कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

नगरवासीको गुनासो, ‘स्थानीय सरकारको आभास भएन’

सडक नहुँदा सदरमुकाम मंगलसैनभित्रकै गाउँबाट नगरपालिका केन्द्रमा पुग्न ९ घन्टा पैदल हिँड्नुपर्ने बाध्यता
मेनुका ढुंगाना

अछाम — नगरपालिकामा गाभिएका तत्कालीन गाविसका कतिपय स्थानीयले आफूहरूले नगरवासी भएको अनुभूति नै गर्न नपाएको बताएका छन् । खानेपानी, बिजुली, टेलिफोन, शिक्षा र स्वास्थ्यलगायत आधारभूत सुविधाबाटै वञ्चित भएको उनीहरूको गुनासो छ ।

नगरवासीको गुनासो, ‘स्थानीय सरकारको आभास भएन’

‘कतिपय ठाउँमा मोबाइल नेटवर्कले कामै गर्दैन । बनेका सडकको पनि बेहाल छ । धारा भए पनि पानी आउँदैन,’ एक स्थानीयले भने । सदरमुकाम मंगलसैनभित्रकै गाउँबाट नगरपालिका केन्द्रमा पुग्न ९ घन्टा पैदल हिंड्नुपर्ने अवस्था छ ।


मंगलसैन नगरपालिकाका ग्रामीण भेगमा बसोबास गर्ने स्थानीयले न स्वास्थ्य सेवा पाएका छन्, न त गाडी नै देखेका छन् । मंगलसैन नगरपालिका–१३ बस्तीका विद्यार्थीले उच्च शिक्षा पढ्न गाउँ नै छोड्नुपर्ने बाध्यता छ । यहाँ एसएलसी पास गरेका विरलै भेटिन्छन् ।


मंगलसैन नगरपालिका–१३ बस्तीकी लल्ता साउँदले हुनेखानेकै लागि नगरपालिका स्थापना गरेको जस्तो मात्र देखिएको बताइन् । ‘नगरपालिकाले हामी विकट गाउँका बासिन्दालाई केही पनि सजिलो पारेको छैन । विकासका लागि आएको रकम सबै केन्द्र आसपासका गाउँमा र पहुँचवालाको वरिपरि घुमेको छ,’ उनले भनिन्, ‘गाउँको हालत पुरानै छ, हामीलाई नगरवासी भन्न लाज लाग्ने अवस्था छ ।’


करिब दशकअघि आरभीडब्लूआरएमपी नामक गैरसरकारी संस्थाले गाउँमा खानेपानी धारा बनाइदिएको थियो । तिनमा अहिले पानी नआउने गरेको स्थानीय सरा थापाले बताइन् । ‘गाउँको विकासको चिन्ता कसैलाई छैन । अलिअलि हुने खाने भए बसाइसराइ गरेर तराई जान्छन् । गाउँलाई नगर बनाएर मात्र विकास हुँदो रहेनछ,’ उनले भनिन् ।


बस्तीका गाउँवासीले नगरपालिकाको आभाससमेत गर्न सकेका छैनन् । दैनिक आवश्यक पर्ने स्वच्छ खानेपानी त परै जाओस् खोलाको दूषित पानी पिउन पनि तीन घन्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । करिब ४ हजार जनसंख्या भएको यो वडामा न शिक्षाको उचित व्यवस्था छ, न स्वास्थ्य न त खानेपानीको । विकासका पूर्वाधार के हुन्छ गाउँलेलाई थाहै छैन ।


स्थानीय अर्जुन ढोलीले विकटका बासिन्दा भनेर गाउलेका कुरा सुनुवाइ नहुने गरेको आरोप लगाए । ‘हामीबाट लिनुपर्ने कर लिन्छन्,’ उनले नगरपालिकाका कर्मचारीको व्यवहारप्रति गुनासो गरे, ‘तर, हामीले पाउने सेवा सुविधामा भने आफ्नो बाकसबाट दिएजस्तो व्यवहार गर्छन् । हामी पिछडिएका पिछडिएकै छौं ।’


उनका अनुसार नगरपालिकामा विकासका लागि भनेर वार्षिक करोडौं रकम आउँछ तर विकासका पूर्वाधार हेर्ने हो भने नगरपालिकाजस्तो पनि देखिंदैन । ग्रामीण बस्तीमा न मोटरबाटो छ न त अन्य कुनै सेवासुविधा छन् । नगरपालिकामा आएको विकास बजेट जनमुखी नभएर व्यक्तिमुखी बन्दै गएको स्थानीयको भनाइ छ ।


साविकको बस्ती गाविसमा मुख्य तीन टोलमा सडक पुर्‍याउन स्थानीयको हानथाप नै हुँदा हालसम्म एक टोलमा समेत सडक पुर्‍याउन नसकिएको वडाअध्यक्ष प्रेम थापाले बताए । उनका अनुसार सडक बनाउन आव ०७४/७५ मा बस्तीमा ३५ लाख, डाँडीगडेमा ३० लाख र बाँडामा ३२ लाख गरी एउटै वडाका लागि ९७ लाख रुपैयाँ छुट्याएको थियो ।


गाउँका हुनेखाने नै उपभोक्ता समितिमा भएकाले कामै नगरी रकम निकासा गरेको स्थानीयको भनाइ छ । ‘प्राविधिकले समेत कमिसन खाने, उपभोक्ता समितिले कामै नगरी दिएकाले अहिलेसम्म सडक पुर्‍याउन सकिएन,’ वडाध्यक्ष थापाले भने, ‘विकासभन्दा विकासका नाममा आएको रकम कसरी खाने भन्ने होडबाजी चलेको छ । एक्लैले नसकिने रैछ ।’


पूरै वडामा बिजुली जडानको लागि १ करोडको टेन्डर आह्वान भइसकेको उनले बताए । ‘खानेपानी र नेटवर्कका लागि पहल गरे तापनि तत्काल बन्ने छाँटकाँट छैन । तर, बिजुली बाल्न भने प्रयास जारी छ,’ उनले भने ।


सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको साँफेबगर नगरपालिका–१२ मा समेत सडक र बिजुली पुग्न सकेको छैन । खप्तडको प्रवेशद्वार तुकामा होमस्टे सञ्चालन भए पनि सडक नपुगेका कारण सुनसान बनेको वडाध्यक्ष प्रकाश रानाले बताए ।


सेती लोकमार्ग निर्माणको गति सुस्त हुनु, नगरपालिका भइसक्दा पनि गाउँमा सडकले नछुनु र विद्युत्

नहुनुले खप्तड पाटन जाने पर्यटकले अछामको बाटो प्रयोग नगरेको शिक्षक हस्तबहादुर बुढाले बताए । ‘एक दिनमा औसतमा खप्तड पाटनमा १० पर्यटक जान्छन् ।

प्रकाशित : मंसिर ३, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?