छाउगोठको पीडा : आगोले शरीर जल्यो, सपना जलेन

‘सुदूरपश्चिमेली समाजमा रहेको छाउपडी प्रथाका कारण मेरो ज्यान जोखिममा पर्‍यो । अरू दिदीबहिनीहरूले मेरोजस्तो पीडा भोग्न नपरोस् भनेर यो प्रथाको विरुद्धमा सक्रिय हुने इच्छा छ’
मोहन बुढाऐर

कैलाली — डोटी गाँजरिकी १८ वर्षीया डम्मरा कुँवर तीन वर्षअघि छाउपडी गोठमा आगलागी हुँदा मुस्किलले जोगिएकी थिइन् । आगाले उनको शरीर जले पनि सपना जलेनन् । पढाइसँगै सुखद भविष्यको आस बोकेर कैलालीको बर्दगोरियास्थित धार्मिक वनमा रहेको ‘सहारा’ घरमा आइन् ।

छाउगोठको पीडा : आगोले शरीर जल्यो, सपना जलेन

९ कक्षा पढदै गरेकी यी किशोरी अहिले छाउपडीविरुद्धको अभियानमा होमिने योजना बुनिरहेकी छन् ।

सहारा घरका संरक्षक बलबहादुर विष्टको सल्लाहमा उनी वसन्त मुरारी माध्यमिक विद्यालयमा नि:शुल्क अध्ययन गरिरहेकी छन् । पढाइबाट फुर्सद निकालेर डम्मरा दीनदुखी बेसहाराको सेवामा खटिने गरेकी छन् । उनी यहाँ आफ्नै मनमर्जीले आएकी हुन । बेसहाराहरूको सेवा गर्न पाएकामा आफूलाई भाग्यमानी ठान्छिन्, डम्मरा ।


सहारा घरबाटै उनले छाउपडी प्रथाविरुद्धको अभियन्ता बन्ने सपना बुनेकी छन् । ‘सुदूरपश्चिमेली समाजमा रहेको छाउपडी प्रथाका कारण मेरो ज्यान जोखिममा पर्‍यो,’ उनले भनिन्, ‘अरू दिदीबहिनीहरूले मेरोजस्तो पीडा भोग्नु नपरोस् भनेर भविष्यमा छाउपडीविरुद्धको अभियानमा सक्रिय हुने इच्छा छ ।’ उनको शरीरमा आगाले पोलेका दाग छन् ।


‘सुन्दर शरीर कुरूप मात्रै भएन, अपांग पनि भए,’ उनले भनिन् । २०७३ वैशाखको घटना थियो त्यो । डोटीको गाजरीस्थित छाउगोठमा अचानक आगलागी भयो । महिनावारी बार्न उनी छाउगोठमै बसिरहेकी थिइन् । घरदेखि केही दूरीमै थियो, छाउघर । ‘गोठमा आगो कसरी लाग्यो अहिलेसम्म रहस्यमै छ,’ उनले विगत सुनाइन् । उनी त्यो घटना सम्झिन चाहँदिनन् । ‘सुतिरहेकी थिए, अचानक आगोको रापले पोल्न थाल्यो । आत्तिँदै ब्युँझिए र बाहिर निस्कने प्रयत्न गरे तर धूवाँ र रापले ढोका खोल्न सकिनँ । काकाले आगो निभाउँदै बाहिर निकालें र बाँच्न पुगें,’ उनले भनिन् ।


डम्मराले तीन महिनासम्म घरेलु उपचार गरिन् । घटनाको तेस्रो महिनामा एक गैरसरकारी संस्थाले उपचारका लागि काठमाडौं पठाउने भयो । त्यसपछि डम्मराको काठमाडांैको अस्पतालमा उपचार भयो । त्यो पीडादायी घटना कैलाली बहुनियाका समाजसेवी बलबहादुर विष्टले पनि सुनेका थिए । उपचारपछि घर फर्किंदा लम्कीमा उनीहरूको पहिलो भेट भयो ।


‘विष्ट अंकलले असहायहरूको सहारा केन्द्र खोल्न लागेको बताएका थिए,’ डम्मराले भनिन्, ‘उहाँले नै असहायका साथमा बसेर आफ्नो पढाइलाई निरन्तरता दिन सक्छौ भने आउनू भनेर सम्पर्क नम्बर दिएका थिए । घरमा बस्दा पढ्ने चाहना पूरा हुने अवस्था नदेख्दा सहारा घरमा आश्रय लिन आएँ ।’


सहारा घरमा प्रवेस गरेपछि समाज सेवामा लाग्ने प्रेरणा अझ दरिलो भएको उनले बताइन् । ‘मेरो मनमा छाउपडी कुप्रथाका विरुद्ध लड्ने र त्यसको अभियन्ता बन्ने सोच छ,’ उनले भनिन्, ‘तर, म यो प्रथाको विरुद्ध भोलि समाजमा कसरी लड्न सकौंला, मलाई नै थाहा छैन ।’ उनले छाउगोठमा बस्नुपर्दा सर्प र बिच्छीले टोकेर मरेका घटना सुनेकी छन् ।


गाउँघरमा रहेका छाउगोठ भत्काउने अभियानले यो प्रथाको अन्त्य नहुने उनको बुझाइ छ । समाजमा चेतना नफैलिएसम्म यो प्रथा जीवित रहिरहन्छ भन्दै सामाजिक चेतनाका कार्यक्रम प्रभावकारी हुनुपर्ने उनी बताउँछिन् ।


बलबहादुर विष्टले बर्दगोरिया धार्मिक वनमा स्थापना गरेको सहारा घरमा डम्मराझैं आर्थिक अवस्था कमजोर भएका पाँच किशोरीलाई आश्रय दिएर स्थानीय वसन्त मुरारी स्कुलमा नि:शुल्क पढाउन सहयोग पुर्‍याएका छन् । अन्य खर्च सहाराले जुृटाउने गरेको छ ।

प्रकाशित : मंसिर २, २०७५ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?