कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

खप्तड–अपी पदमार्ग अध्ययन

वसन्तप्रताप सिंह

बझाङ — सुदूरपश्चिमको मुख्य पर्यटकीय गन्तव्य खप्तड राष्ट्रिय निकुञ्जबाट दार्चुलाको अपी हिमाल जोड्ने पदयात्रा मार्गको सम्भाव्यता अध्ययन सुरु भएको छ । सुदूरपश्चिम घुम्न आउने पर्यटकहरूको बसाइ अवधि लम्ब्याउनका लागि यो पदमार्गको अध्ययन थालिएको हो । 

खप्तड–अपी पदमार्ग अध्ययन

करिब दुई हप्ता लामो पदयात्रा मार्गको अध्ययनका लागि जर्मनीको ट्राभल कम्पनी डिएइमरका नेपाल हेर्ने बजार व्यवस्थापक मार्टिन कुञ्जे, एनआरएन जर्मनीका निवर्तमान अध्यक्ष नवराज रोस्यारा र एडभेन्चर थर्डपोल ट्रेक्सका सञ्चालक राजेन्द्रमान डंगोलसहितको टोली खप्तडबाट बझाङ हँुदै दार्चुलातर्फ लागेको छ ।


पर्यटन विकास समाज धनगढीको पहलमा हुन लागेको पदयात्रा मार्गको अध्ययनका क्रममा बाटोको बारेमा विभिन्न सूचनाहरू संकलन गर्ने काम हुनेछ । डोटीको झिंग्राना हुँदै खप्तड प्रवेश गरेको यो टोली बझाङको खप्तड छान्ना गाउँपालिका हुँदै सदरमुकाम चैनपुर पुगेको हो । चैनपुरबाट सुर्मा गाउँपालिका हुँदै बुंगल नगरपालिकाको लाउनेबाट दार्चुलाको घाँजरी पुग्ने र त्यहाँबाट अपी हिमालको आधार शिविरसम्म पुग्ने पर्यटन विकास समाजका संयोजक आशिष चौधरीले बताए ।


‘लामो यात्रामा निस्कने पर्यटकहरूका लागि सुविधाभन्दा पनि सूचनाको बढी जरुरी हुन्छ,’ एनआरएन जर्मनीका निवर्तमान अध्यक्ष नवराज रोस्याराले भने, ‘हामी अध्ययनका क्रममा पर्यटकलाई आवश्यक पर्ने सूचनाहरू संकलन गरेर पर्यटकलाई उपलब्ध गराउनेछौं ।’ उनले सुदूरपश्चिमको चर्चित गन्तव्य खप्तडलाई हिमालसँग जोड्नका लागि खप्तड–अपी पदयात्रा मार्गको विकास गर्न खोजिएको बताए ।

टोलीका अर्का सदस्य राजेन्द्रमान डंगोलले यहाँका हरेक गन्तव्यहरू पर्यटकहरूका लागि नयाँ भएको भए पनि आवश्यक सूचनाको अभावमा यहाँ सोचे जति पर्यटकहरू नआउने गरेको बताए । उनले अध्ययनपश्चात् पदयात्रा मार्गका आकर्षणहरू, यात्रा गर्दाको अवधि, बास बस्ने, खाने घुम्ने ठाउँ, नक्सा, मौसम तापक्रमजस्ता सूचनाहरू पर्यटकहरूले सजिलै पाउन सक्ने गरी विभिन्न माध्यमहरूमा राखिने बताए ।


‘हामीले अध्ययनपश्चात् यहाँको प्याकेज निर्माण गर्ने र विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय ट्राभल कम्पनीहरूलाई बिक्री गर्ने योजना बनाएका छौं’ उनले भने, ‘यो पदयात्रा मार्गको प्रचारप्रसार गर्नका लागि विश्वभर हुने पर्यटनसम्बन्धी मेलाहरूमा पनि यो प्याकेज लैजाने तयारी छ ।’ सुन्दर भूगोल, फरक खालको जनजीवन, हिमाललगायत यहाँको प्राकृतिक वातावरण आदि कुरा यस पदयात्रा मार्गको आकर्षणको रूपमा रहने र यहाँ यात्रा गर्न धेरैले रुचाउने उनले बताए ।


पर्यटन विकास समाजले यसअघि रारा खप्तड हेरिटेज ट्रेल (पदयात्रा मार्ग) को विकास गरिसकेको छ । तीन वर्षअघिदेखि अध्ययन थालेर विकास गरिएको यस पदयात्रा मार्गमा सयौं विदेशी पर्यटकहरूले भ्रमण गरिसकेको समाजका महासचिव सञ्जयकुमार चौधरीको भनाइ छ ।

प्रकाशित : मंसिर २, २०७५ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?