कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मल र बीउ अभाव कायमै

मोहन बुढाऐर

धनगढी — किसानले गहुँ, तोरी र आलु खेती गर्ने बेलामा मल, बीउ र इन्धन अभाव झेलिरहेका छन् । ‘गहुँ लगाउने समय सकिन लाग्यो, मल पाउन सकिएको छैन,’ कैलाली फूलबारीका प्रेम चौधरीले भने, ‘उसै पनि धान काटेपछि माटो सुक्खा हुन पहिले गहुँ लगाउन पाए बाली सप्रिन्छ । अब माटो पनि सुकिसकेको छ । मलको अभावमा गहुँ बाली लगाउन पाएका छैनौं ।’ 

उनले आफूले मात्रै नभएर गाउँका अधिकांश किसानले मल र बीउको अभावमा गहुँ, तोरी र आलु लगाउन नपाएको बताए । उनका अनुसार मंसिर पहिलो सातापछि गहुँ बाली लगाएको राम्रो मानिँदैन । कात्तिकभित्रै लगाएको बाली राम्रो हुने उनको कथन छ ।


उनले आफ्नो ३ बिघा जमिनका लागि उनलाई कम्तीमा १ सय ८० किलो डीएपी र ३ सय किलो युरिया मल चाहिएको बताए । ‘त्यसको जोहो गर्न नजिकको सहकारी पसलमा दिनदिनै धाइरहेको छु,’ उनले भने, ‘गहुँ लगाउने सिजन सकिन लाग्यो, मल पाएको छैन ।’


कृषक भलाइ सहकारी संस्थाका कुँवेर अधिकारीले धनगढी कृषि सामग्री कम्पनीबाट थोरथोरै परिणाममा मल पाइने भएकाले पसलमा मल झार्दाझार्दै सकिने गरेको बताए । कुनै किसानले पनि चाहिने जति मल पाउन नसकेको बताए ।


किसानले भारतबाट अवैध रूपमा गुणस्तरहीन मल र बीउ तस्करबाट महँगोमा किन्न परेको बताए । ‘सरकारी मल र बीउलाई कति पर्खने,’ अधिकारीले भने, ‘जहाँ पायो, त्यहींबाट किन्न पर्दा किसान ठगिएका छन् ।’ सरकारले भारतबाट अवैध आयात हुने पीडब्लु ३४३ जातको गहुँको बीउ किसानलाई सिफारिस गरेको छैन । कैलाली कञ्चनपुरका लागि विजय, गौतम, एनएल ९७१, डब्लू १२ एच, तिलोतमा र अदित्य जातका बीउ सिफारिस गरेको छ । तर, किसानले सरकारले सिफारिस गरेका गहुँको जातहरूमा विजय बढी मन पराउने गरेका छन् ।


राष्ट्रिय बीउ बिजन कार्यालयका प्रमुख मधु ओझाले बीउको अभाव नभएर सीमावर्ती क्षेत्रमा भारतबाट आयातित बीउ लगाउने चलनै बढी रहेको बताइन् । उनले ७० टनभन्दा बढी गहँुको बीउ अहिले पनि मौज्दात रहेको बताइन् । सुदूरपश्चिम प्रदेशका लागि यो वर्ष १ सय ३० टन गहुँको बीउ खरिद गरेको जानकारी दिइन् ।


तर, किसानलाई राष्ट्रिय बीउ बिजनको कार्यालयमा बीउ उपलब्धताको बारे जानकारी नै नभएको फूलबारीका अर्का किसान स्नेही चौधरीले बताए । ‘अहिलेसम्म कुनै किसानलाई राष्ट्रिय बीउ बिजन कार्यालय छ भनेर थाहा छैन,’ उनले भने, ‘कृषि सामग्री कम्पनीजस्तै सहकारी पसलमा बीउ उपलब्ध भएपछि किसानले बीउ बिजनको कार्यालयको बीउ लिन्थे ।’


बीउ बिजन कार्यालय प्रमुख ओझा किसानले गाउँसम्मै बीउ उपलब्ध गराउने आफ्नो कुनै सयन्त्र नभएका स्विकारिन् । ‘कार्यालयमै आउने किसान ,सहकारी पसल र स्थानीय तहलाई बीउ उपलब्ध गराउँदै आएका छौं,’ उनले भने, ‘कञ्चनपुरका केही स्थानीय तहले बीउ लिएका पनि छन् ।’ तर, उनले गाउँघरमै सहजै उपलब्ध र सस्तो बीउ खोज्ने चलन रहेको बताइन् । उनले राष्ट्रिय बीउ बिजनको बीउ बजारको भन्दा थोरै महँगो पनि पर्ने गरेकाले पनि किसान आफूहरू कहाँ बीउ लिन नआउने गरेको बताइन् । ‘किसान सस्तो खोज्छन्,’ उनले भनिन्, ‘बजारको भन्दा प्रतिक्विन्टल ४/५ सय रुपैयाँ महँगो पर्छ ।’


सुदूरपश्चिम प्रदेशका लागि मल ३० हजार हेक्टर आवश्यक पर्ने गरेको छ । कृषि सामग्री कम्पनीले १९ हजार मेट्रिक टन मात्रै आपूर्ति गर्ने गरेको छ । कम्पनीका दुर्गादत्त पाण्डेयले यस पटक गहुँ बालीका लागि मलको अभाव नभएको बताए । उनी किसानलाई एकै पटक मल पुर्‍याउन नसकेको कारण अभाव देखिएको हो मात्रै भन्छन् ।


‘भैरहवामा जति पनि मल छ,’ उनले भने, ‘ढुवानीमा सहजता आउन सकेको छैन । एक दिनमा एक सय क्विन्टल मात्रै मल ढुवानी भइरहेको छ । त्यसैले जिल्लाका २४० सहकारी सस्थालाई वितरणमा समस्या आएको हो ।’


उनका अनुसार कैलालीमा गहुँ र तोरी बालीका लागि डीएपी २ हजार ५ सय, युरिया ५ हजार पोटास एक सय टन आवश्यक पर्छ । हालसम्म ७ सय ६० टन सय डीएपी र युरिया ३ सय ६१ टन बिक्री गरिसकेको छ । युरिया टप ड्रेसिङमा चाहिने भएकाले किसानलाई अहिले डीएपी मल दैनिक एक सय क्विन्टल ढुवानी गरिरहेको बताए ।


यसैबेला किसानलाई डिजलसमेत सहज उपलब्ध हुन सकेको छैन । मसुरियाका देवराज खनालले किसानले जहिले नै बाली लगाउने बेला मल, बीउ र तेलको अभाव झेल्ने गरेको बताए । किसानले पेट्रोलपम्पबाट सहज रूपमा डिजल नपाउँदा टयाक्टर र मोटर चलाउन नसकेको बताए ।


उनले पहिलाको जस्तो गोरुले खेत जोत्ने चलन हटिसकेको अवस्थामा किसानलाई टयाक्टरद्वारा बाली लगाउन सरकारले डिजलको आपूर्ति सहज गर्नुपर्ने बताए ।

प्रकाशित : मंसिर २, २०७५ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?