कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बर्खामा चुहिन्छ बर्थिङ सेन्टर

मेनुका ढुंगाना

अछाम — मंगलसैन नगरपालिका १३ बस्तीको दुईतले कच्ची स्वास्थ्य चौकी मर्मत सम्भारको अभावले जीर्ण बनेको छ । पानी परेका दिन स्वास्थ्यकर्मीलाई सेवा प्रवाह गर्नै मुस्किल पर्छ । चौकीमा नाम मात्रको 
बर्थिङ सेन्टर छ । 

बर्खामा चुहिन्छ बर्थिङ सेन्टर

छेउमा एउटा पुरानो खाट । नजिकै डस्टबिन । एक छेउमा प्रसूति गराउँदा आवश्यक पर्ने सामग्री अस्तव्यस्त छन् । झ्यालबाट आउने प्रकाशको सहायताले सुत्केरी गराउन बाध्य छन्, स्वास्थ्यकर्मी । प्रसूति गराउनका लागि आवश्यक सामग्री भए पनि तिनलाई सुरक्षित राख्ने ठाउँकै अभाव छ । पानी परेको दिन घर चुहिन्छ । भएका सामग्रीमा खिया लागेको छ । यहाँका अधिकांश महिला घरमै सुत्केरी हुन विवश छन् ।


सामान्यतया सुत्केरी गराउन उज्यालो कोठा, सहज वातावरण र दक्ष स्वास्थ्यकर्मीको आवश्यकता पर्छ । यहाँ भने त्यस्तो कुनै सुविधा छैन । बिहान उज्यालो हुँदादेखि साँझ अँध्यारो नहँुदासम्म कोही सुत्केरी व्यथा लागेर बर्थिङ सेन्टर पुगेमा मात्रै सुरक्षित प्रसूति हुन पाउँछन् । राति व्यथा लाग्यो भने त्यो पनि सम्भव छैन ।


‘गाउँभन्दा अलिमाथि नै यो स्वास्थ्य चौकी भवन छ । राति यतै बसेर सेवा दिन हामीलाई निकै समस्या छ,’ स्वास्थ्य चौकी इन्चार्ज विजय श्रेष्ठले भने, ‘३० वर्षअगाडि निर्माण भएको जीर्ण भवन भएकाले राति सेवा दिन अप्ठ्यारो भएको हो ।’

अरू ठाउँमा गएर सुत्केरी हुन यहाँका महिलालाई अर्को विकल्प पनि छैन । गाउँबाट नजिक भनेकै सदरमुकामको जिल्ला अस्पताल हो । त्यहाँ पुग्नै १३ घण्टा लाग्छ । बस्ती, डाडीगडे र बाँडा गरी मुख्य ३ टोल भएको साविकको बस्ती गाविसको केन्द्रमा रहेको स्वास्थ्य चौकीको आफ्नै भवन नहँुदा सेवा प्रभावकारी नभएको स्वास्थ्य चौकी इन्चार्ज श्रेष्ठले बताए ।


‘बस्ती र डाडीगडेका महिलाहरूको यो बर्थिङ सेन्टरसम्म पहुँच छ । बाडा गाउँबाट यहाँ सेवा लिन आउँदैनन्,’ उनले भने, ‘एक गाउँबाट अर्को गाउँको दुरी ७/८ घण्टाको छ । व्यथा लागेका महिला हिँडेरै यो ठाउँमा पुग्दा ज्यानै जोखिममा पर्ने सम्भावना हुन्छ ।’


उनका अनुसार महिनामा १/२ महिला मात्र प्रसूतिका लागि आउँछन् । स्वास्थ्य चौकीको तथ्यांकअनुसार १ अनमी र २ अहेब भएको स्वास्थ्य चौकीमा आव ०७४ /७५ मा २३ जना मात्रै सुत्केरी भएका छन् ।


जुन ठाउँमा सुरक्षित सेवा पाउने आस बोकेर महिला पुग्छन, त्यही ठाउँको दयनीय अवस्थाले स्वास्थ्य सेवा प्रभावकारी बन्न नसकेको स्थानीय पवित्रा साउँदले बताइन् । ‘मैले नै राति सुत्केरी व्यथा लाग्दा घरमै बच्चा जन्माए,’ उनले भनिन्, ‘यो बर्थिङ सेन्टर हुनु र नहुनुमा हामीलाई कुनै फाइदा छैन ।’


कलिलै उमेरमा बिहे गर्ने चलन भएका कारण यहाँका अधिकांश महिलाको सन्तान जन्माउने औसत उमेर १७ देखि २१ वर्ष हो । जोखिम अवस्थामा घरमै सुत्केरी हँुदा आमा र बच्चाको ज्यान नै असुरक्षित हुने गरेको स्थानीयको भनाइ छ ।


‘कतिपयका बच्चा गर्भमै मरेका हुन्छन् । कतिका जन्मिसकेपछि मर्छन् । हामीले थाहा पाएसम्म घरमै पुगेर जानेबुझे जति सेवा र सुझाव सल्लाह दिन्छौं,’ स्वास्थ्य स्वयंसेविका मातृका ढुंगानाले भनिन्, ‘तर पनि यहाँका महिलाको ज्यान जोखिममै छ ।’

प्रकाशित : मंसिर १९, २०७५ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?