२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

विख्यात आरोहीलाई साइपाल सकस

७ हजार ३१ मिटर अग्लो यो हिमालको दक्षिणी मोहडाबाट आरोहणको असफल प्रयास गर्ने एडुर्ने पासावनको टोली पहिलो होइन । 
कात्तिक महिनामै अमेरिकी नागरिक फोरेस्ट सी कोट्सको नेतृत्वको अर्को टोली पनि आरोहण गर्न नसकी फर्किएको थियो ।
वसन्तप्रताप सिंह

बझाङ — ‘इट्स इक्रेडिबल ब्युटिफुल बट मोस्ट टेक्निकल’ लगातार १४ दिनको प्रयासपछि साइपाल हिमाल आरोहण गर्न असफल भएका स्पेनका आरोही डा. जर्ज इगोचेएगाले भने, ‘इट इज च्यालेन्ज फर द वर्ल्ड’ ।

विख्यात आरोहीलाई साइपाल सकस

डा. जर्ज विश्व हिमाल आरोहणको क्षेत्रमा प्रख्यात नाम हो । उनी संसारका ८ हजार मिटरभन्दा बढी उचाइका सबै १४ वटा हिमाल चढेर विश्व रेकर्ड कायम गरिसकेका गिनिज बुुक रेकर्डधारीमध्ये एक हुन ।

उनको भनाइमा विश्वस्त हुँदै ८ हजार मिटरभन्दा माथिका सबै हिमाल चढिसकेकी संसारकी प्रथम महिला स्पेनकै एडुुर्ने पासावनले भनिन्, ‘दक्षिणी मोहडाबाट साइपाल आरोहण असम्भव नै छ भनेर त भन्दिनँ । तर, यो काम धेरैको वशभन्दा बाहिर छ ।’


उनले साइपाल हिमाल आफूले चढेका सबै हिमालभन्दा कठिन पाएको बताइन् । कुराकानीका क्रममा यी दुवै आरोहीले साइपालको असफल आरोहण आफूहरूका लागि चुनौती भएको बताउँदै अर्काे पटक फेरि प्रयास गर्ने जानकारी दिए ।


उनीहरूसँगै १० पटक सगरमाथाको सफल आरोहण गरिसकेका पेछोम्बे शेर्पासहितका ५ जना अनुभवी शेर्पाहरूको र अन्य १० जना विदेशी आरोहीहरूले समेत साइपाल चढ्न सकेनन् । जिल्लामै हिमाल आरोहणका लागि पहिलो पटक साहस जुटाएका चार जना बझाङी महिलाहरूको पनि पहिलो गाँसमै ढुंगा लाग्यो ।


७ हजार ३१ मिटर अग्लो यो हिमालको दक्षिणी मोहडाबाट आरोहणको असफल प्रयास गर्ने यो टोली पहिलो भने होइन । कात्तिक महिनामै अमेरिकी नागरिक फोरेस्ट सी कोट्सको नेतृत्वमा रहेको टोलीले पनि साइपाल आरोहण गर्न नसकी फर्किएको थियो । आरोहण दलका सदस्यमध्ये ट्यालेर जोन र वेनार्ड स्ट्राग्लेवस्की ६ हजार ७ सय मिटरसम्म पुगेका थिए । यो टोलीले २५ दिनसम्म साइपाल चढ्ने प्रयास गरेको थियो ।


यसअघि सन् १९५३ मा अस्ट्रियन नागरिक डा. हवर्ट टिचीले पहिलो पटक दक्षिणी मोहडा (बझाङतिर) बाट साइपाल चढ्ने पहिलो प्रयास गरेका थिए । उनी सफल हुन सकेनन् । १९५४ मा अस्ट्रियाकै डा. रुडल्फ जोनासले पनि साइपाल आरोहणको असफल प्रयास गरेका थिए । यतिसम्म कि, उनका टिम सदस्य कार्ल रेइसले आरोहण प्रयास गर्ने क्रममा ज्यानसमेत गुुमाउनुुपर्‍यो ।


सन् २०१० मा फ्रान्सेली प्रख्यात आरोही पाउलो ग्रोबरले उत्तरी मोहडाबाट चढ्ने प्रयास गरेका थिए तर प्रतिकूूल मौसमका कारण सफल हुुन सकेनन् । ६ हजार ५ सय मिटरको सानो चुुचुरोबाट फोटोग्राफी गरेर फर्किए । अहिलेसम्म साइपालको सबैभन्दा उचाइबाट लिइएको भनेर इन्टरनेटमा भेटिने तस्बिर पाउलो ग्रोबरकै टिमले खिचेका हुुन् ।


तर, विदेशी पर्वतारोहीको व्यक्तिगत रेकर्डमा उत्तरी मोहडाबाट जापानका कात्सुतोसी हिराबासी र नेपाली शेर्पा पासाङ फुुतुरले साइपालको सफल आरोहण गरेको कुराहरू इन्टरनेटमा भेटिन्छन । उनीहरूले २१ अक्टोबर १९६३ मा सफल आरोहण गरेका थिए रे । यद्यपि, नेपाल सरकारसँग यसको कुनै आधिकारिक तथ्यांक छैन । त्यसपछि पनि विभिन्न प्रयासहरू भएका छन् । तर, कोही पनि आरोहण गर्न सफल भएनन् ।


‘साइपाल हिमालको बनावट एकदमै कठिन खालको छ,’ पेछोम्बे शेर्पाले भने, ‘६० डिग्रीभन्दा बढी भिरालोपन रहेको यो हिमाल चढ्न निकै ठूलो जोखिम छ ।’ निरन्तरजसो बहिरहने वेगवान हावा र अप्रत्याशित तरिकाले हुने मौसमको बदलीले पनि साइपाल हिमाल आरोहणलाई थप चुनौतीपूर्ण बनाएको उनको निष्कर्ष छ ।


फरक साइपाल

नेपालको हिमालय शृंखला उत्तरी सीमास्तम्भको रूपमा रहेको छ । सुदूरपूर्वमा पर्ने कञ्चनजंघादेखि सुदूरपश्चिमको दार्चुलामा पर्ने अपी हिमालले नेपाल र चीनको तिव्बत दुवै देशलाई छोएर बसेका छन् । यद्यपि साइपाल हिमाल यो विशाल हिमशृंखलाभन्दा भिन्न भएर दक्षिण पश्चिम फैलिएको छ ।


साइपाल हिमशृंखला नेपालको अन्य हिमशृंखलाभन्दा करिब ४७ किलोमिटर वर दक्षिण पश्चिम फैलँदै नेपालकै हुम्ला र बझाङ जिल्लाको सिमानाको काम गरेको छ । यस शृंखलामा भुजेडी, राइढुंगी, माँजा, रानीसैना, मडुंग्रालगायतका एक दर्जनभन्दा बढी साना–ठूला चुचुरा रहेका छन् ।


स्थानीयहरूले साइपाल र आसपासका चुचुराहरूमा लाँगा, बाँठपाला, भवानीलगायतका देवीदेवताको बासस्थान रहेको विश्वासका साथ भक्तिपूर्वक पूजाआजासमेत गर्छन् ।


सुदूरको सुनको टुक्रा

साइपाल हिमाल आरोहणका दृष्टिले धेरै कठिन भए पनि यसको आकर्षक बनावट जोकोहीलाई पनि मन्त्रमुग्ध पार्ने खालको भएको त्यहाँ पुग्नेहरू बताउँछन् ।


आधार शिविरसम्म पुग्ने मार्गमा रहेका झरनाहरू, तालतलयैया तथा नदीनालाहरू, विभिन्न खालका रंगीविरंगी फूलले ढाकेका पाटनहरू र भौगोलिक तथा जैविक विविधताको अनुपम संयोजनले यो क्षेत्र आरोहीका लागि मात्र नभएर पदयात्रीका लागि समेत नौलो अनुभव दिलाउने खालको रहेको छ ।


बझाङ सदरमुकाम चैनपुरबाट १८ किलोमिटर जिपको यात्रापछि लगातार ४ देखि ५ दिनसम्मको पैदलयात्रामा साइपाल बेसक्याम्पसम्म पुगिन्छ । सेती नदीको किनारैकिनार साइपाल गाउँपालिकाको धलौनसम्म पुगेपछि समुद्र सतहदेखि ३ हजार ३ सय मिटरको उचाइमा रहेको रस्यालेक पार गर्नुपर्छ । त्यहाँबाट २ घन्टाको ओरालो झरेपछि सेतीको मुख्य सहायक नदी घाटगंगाको किनारैकिनार साइपाल बेसक्याम्पसम्म पुग्न सकिन्छ ।


सदरमुकाम चैनपुरदेखि साइपाल हिमालको आधार शिविरसम्म पुग्ने बाटोमा जिल्लाकै आकर्षकमध्येको एक ढाँकी छडा झरना पनि पर्छ । यसबाहेक किनाडा झरना, दोतले झरना, औलागाड झरना पनि यो पदयात्रा मार्गका आकर्षण हुन् ।


डाँफे, मुनालजस्ता चराचुरुंगी, नाउर र झारलका बथानहरूको प्रत्यक्ष अवलोकन गर्ने मौका यो बाटो हिँड्नेले सजिलै पाउने गरेका छन् । हिमाली क्षेत्रमा पाइने विभिन्न खालका जडीबुटी र वनस्पतिहरू र आँखैअगाडि छ्यांगै देखिने साइपाल हिमशृंखला र अन्य हिमालहरूले यात्रालाई रोमाञ्चक बनाइदिन्छ ।

प्रकाशित : मंसिर ३, २०७५ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?