३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

किशोरीलाई निर्घात कुटपिट

किशोरीलाई मर्‍यो भनेर राजमार्ग किनारमा फालेर जाने समूहलाई प्रहरीले पक्राउ गर्न नसक्दा स्थानीय आक्रोशित
मोहन बुढाऐर

धनगढी — गोदावरी नगरपालिका–२ स्थित दुर्गा लक्ष्मी माध्यमिक विद्यालयमा अध्ययनरत १७ वर्षीया ईश्वरीकुमारी चौधरीलाई निर्घात कुटपिट गरिएको छ । कक्षा ११ मा पढ्ने चौधरी विद्यालयबाट घर फर्कंदै गर्दा अज्ञात समूहको आक्रमणमा परेकी हुन् ।

मरणासन्न अवस्थामा पुगकी उनको स्थानीय पदमा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले आक्रमणकारीको खोजीमा तदारुकता देखाएको छैन ।


गत २६ गते बिहान ९ घटना भएको हो । किशोरीका बुबा जितबहादुर चौधरीले भने, ‘मेरी छोरीलाई स्कुलबाट फर्कंदा निर्घात कुटपिट गरी मर्‍यो भनेर दिउसै राजमार्ग किनारमा फालेर जाने समूहलाई प्रहरीले पक्राउ गर्न ढिलासुस्ती गरेको छ ।’ उनका अनुसार ईश्वरी स्कुलबाट पढाइ सकेर एक्लै पैदल घर आउँदै थिइन् ।


विद्यालय अत्तरिया बजारबाट १ किलोमिटर टाढा भीमदत्त राजमार्ग छेउमै छ । उनी स्कुलबाट हिंडेको ५ मिनेट भएको थिएन । युवा समूहको सांघातिक आक्रमणमा परिन् । किशोरीको घर गोदावरी– १ बाँसघाडीमा छ । विद्यालयबाट बजारको बाटो २ किलोमिटर दूरीमा पर्छ ।


अस्पतालमा उपचाररत ईश्वरी घटनालाई सम्झँदै भन्छिन्, ‘एक सुरमा सडक छेउ हिंड्दै थिएँ, ३/४ जना केटाहरूको समूहले घेरेर लात्ती मुक्काले जथाभावी हिर्काउन थाले । छातीमा लागेको चोटले एकै छिनमा बेहोस भएर ढले । त्यसपछि कति कुटे, कता भागे केही थाहा भएन । होसमा फर्कंदा कोही थिएन । मुख र नाकबाट रगत बगिरहेको थियो ।’


उनले होस आएपछि उठन खोजे पनि नसकेको बताइन् । पीडाले कराएपछि स्थानीय आएर उठाएको बताइन् । स्थानीयले खबर गरेपछि पुगेको प्रहरीले ईश्वरीलाई अस्पताल लगेको थियो । ‘आउजाउको राजमार्गमा एक किशोरी निर्घात कुटिंदा कसैले देखेनन्, कस्तो अचम्म,’ बुबा जितबहादुर भन्छन्, ‘समाज

संवेदनहीन भयो ।’


ईश्वरीको स्वास्थ्यमा अझै सुधार आएको छैन । उनी राम्रोसँग उठ्न, बस्न, बोलचाल गर्न सकिरहेकी छैनन् । उनका बुबा जितबहादुरले रकम अभावमा छोरीलाई राम्रो अस्पतालमा पुर्‍याउन नसकेको बताए । पीडित किशोरीले आफूमाथि आक्रमण गर्ने समूहमा रहेका एक किशोरलाई अनुहार देखे चिन्नसक्ने बताएकी छन् । ‘एक जना चाहिँ आफ्नै कक्षामा पढ्न आउने विद्यार्थीमध्येको थियो,’ उनले भनिन्, ‘नामले चिन्दिनँ ।’ उनका अनुसार तीन महिना अघिदेखि आफ्नो कक्षामा पढ्न आएका ती युवाले उनलाई जिस्काउन सुरु गरेका थिए ।


‘उसलाई नामले अझै चिनेको छैन,’ उनले भनिन्, ‘एक दिन मैले उसको बेइज्जत हुने गरी झापट हानेको थिए । त्यही केटाले रिसइबी फेरेको हो कि ?’ आफूलाई जिस्काउने केटाको बारेमा आफ्नो प्राचार्यलाई समेत जानकारी गराएको बताइन् । ‘प्राचार्यले त्यो केटालाई बोलाएर हप्काएका थिए,’ उनले भनिन्, ‘त्यसपछि केही दिन जिस्काउन छोडेको थियो ।’ उनले प्रहरीलाई आक्रमण गर्ने समूहको खोजी गर्न घटनासहित सबै कुरा जानकारी गराएको बताइन् ।


किशोरीका बुबा जितबहादुर भन्छन्, ‘अहिले त छोरी उपचारमै छ । निको भएपछि पनि छोरी कुट्नेलाई कारबाही नभए कसरी स्कुल पठाउने ?’ उनका छिमेकी टंकप्रसाद कोइरालाले यो घटनाले गाउँका सबै किशोरी त्रसित भएको बताए ।


निर्मला हत्याकाण्डपछि समाजमा चेलीबेटी असुरक्षित हुँदै गइरहेको अवस्थामा भएको यो घटना दुखद भएको उनी बताउँछन् । उनले किशोरीलाई आक्रमण गर्ने समूहलाई प्रहरी प्रशासनले तत्काल कारबाहीको दायरामा ल्याउन आग्रह गरे ।


कैलाली प्रहरी प्रमुख आभूषण तिमिल्सेनाले उक्त घटनालाई गम्भीरताका साथ लिएको बताए । ‘हामी अभियुक्तका नजिक पुगिसकेका छौं’ उनले भने, ‘किशोरी आक्रमण गर्नेलाई कारबाहीको दायरामा ल्याउँछौं ।’ उनले अपराधी पत्ता लगाउन ढिलो नभएर अनुसन्धान प्रमाण पुग्ने गरी भइरहेको बताए । उक्त घटनाको सम्बन्धमा विद्यालयका प्राचार्यसँग पनि छलफल भएको एसपी तिमिल्सेनाले बताए ।

प्रकाशित : कार्तिक ३०, २०७५ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?