निर्मला हत्या प्रकरण : प्रशासनमा दोहोरो धर्ना

भवानी भट्ट

कञ्चनपुर — अधिकारकर्मीको टोली जिल्ला प्रशासनको गेटमै धर्ना बसेपछि कामकाज ठप्प भएको छ । पीडित परिवारको धर्ना यथावत् रहेका बेला न्यायका लागि थप दबाब सृजना गर्न अधिकारकर्मीले पनि प्रशासनको गेटमा धर्ना सुरु गरेका हुन् ।

फाइल तस्बिर


टाउकोमा कालोपट्टी र बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तको तस्बिर छातीमा टाँसेर अधिकारकर्मीहरू धर्नामा बसेका छन् ।

Yamaha


कात्तिक अन्तिम सातादेखि पीडित परिवारले सुरु गरेको अनिश्चितकालीन धर्नामा सहभागी हुँदै आएका अधिकारकर्मीहरूले आन्दोलनका कार्यक्रम घोषणा गरी सोमबारदेखि छुट्टै धर्ना सुरु गरेका हुन् । बिहान ११ बजदेखि साँझ ४ बजेसम्म दुई दिन धर्ना बस्ने कार्यक्रम तय गरिएको छ ।

गेटमै धर्ना बसेपछि कामकाज ठप्प हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । विभिन्न कामले आएका सेवाग्राही प्रशासनभित्र पस्न नपाई फर्किइरहेका थिए । सेवाग्राहीहरू छेउमै रहेको वडा प्रहरी कार्यालयबाट प्रशासन पस्न खोजे पनि धर्नामा बसेकाहरूले रोक्न थालेपछि कामकाज ठप्प भयो ।

तेस्रो दिन टर्च लाइट बालेर सांकेतिक रूपमा न्याय खोज्ने र चौथो दिन मानव साङ्लो बनाएर दबाबमूलक रूपमा विरोध जनाउने कार्यक्रम तय गरिएको नागरिक संघर्ष समितिकी संयोजक मीना भण्डारीले बताइन् ।

उनले त्यतिबेलासम्म पनि हत्यारा सार्वजनिक नगरिए थप आन्दोलनका कार्यक्रम घोषणा गरिने बताइन् । दसैंअघि स्थगित गरिएको आन्दोलन सोमबारदेखि सुरु भएको हो ।

तिहारलगत्तै पीडित परिवारले सुरु गरेको धर्नामा नागरिक संघर्ष समितिले समर्थन गरेको थियो ।
हत्यारा सार्वजनिक गर्न माग गर्दै पीडित परिवारले कात्तिक २५ देखि जिल्ला प्रशासन कार्यालयको अगाडि सुरु गरेको धर्ना जारी छ । धर्ना बसेकै बेला निर्मलाका बुवा यज्ञराज अस्वस्थ भएपछि उनलाई उपचारका लागि काठमाडौं लगिएको छ ।

यज्ञराजसँगै निर्मलाकी आमा दुर्गादेवीपनि काठमाडौं गएपछि कान्छी आमा लक्ष्मीले धर्नालाई निरन्तरता दिएकी छन् । जिल्ला प्रशासनअगाडि टेन्टको छाप्रोमा अनिश्चितकालीन धर्ना यथावत् छ । मंसिरको चिसोमा शीतको समेत प्रवाह नगरी लक्ष्मीले धर्नालाई निरन्तरता दिएकीछन् । उनले अपराधी पत्ता नलागेसम्म धर्नाजारी रहने बताइन् ।

प्रकाशित : मंसिर १८, २०७५ ११:११
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

१८ दिनपछि अभियुक्त सार्वजनिक

मोहन बुढाऐर

धनगढी — जिल्ला प्रहरीले विजय थापा हत्याकाण्डका अभियुक्त आशिष सेठीलाई सोमबार सार्वजनिक गरेको छ । प्रहरीले सेठीलाई घटनास्थलबाटै रंगेहात पक्राउ गरेको थियो ।

धनगढीमा थापा हत्याका अभियुक्त सार्वजनिक गर्दै प्रहरी । तस्बिर : मोहन/कान्तिपुर

पीडित पक्ष अभियुक्तलाई सार्वजनिक गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिए पनि प्रहरीले घटनाको १८ दिनपछि सार्वजनिक गरेको हो ।

प्रदेश प्रमुखको कार्यालय नजिकैको चोकमा रहेको ज्ञानेन्द्र चौधरीको घरको पछाडि कात्तिक ३० गते धनगढी उपमहानगरपालिका–४ का २७ वर्षे विजय थापाको हत्या गरिएको थियो । जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक हरि वलीले अनुसन्धानबाट लागूऔषध सेवन गर्ने बेला सेठीले थापाको हत्या गरेको खुलेको बताए ।

‘दुवै जना लागूऔषध सेवनकर्ता हुन्,’ उनले भने, ‘त्यो साँझ दुवै जना लागूपदार्थ हेरोइन खान त्यहाँ आएको देखिन्छ ।’ दुवै जनाले लागूऔषध सेवन गरिसकेपछि प्रतिवादी सेठीले थप मागेपछि दुवै जनाबीच हात हालाहाल भएको डीएसपी वलीले बताए । ‘त्यही क्रममा सेठीले घरको सिँढीमा थापाको टाउको ठोक्काउँदा गम्भीर घाइते भएको देखिन्छ,’ वलीले भने, ‘घटनालाई ढाकछोप गर्न घाइतेलाई अन्यत्र लुकाउने मनसाय राखी घिसार्दै गरेको अवस्था अनुसन्धानबाट खुलेको छ ।’

डीएसपी वलीले घटना भएको घरको पूर्वपट्टिको अर्काे घरमा बस्ने घरधनी ज्ञानेन्द्र चौधरीले सेठीलाई भाग्न नदिई रोकेको बताए । चौधरीले रोकेको अवस्थामा गस्ती प्रहरीले भेटाएपछि सेठीलाई घटनास्थलमै पक्राउ गरिएको थियो । अभियुक्त सेठी यसअघि पनि लागूऔषध मुद्दामा फरार अभियुक्त रहेको खुलेको छ । ‘घटनाको मुख्य कारण लागूऔषध नै देखिन्छ,’ डीएसपी वलीले भने, ‘दुवै जना एक–आपसमा मिल्ने साथी थिए ।’

प्रहरीका अनुसार मृतकको पोस्टमार्टम रिपोर्टले समेत टाउको पछाडिबाट धारिलो वस्तुको प्रहारबाट मस्तिष्कमा गहिरो चोट लागेर मृत्यु भएको देखिएको छ । आरोपी सेठीले थापाको टाउको सिँढीमा ठोक्काउँदा मृत्यु भएको स्विकारेको डीएसपी वलीले बताए । घटनामा अन्य पक्ष संलग्न भएको खुलेको छैन । अभियुक्त सेठीलाई कर्तव्य ज्यानअन्तर्गत मुद्दा चलाइनेछ ।

पीडितपक्षले न्याय दिने गरी प्रहरीले अनुसन्धान र सबुत प्रमाण राखोस् भनेर खबरदारी गर्दै आएको थियो । पीडित पक्षका प्रेम धामीले भने, ‘प्रहरीले घटनास्थलमै पक्राउ गरेका अभियुक्त सेठीलाई सार्वजनिक नगर्नुमा हामीलाई शंका लागेको हो । ढिलै भए पनि अभियुक्तलाई सार्वजनिक गरेको छ ।
प्रहरीले सेठीमाथि कर्तव्य ज्यान अन्तर्गत मुद्दा चलाउने बताएपछि आन्दोलन स्थगित गरेका छौं ।’ उनले मुद्दालाई कमजोर बनाएर अभियुक्त उम्काउने खेल भए पुन: आन्दोलनमा उत्रिने बताए ।

प्रकाशित : मंसिर १८, २०७५ ११:१०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT