कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

तिहारपछि इन्धन अभाव

भवानी भट्ट

कञ्चनपुर — भीमदत्त नगरपालिका–८ तिलाचौरका दीपक जोशी बुधबार दिनभरि पेट्रोलका लागि लाइन लागे । जब उनको पालो आयो पेट्रोल सकिएपछि जेनतेन घर फर्किए । ‘चार घण्टा लाइन लागेँ तर मेरो पालो आउने बेला तेल सकियो,’ उनले भने, ‘साथीसँग तेल पैंचो मागेर घर पुगे ।’

तिहारपछि इन्धन अभाव

कञ्चनपुरमा दसैंदेखि नै पेट्रोलियम पदार्थको अभाव हुँदै आएको हो । तिहार बिदापछि त पेट्रोल र डिजेलको हाहाकार नै भएको छ । तिहारपछि खेतीपाती, विकास निर्माणका काम धमाधम सुरु हुने भएकाले इन्धनको खपत अझ बढी हुन्छ । यही समयमा माग अनुसार आपूर्ति नहुँदा हाहाकार भएको हो । दसैं र तिहारको बिदापछि जहिल्यै इन्धनको अभाव हुने गरेको छ ।


गहुंँ छर्ने बेला डिजेल अभाव हुँदा कृषकहरू समेत मारमा परेका छन् । ट्रयाक्टरले खेत जोताइ गरिने भएकाले बढी समस्या भएको हो । इन्धन नपाउँदा जोताइको काम पनि प्रभावित भएको छ । महेन्द्रनगर बजार क्षेत्रका पेट्रोल पम्पहरूमा इन्धनका लागि दुई/तीन दिनदेखि गाडीहरू खडा गरिएका छन् । ‘डिजेल नभएर गाडी पेट्रोलपम्पमै छाड्नुपर्ने अवस्था आएको छ’ पेट्रोल पम्पमा भेटिएका सवारी चालकहरू भन्छन्, ‘आज आउँछ, भोलि आउँछ भन्छन् तर पाउन सकिएको छैन ।’


‘तिहारपछि इन्धन आएकै छैन, माग धेरै छ, तर आपूर्ति हुन सकेको छैन’ महेन्द्रनगरस्थित सेती महाकाली आयल स्टोरका कर्मचारी कान्ताराम चौधरीले भने, ‘कात्तिक २० मा एकपटक मात्र ४ केएल

(४ हजार लिटर) पेट्रोल आएको छ ।’ जबकि एउटै पेट्रोल पम्पले दैनिक १५/२० हजार लिटर पेट्रोल र डिजेल बिक्री गर्दै आएका छन् । महेन्द्रनगर बजार क्षेत्रमा मात्रै आधा दर्जन पेट्रोल पम्पहरू छन् ।


तिहार बिदापछि माग गरे अनुसार इन्धन नआउँदा अभाव देखिएको इन्धन व्यवसायीहरू बताउँछन् । आयल निगमको धनगढीस्थित क्षेत्रीय कार्यालयले भारतबाटै कम आयात भइरहेको भन्दै माग गरे अनुसार उपलब्ध नगराइरहेको व्यवसायीहरू बताउँछन् । तर महेन्द्रनगर बजारमै चर्काे मूल्यमा फुटकर रूपमा भने डिजेल र इन्धन धमाधम बिक्री भइरहेको छ । पेट्रोलपम्पकै मिलेमतोमा आफू निकटका गाडी धनी र बजारमा फुटकर बिक्री गर्नेहरूलाई इन्धन दिने गरेको सवारी चालकहरूको गुनासो छ ।


पेट्रोल र डिजेल भारतको तुलनामा नेपालमा सस्तो पाइने भएकाले सीमा क्षेत्रका भारतीय नम्बरका सवारी साधनसमेत इन्धन भर्न यही आउने गरेका छन् । गड्डाचौकी नाकाबाट मात्रै दैनिक डेढ/दुई सय भारतीय नम्बरका जिप कारहरू आउने गर्छन् । ती जिप कार पनि यहीं इन्धन भर्छन् ।


आयल निगमको क्षेत्रीय कार्यालय धनगढीका क्षेत्रीय प्रबन्धक सर्पराज शर्माले तिहार बिदासँगै भारतबाट जाँंचपास हुन प्राविधिक कारणले ढिलाइ भएकाले इन्धनको अभाव भएको बताए । उनले सुदूरपश्चिम प्रदेशभरि नै इन्धनको अभाव भएको बताए । ‘भारतमै भन्सार नजिकै गाडी दुर्घटना हुँदा भन्सार पास हुन ढिलाइ भएको हो’ उनले भने, ‘आज सबै ट्यांकरहरू फर्किन्छन्, भोलिदेखि इन्धन अभावको समस्या

सहज हुँदै जानेछ ।’


क्षेत्रीय कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेशमा मात्रै दैनिक १ सय केएल पेट्रोल र ३ सय केएल डिजेल आवश्यक पर्छ । लामो समय बिदा हुँदा इन्धनको ढुवानी हुन नसक्ने र क्षेत्रीय कार्यालयमा भण्डारण क्षमता कम भएकाले समस्या देखिने गरेको क्षेत्रीय प्रबन्धक शर्माले बताए ।


बर्सेनि दसैं र तिहारको बिदापछि इन्धनको अभावसँगै कालोबजारी पनि हुने गरेको उपभोक्ताहरू बताउँछन् । तर आयल निगमले यो समस्या समाधान गर्नेतर्फ चासो दिन सकेको छैन ।

प्रकाशित : कार्तिक २९, २०७५ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?