१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

पिङझैं हल्लिन्छन् झोलुंगे पुल

मनोज बडू

दार्चुला — पञ्चायतकालमै निर्माण भएको दुहु गाउँपालिका–१ भाडीस्थित झोलुंगे पुलको संरक्षण नहुँदा जीर्ण बनेको छ । दैनिक सयौंले आवतजावत गर्ने उक्त पुलको मर्मतसम्भार हुन सकेको छैन ।

पिङझैं हल्लिन्छन् झोलुंगे पुल

दुहु गाउँपालिकाको केन्द्र जोड्ने मुख्य पुल भए पनि सरोकारवाला निकायले संरक्षणमा ध्यान नदिएका हुन ।


स्थानीय पूर्णबहादुर बमले मर्मतमा कसैले चासो नदेखाएको बताए । ‘हजुरबाको पालामा बनेको यो पुलको अवस्था ज्यादै नाजुक छ । मर्मत–सम्भारमा कसैले चासो दिएको छैन,’ उनले भने । यो पुल करिब ५० वर्षअघि निर्माण भएको स्थानीयले बताए । यतिका वर्षसम्म मर्मतसम्भार नहुँदा पुलका नट बोल्ट निक्लेर हराउँदै गएका छन् । तिनमा खिया लागेर जीर्ण बनेका छन् ।


पुलको भारलाई सन्तुलन गर्ने नट बोल्ट हराउँदा यात्रुलाई जोखिम छ । जाली च्यातिएको छ । काठका फ्ल्याक खस्दा नदीमा खस्ने जोखिम छ । बमले भने, ‘छेउका तारबारसमेत भाँचिएको छ ।’ उक्त पुल भएर दुहु गाउँपालिकाका हिकिला, बास्पाली, भीड, सौतोली, खेतीगाड र गुनालगायत ठाउँका स्थानीय दैनिक आवतजावत गर्छन् । यो क्षेत्रसम्म यातायातको पहुँच नहुँदा यहाँका बासिन्दा पिठ्युँमा भारी बोकेर गुजारा चलाउँदै आएका छन् ।


यस्तै व्यास गाउँपालिका २ कल्गडे खोलामा पहिरो जाँदा झोलुंगे पुलको पिलर बांगिएको छ । केही वर्षअघि आएको पहिरोले पुलका पिलर बांगिएका हुन् । पुलमाथि ढुंगा जम्मा हुँदा आवतजावतमा जोखिम बढाएको छ । उक्त पुल जीर्ण भएको ४ वर्ष हुँदा पनि स्थानीय उपभोक्ता र सम्बन्धित निकायले चासो दिएका छैनन् ।


पुलमा अवरोध हुँदा आवतजावतमा समस्या हुने गरेको ब्यास गाउँपालिका २ की ईश्वरी बुढाथोकीले बताइन् । ‘कहिलेकाहीं आवतजावत गरिन्छ । नियमित हिँडडुल गर्नेले चासो दिंदैनन्,’ उनले भनिन्, ‘सिजनमा मात्र यो बाटो भएर हिँडिन्छ । सिजनमा हजारौं मानिसहरूले आवतजावत गर्छन् ।’ यो पुलबाट स्थानीय मात्र नभई विदेशी पर्यटकसमेत हिंड्ने हँुदा सम्बन्धित निकायले मर्मतसमभारमा जोड दिनुपर्ने उनको भनाइ छ ।


यसैगरी दार्चुलाको लेकम गाउँपालिकाको सर्मोली र बैतडीको दोगडाकेदारको न्वाली जोड्ने झोलुंगे पुल लामो समयसम्म पनि मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएको छ । २०५२ सालमा निर्माण भएको पुलमा प्रवेश गर्नासाथ हल्लिने भएकाले यात्रु डराउँछन् । दिनहुँ सयौं यात्रु ओहोरदोहोर गरिरहने पुल जीर्ण हुँदै भए पनि मर्मतका लागि कुनै पनि निकायले चासो नदेखाएको स्थानीय बासिन्दाको भनाइ छ ।


जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने लेकम गाउँपालिका अहिलेसम्म सडक सञ्जालमा जोडिन सकेको छैन । उक्त पुलबाटै त्यहाका बासिन्दा ओहोरदोहोर गर्छन् । दार्चुला र बैतडीमा दोहोरो बसाइका कारण पनि उक्त पुल भएर ओहोरदोहोर बढी हुने गरेको स्थानीय रामसिंह कार्कीले बताए ।


वारिपारि दुवै ठाउँमा घर जग्गाजमिन भएकाले आवतजावत गरिरहनुपर्छ । राति अबेर तथा बिहान सबेरै त्यही पुल भएर जानुपर्ने हुँदा मनमा डर लागिरहने स्थानीयको भनाइ छ ।


‘पुलमा एक व्यक्तिभन्दा बढीले ओहोरदोहोर गर्न मिल्दैन । पुल पिङ खेलेजस्तो हल्लिन्छ । वृद्धवृद्धा र अशक्तलाई आवतजावत गर्न साह्रै अप्ठ्यारो छ,’ स्थानीयवासी कार्कीले भने । संरचना निर्माण गर्दा लाखांै बजेट खर्च हुने तर बनेपछि संरक्षणमा चासो नदिने परिपाटी छ । स्थानीयहरूले पनि संरचना बनेपछि संरक्षणमा ध्यान नदिँदा समस्या भोग्दै आएका छन् ।


दुहु र व्यास गाउँपालिकाका बासिन्दा दार्चुला–तिंकर सडकको विस्तार नहुँदासम्म आवतजावतमा ठूलो समस्या खेप्दै आएका छन् । झोलुंगे पुल निर्माण भए पनि त्यसको दीर्घकालीन संरक्षणका लागि आवश्यक पहल नगरिंदा पुल जिर्ण बन्दै गएको स्थानीय बासिन्दाको आरोप छ । अब सबै ठाउँमा स्थानीय सरकार बनिसकेकाले जीर्ण बन्दै गएका संरचना संरक्षणमा जोड दिन सके विकासमा टेवा पुग्ने उनीहरूले बताए ।


स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) अन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले जिल्लाका सबै ठाउँमा १ सय २० वटा झोलुंगे पुल निर्माण गरिएको जानकारी दिएको छ । अहिले जिल्लाका दर्जनभन्दा बढी पुलहरू निर्माणाधीन अवस्थामा छन् ।

प्रकाशित : मंसिर १७, २०७५ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?