बिनिता चौधरीले मलको अभावलाई सहज बनाउने प्रतिबद्धता गरेकी छन् ।


कृषि सामग्री कम्पनीका क्षेत्रीय प्रमुख दुर्गा पाण्डेय भने मलको अभाव नभएको बताउँछन् । उनी किसानलाई एकै पटक मल पुर्‍याउन नसकेको कारण अभाव देखिएको हो मात्रै भन्छन् । ‘भैरहवामा जति पनि मल छ’ उनले भने, ‘ढुवानीमा सहजता आउन सकेको छैन । एक दिनमा सय क्विन्टल मात्रै मल ढुवानी भइरहेको छ । त्यसैले जिल्लाका २ सय४० सहकारी संस्थालाई वितरणमा समस्या आएको हो ।’


उनका अनुसार कैलालीमा गहुँ र तोरी बालीका लागि डीएपी २ हजार ५ सय, युरिया ५ हजार र पोटास एक सय टन आवश्यक पर्छ । हालसम्म ७ सय ६० टन सय डीएपी र युरिया ३ सय ६१ टन बिक्री गरिसकेको छ । युरिया टप ड्रेसिंगमा चाहिने भएकोले किसानलाई अहिले डीएपी मल दैनिक एक सय क्विन्टल ढुवानी गरिरहेको बताए ।


यसैबीच किसानका लागि कृषि सामग्री संस्थानबाट लगेको मललाई केही सरकारी संस्थाले व्यापारीलाई समेत बिक्री गरेको खुलेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीको बजार अनुगमनको टोलीले कैलालीका ३ वटा व्यापारिक पसलमा सरकारी अनुदानको मल फेला पारेको छ ।


शान्ति आयलमा ८, लहान एग्रोभेटमा १५ र न्यु शाही पसलमा ३ क्विन्टल कृषि सामग्री कम्पनीको अनुदानको डीएपी मल फेला पारेको हो । प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले अनुदानको मल बिक्री गर्ने व्यापारी र व्यापारीलाई दिने सहकारी संस्थाको पहिचान गरेर तिनलाई कारबाही गरिने बताए ।


राष्ट्रिय बीउबीजन कार्यालयका प्रमुख मधु ओझाले बीउको अभाव नभएर सीमावर्ती क्षेत्रमा भारतबाट आयातित बीउ लगाउने चलनै बढी रहेको बताइन् । ‘हामीसँग ७० टनभन्दा बढी गहुँको बीउ मौज्दात छ’ उनले भने, ‘बीउ लिन कोही किसानै आएको छैन ।’


उनले सुदूरपश्चिम प्रदेशका लागि यो वर्ष १ सय ३० टन गहुँको बीउ खरिद गरेको बताइन् । फूलबारीका अधिकारी अधिकांश सर्वसाधारण किसानलाई राष्ट्रिय बीउबीजनमा बीउ पाइन्छ भन्ने जानकारी नै नभएको बताउँछन् ।

प्रकाशित : कार्तिक २९, २०७५ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?