१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

‘६० कटेपछि लाँगा देवताको भर’

स्वास्थ्य क्षेत्र लथालिंग
बसन्तप्रताप सिंह

बझाङ — साइपाल गाउँपालिकाको धलौनका फुँगे धामी ६७ वर्षमा उक्लिए । ६० नकट्दै दम रोगले भेटेपछि उनी टाढा हिंड्डुल गर्न सक्दैनन् । हात खुट्टा पोल्ने र कम्मर दुख्ने रोग लागेको पनि ५ वर्ष भयो ।

‘६० कटेपछि लाँगा देवताको भर’

‘कटकटी कम्मर दुख्छ । हातगोडा आगो लागे जसरी जलन हुन्छ । सुत्नै सक्दिनँ,’ आँखा पनि राम्रोसँग देख्न नसक्ने उनले भने, ‘स्वास्थ्य चौकी गए औषधि छैन, चैनपुर जाउँ भन्छन् । त्यत्रो खर्च गरेर त्यहाँ पुग्ने क्षमता छैन । राम्रोसँग नसुतेरै मर्नुपर्ने भयो ।’


उनले एकजना बिरामीलाई सदरमुकाम चैनपुरसम्म बोकेर लैजानका लागि १५/१६ जना अरू मानिस चाहिने बताए । बोक्ने मान्छेलाई बाटोमा आउँदा जाँदा खानबस्न खर्च मात्र एक ढेड लाख पुग्छ । स्वास्थ्यलाभका लागि २ पटक स्थानीय लाँगा देवताको मन्दिरमा बोका चढाएको बताउने उनले धेरै पटक धामी झाँक्री लगाउँदा पनि सन्चो नभएको सुनाए ।


संयोग नै मान्नुपर्छ । उनकी छिमेकी ६१ वर्षीया कलसडी बोहराको रोग भने लाँगा देवताको थानमा बोका चढाएपछि सन्चो भएको रहेछ । ‘दुई वर्षदेखि छाती पोलिराख्थ्यो । पेट पनि दुख्थ्यो । बोका दिएपछि सन्चो भएको छ । हाम्रो गाउँमा औषधि पाइँदैन । डाँडो काटिसकेका बुढाबुढीलाई लाखौं रकम खर्च गरेर उपचार गर्न सबैले सक्दैनन्,’ उनले भनिन्, ‘६० कटेपछि लाँगाकै भर हो ।’


लाँगा देवताको चमत्कारले बिरामी निको हुने आसामा बुढ्यौली उमेर बिताउने फुँगे र कलसडी मात्र होइनन्, करिब चार सय परिवारको बसोबास रहेको यो गाउँपालिकाका २ सय ५० भन्दा बढी वृद्धवृद्धाको यस्तै आशा छ ।


लाँगा देवताप्रति अति नै आस्था राख्ने यस गाउँपालिकाका सबैजसो वृद्धवृद्धाको हालत यस्तै भएको ८४ वर्षीय फुँगे धामीले बताए । उनले भने, ‘लाँगाकै कृपामा बाँचेका छौं । बिरामी भएका जति सबैको उपचार गर्ने हो भने त धेरैको घर खेत बाँकी रहँदैनथ्यो होला ।’ उनले उपचार निकै नै खर्चिलो हुने भएकाले कतिपय बुढाबुढीहरू बरु आफू मर्न तयार हुने तर छोराछोरीको थाप्लोमा अर्थिक भार बोकाउन नचाहने गरेको बताए ।


उसो त न्यून आर्थिक अवस्था भएकाले यहाँका थुप्रैले केटाकेटी र वयस्कहरूको पनि उपचार गर्न सकेका छैनन् । धलौन गाउँकी चार वर्षीय सामना बोहराको कानमा दुई वर्षपहिले बिस्कुन सुकाएको ठाउँमा खेल्ने क्रममा जौंको गेडो पसेर अडकिएको थियो । त्यो अहिलेसम्म झिकिएको छैन । उनको कान पाकेर निरन्तर पिप बगिरहन्छ । त्यो कानले उनी सुन्दा पनि सुन्दिनन् ।


‘यताको स्वास्थ्य चौकीमा जाँदा निकाल्न सक्दैनौं भन्छन्,’ उनकी आमा विमला बोहराले भनिन्, ‘चैनपुर–सदरमुकाम) पुग्न खर्च र समय छैन ।’ उनको गाउँबाट सदरमुकाम पुग्न तीन दिन पैदल हिंड्नुपर्छ । फर्कन पनि थप तीन दिन लाग्छ ।


‘सामान्य कामले सदरमुकाम जान पनि १०/१५ हजार जति खर्च लाग्छ,’ विमलाले भनिन्, ‘उपचार गर्नलाई त एक लाखै लाग्ने होला । त्यत्रो रकम जुटाउन सकेकी छैन’ करिब २ वर्षसम्म साइपाल गाउँपालिकाको स्वास्थ्य चौकीमा कार्यरत अहेब जनककुमार विष्टले भने, ‘धेरै जसोले उपचार गरे निको हुन सक्ने सामान्य रोग बिथोलिएर ज्यान गुमाउँछन् ।’ यसरी ज्यान गुमाउनेहरूमा बढीजसो केटाकेटी र बुढाबुढी हुने गरेको उनले बताए ।


स्वास्थ्यको कहालीलाग्दो अवस्था रहेको यस गाउँपालिकामा स्वास्थ्य संस्था नै नभएको भने

होइन । एक वर्ष अघिसम्म एउटा मात्र स्वास्थ्य चौकी रहेको थियो । धुली बलौडी, न्युना र धलौनबाट स्वास्थ्य चौकीसम्म पुग्नै एक दिन पैदल हिंड्नुपथ्र्याे । हालसालै धुली र धलौनमा सामुदायिक स्वास्थ्य इकाइ संचालनमा छन् ।


तर स्वास्थ्य संस्थामा कहिले काहीँ सिटामोल पनि हुँदैन । स्थानीय तिलक विक भन्छन्, ‘कहिले काहीँ त ज्वरो आएको औषधि पनि छैन भन्छन् । त्यहाँको औषधिले सबैलाई सन्चो पनि हुँदैन । त्यसैले स्वास्थ्य चौकीभन्दा बरु धामीकै भर लाग्छ ।’


स्वास्थ्य संस्थालाई प्राप्त हुने ३५ प्रकारका औषधिहरू मात्र यहाँ पाइने भएकाले सबै खाले रोगको उपचार नहुने स्वास्थ्य चौकी प्रमुख डम्बर खड्काले बताए । उनले भने, ‘कहिले काहीँ त्यही औषधि पनि सकिएको हुन्छ । यहाँ स्वास्थ्यमा धेरै समस्या छ ।’


उनले कतिपय अवस्थामा अन्य कारणले ज्वरो आएको भए पनि औषधिको अभावमा सिटामोलले नै काम चलाउनुपरेको अनुभव सुनाए । ‘टाइफाइट भएर ज्वरो आएको हुन्छ । त्यसको औषधि हुँदैन । हामी सिटामोल दिएर पठाउँछौं,’ उनले भने, ‘यस्तो अवस्थामा रोगी सन्चो हुँदैनन । बरु यहाँ (स्वास्थ्य संस्था) को औषधिले ठीक हुँदैन भनेर आउनै छाड्छन् । धामी झाँक्री गर्न थाल्छन् ।’


साइपाल क्षेत्रफलका हिसाबले नेपालकै ठूलो स्थानीय तह हो । यो गाउँपालिकाले मात्र जिल्लाको झन्डै ४७ प्रतिशत भूभाग (१४६८ वर्ग किलोमिटर) ओगटेको छ । सदरमुकाम चैनपुरबाट गाउँपालिकाको कार्यालयसम्मको पैदल दूरी ३० कोस छ ।


कार्यालयभन्दा पनि उत्तरतिर ३ वटा अरू गाउँ (धुली, बलौडी र न्युना) रहेका छन् । त्यहाँबाट गाउँपालिका केन्द्रसम्म पुग्न झन्डै १ दिन पैदल हिंड्नुपर्छ । यी गाउँबाट सदरमुकाम पुग्न चारदेखि ५ दिन लाग्छ । यहाँ स्वास्थ्यको अवस्था दयनीय रहेको भए पनि गाउँपालिकाकै स्रोतबाट सुविधायुक्त अस्पताल बनाउन नसकिने गाउँपालिका अध्यक्ष राजेन्द्र धामीको भनाइ छ ।

प्रकाशित : कार्तिक ३०, २०७५ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?