कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

निर्धक्क मनपरी भाडा

मोहन शाही

डोटी — आदर्श गाउँपालिकाको सदरमुकाम मौवासम्म २ सय २० रुपैयाँ भाडादर निर्धारण गरिएको छ । मंगलबार स्थानीय रमेश रोकाया झन्डै दोब्बर अर्थात ४ सय रुपैयाँ भाडा तिर्न बाध्य भए ।

निर्धक्क मनपरी भाडा

तेलको मूल्य बढेको भन्दै जिप चालकले जथाभावी भाडा असुलेको दुखेसो उनले सुनाए । केआई सिंह गाउँपालिकामा आयोजना गरिएको भलिबल प्रतियोगितामा सहभागी हुन गएका सिलगढीका दिलीप श्रेष्ठले पनि दुर्गामाण्डौ वायलसम्म यात्रा गरेको ४ सय रुपैयाँ दिए । दिपायलदेखि वायलसम्म १ सय ८७ रुपैयाँ भाडा निर्धारण गरिएको छ ।


भारतबाट रोजगारी गरेर आएका धिरज बिकले कोलाखानसम्मको १ हजार १ सय रुपैयाँ भाडा तिर्नुपरेको बताए । उनले ६ सय रुपैयाँ लाग्ने ठाउँमा आफूबाट चर्को भाडा लिएर ठगेको कुरा गाउँमा पुगेपछि मात्र थाहा पाए । ‘रेट त ६ सय पो रहेछ,’ उनले भने, ‘म त धेरैपछि घर फर्केको मानिस परे । थाहा भएन । ११ सय लिइदियो ।’


चाडबाडका बेला ग्रामीण क्षेत्रमा गुड्ने सवारीसाधनहरूले मनपरी भाडा असुल्ने गरेका छन् । डोटीका ग्रामीण सडकखण्डमा शैलेश्वरी यातायात व्यवसायी समिति अन्तर्गतका जिपहरू चल्ने गरेका छन् । समितिले उक्त सडकमा चलानी दिएर जिप चलाउने गरेको छ । सर्वदलीय संयन्त्रबाट जिल्लामा भाडादर तोकिएको भए पनि पछिल्लो समय मनोमानी भाडा असुल्न लागिएको गुनासो आउन थालेको छ ।


शैलेश्वरी यातायात व्यवसायी समितिका कर्मचारी टेक शाहले नयाँ भाडादर नतोकिएको बताए । उनले नियमविपरीत भाडा लिनेलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘हामीलाई प्रमाणसहित उजुरी गरे मनोमानी गर्ने गाडीलाई तत्काल कारबाही गर्छौं,’ उनले भने, ‘पैसा दिइसकेपछि आरोप लगाएको अर्थ छैन, नियमभन्दा बाहिर भाडा मागे हामीलाई खबर गर्न सबैलाई जानकारी गराउँछौं ।’


डोटीमा राजपुर चवराचौतारा सडकमा मात्र नभएर दिपायल–डौड सडकमा पनि सवारीसाधनहरू गुड्ने गरेका छन् । त्यसबाहेकडोटीमा सहजपुर–बिपीनगर, पचनाली–मुडभरा, कालागाड–मुडेगाउँ, सानागाउँ–पोखरी लगायतका ग्रामीण सडकमा पनि सवारीसाधन चल्ने गरेका छन् । दसैंतिहार सकिएलगत्तै पहाडी जिल्लामा जात मेला सुरु भएका छन् । देवी देवता पुज्न टाढा टाढाबाट पुख्र्यौली थलो फर्कने सयौं यात्रुहरू यतिबेला ग्रामीण यात्रा गर्ने गर्छन् ।


मौवामा पहिलोपटक बस

शैलेश्वरी यातायात समितिले बुधबारबाट दिपायल–मौवा सडकखण्डमा बस सेवा संचालन गरेको छ । मंगलबार पहिलोपटक मौवामा बस पुगेपछि स्थानीयबासीमा खुसियाली छाएको छ । पहिलो पटक बस पुगेपछि स्थानीयले सवारीचालक र बसको फूलमाला र अबिरले भव्य स्वागत गरे ।


यसअघि स्थानीयबासी कष्टका साथ जिपमा कोचाकोच गरेर यात्रा गर्न बाध्य थिए । २२ किलोमिटर लामो सडकखण्डमा सीमित जिपहरूमात्र संचालन हुने गरेका थिए ।


शैलेश्वरी यातायात व्यवसायी समितिका अध्यक्ष गणेश मलासीले अहिले परीक्षणमात्र गरिएको जानकारी दिए । कानुनी प्रक्रिया पूरा गरेर मंसिर ५ गतेबाट मौवाबाट धनगढी, महेन्द्रनगर र दिपायलका लागि बस संचालन गरिने अध्यक्ष मलासीले बताए । परीक्षणका क्रममा सडक मौवासम्म जान सफल भए पनि दिपायल सिलगढी नगरपालिकाको भूण खण्डमा खाल्डाखुल्डीका कारण केही समस्या भएको छ ।


नगरपालिकाले सो सडकखण्ड मर्मत गर्न सहयोग गरे सहजरूपमा बस संचालन गर्न सकिने दाबी शैलेश्वरी यातायात व्यवसायी समितिले गरेको छ ।


सो सडकका लागि यातायात व्यवस्था कार्यालयले रुट परमिट भने दिएको छैन । निमित्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले यातायातको शाखा कार्यालय दिपायलले सो सडकखण्डका लागि अस्थायी परमिट दिन सक्ने बताए । कानुनी प्रक्रियामा गई बस संचालन गर्न आफूले निर्देशन दिएको

पौड्यालको भनाइ थियो ।

प्रकाशित : कार्तिक ३०, २०७५ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?