बाजुराका महिला कैदी अछाममा

मेनुका ढुंगाना

अछाम — सुदूरपश्चिम प्रदेशका केही जिल्लाका कारागारमा महिला कैदीबन्दी बस्ने बेग्लै कोठा नहुँदा छिमेकी जिल्लामा सार्ने गरिएको छ । बाजुरामा महिला कैदीलाई बस्ने भवन नभएपछि अछाम कारागारमा सारिएको हो ।

बाजुराका महिला कैदी अछाममा

गर्भपतन कर्तव्य ज्यान मुद्दामा जेल चलान भएकी बाजुराकी २५ वर्षीया कल्पना बमलाई अछाम कारागारमा स्थानान्तरण गरिएको हो ।


२५ जना महिला र ५० जना पुरुष कैदीबन्दी बस्न सक्ने क्षमता भएको अछाम कारागारमा बमसहित ३ जना महिला र ४४ जना पुरुष कैदी भएको जिल्ला कारागारका प्रमुख छत्रबहादुर माझीले बताए । ‘अछाम कारागारमा कैदीलाई बस्न समस्या छैन ।


आमासँगै एक जना बच्चा पनि भएकाले महिला कैदी बस्ने भवनमा ४ जना छन्,’ उनले भने, ‘जीर्ण भवनबाट नयाँ भवनमा सरेको २ वर्ष भयो । बाहिर घेरा पर्खाल र गेट नभएकाले सुरक्षामा भने चुनौती छ ।’ २५ जना पुरुष कैदीका लागि २०३६ सालमा बनाइएको कारागारमा क्षमताभन्दा बढी अहिले ३२ जना कैदी भएकाले समस्या भएको जिल्ला कारागार बाजुराका प्रमुख नन्दसिंह कार्कीले बताए ।


‘महिला कैदीका लागि छुट्टै भवन छैन । शौचालयको समेत समस्या छ,’ उनले भने, ‘एक दिनसमेत राख्ने ठाउँ नभएपछि यहाँका महिला कैदीलाई अछाम पठाउने गरिएको हो ।’ उनले कर्मचारी बस्ने भवनसमेत व्यवस्थित नभएको र कारागार वरिपरि पर्खाल नहुँदा सुरक्षामा समेत चुनौती थपिएको बताए ।


बाजुरा कारागारका प्रमुख कार्कीका अनुसार कैदीबन्दीलाई खाने, बस्ने र सुत्नेलगायत खानेपानी, शौचालय र बेलाबेलामा विभिन्न किसिमका रोगको समस्या हुने गरेको छ । ‘कारागारलाई स्तरोन्नति गर्न नसक्दा दिन प्रतिदिन समस्या थपिंदै जानुका साथै महिलालाई बढी मात्रामा समस्या भएको छ,’ उनले भने, ‘कारागार पूर्ण रूपमा जीर्ण बनेको र क्षमताभन्दा बढी कैदीबन्दी भएको हुनाले व्यवस्थापन गर्न समस्या भएको हो ।’


चार दशक अगाडि बनेको भवनको स्तरोन्नति नहुनुका साथै थप भवन बनाउने र अन्य व्यवस्थापन गर्नेतर्फ सरकारको ध्यान जान नसक्दा दिनहुँ समस्या उत्पन्न हुँदै गएको कारागार प्रशासनले जनाएको छ । कच्ची ढुंगा माटोले बनाएर बाहिरबाट सिमेन्टको प्लास्टर गरिएको पुरानो र थोत्रो भवन अहिलेसम्म जीर्ण भइसकेको छ । तर, पनि समय समयमा गर्नुपर्ने भवनको मर्मत सम्भार र स्तरोन्नति हुन नसकेकैले पनि भवन जोखिमयुक्त बनिसकेको कार्कीले बताए ।


भवनको मर्मत सम्भार र थप भवन विस्तारमा सरकारले वास्तै नगरेकाले यस्तो अवस्था सिर्जना भएको बाजुरा प्रशासनको भनाइ छ । विभिन्न अपराध आरोपमा सजाय पाएका र पुर्पक्षका लागि थुना आदेश पाएका कैदीबन्दीले खचाखच भरिएको कारागार भवनमा कुनै पनि बेला रोगको संक्रमण भयो भने त्यसले महामारीको रूप लिने खतरा बढेकोप्रति सरकारको ध्यान जान नसकेको कैदीबन्दीहरूको समेत गुनासो छ ।


‘क्षमताभन्दा बढी कैदीबन्दी भएपछि खास गरी गर्मीयाममा सकस पर्ने गरेको छ,’ कार्कीले भने, ‘जाडोमा कोचाकोच गरेर बस्दा पनि फरक नपर्ने भए पनि गर्मीयाममा उनीहरूलाई निकै सकस छ ।’ क्षमताभन्दा बढी कैदी भएकाले समस्या निराकरणका लागि कारागार व्यवस्थापन विभागमा पत्राचार गरी पठाइएको कार्की बताउँछन् ।


‘जाडोभरि खासै समस्या देखिएको छैन तर, गर्मीको मौसममा भने कैदीबन्दीलाई सरुवा रोगको महामारीको जोखिम छ,’ कार्कीले भने, ‘सम्भावित समस्या हुन नदिन क्षमताभन्दा बढी पुरुष कैदीलाई पनि अन्त कतै स्थानान्तरण गर्ने वा अन्य उपाय अपनाउनेबारे कारागार व्यवस्थापन विभागलाई पत्र लेखेर अनुरोध गर्छौं ।’


थोरै क्षमता भएको ठाउँमा प्रशासनले जबरजस्ती धेरै संख्यामा कैदीबन्दी राख्दा बस्नसमेत निकै समस्या भएको कैदीबन्दीहरूले गुनासो गरेका छन् ।

प्रकाशित : मंसिर १, २०७५ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?