गाउँ पुगे न्यायाधीश

कान्तिपुर संवाददाता

डोटी — दुर्गामाडौं वायलकी कुन्ता पार्की लाई न्यायाधीश र अदालतका कर्मचारीसँग बोलचाल गर्नै हुँदैन भन्ने लागेको थियो ।

बोल्दा पनि कानुन लाग्ला भन्ने भ्रम थियो । अहिले भने त्यो भ्रम हटेको छ ।
न्याय सम्पादनका लागि सर्वसाधारणभन्दा न्यायाधीशहरूले समुदायसँग सम्बन्ध बढाउन चाहेको कुरा उनले बुझेकी छन् ।

Yamaha


यसै साता उच्च अदालत दिपायल र जिल्ला अदालतका न्यायाधीशको टोली पहिलो पटक गाउँमा पुगेपछि अदालत तथा मुद्दामामिलाबारे धेरै कुरा जान्ने अवसर समुदायले पाएको कुन्ताले बताइन् । पछि त कुन्ताले गाउँमा आइपुगेका न्यायाधीशहरूसँग निर्धक्क कानुन र अदालती काम र प्रक्रियाका बारेमा सोधिन् । अहिले उनी छिमेकीहरूसँग ‘फुर्ती’ लाउँदै हिंडेकी छन् ।

न्यायाधीश र कर्मचारीसहितको टोली गाउँमा पुग्दा स्थानीय छक्क परे । अदातलका काम कर्तव्य र गतिविधिबारे सर्वसाधारणलाई बुझाउन तथा अदालतमा भइरहेका कमीकमजोरी औंल्याउन सर्वसाधारणसँग न्यायिक संवाद गर्न गाउँ पसेको उच्च अदालत दिपायलका रजिस्टार भुवन गिरीले बताए ।

सर्वसाधरणसँग हात जोड्दै अदालतबाट आएको टोलीले परिचय आदानप्रदान गरी सम्बन्ध बढाउन थालेपछि केआईसिंह गाउँपालिका–१ लोलीका खडक बमले पनि अदालतप्रति आफ्नो सुझाव प्रत्यक्ष दिन पाएकामा खुसी ब्यक्त गरे ।

‘पछिल्लो समय भ्रष्टाचार र राजनीतिक हस्तक्षेपका कारण अदालत पनि निष्पक्ष हुन पाएका छैनन्,’ उच्च अदालत दिपायलका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्याललाई बमले सुझाव दिए, ‘न्याय पाउन जनताले लामो समय पर्खनुपर्ने, खर्च बढी गर्नुपर्ने अवस्था छ । यसमा सुधार
गर्न जरुरी छ ।’

गाउँलेहरूले न्यायाधीशहरूलाई स्वागत गरेका थिए । उनीहरूसँग विद्यार्थी, जनप्रतिनिधिदेखि स्थानीय पत्रकारहरूले अदालतको गतिविधि, कमीकमजोरी तथा कानुनी विषयमा जिज्ञासा राखे । अधिकांशले न्याय पाउन अदालतबाट हुने ढिलासुस्तीप्रति दुखेसो पोखेका थिए । स्वास्थ्यकर्मी गीता भट्टले भने बालविवाह, बहुविवाहबारे बनेका नयाँ कानुनका बारेमा जिज्ञासा राखेकी थिइन् ।

मुख्य न्यायाधीश बस्यालले न्यायाधीशसँग बोल्नै नहुने, सम्बन्ध राख्नै नहुने भन्ने सोच पुरातन भएकाले त्यसमा सुधार ल्याउन न्यायाधीशहरूका साथमा गाउँ आइपुगेको बताए । ‘जो कसैले पनि अदालतमा न्यायका लागि सहज पहुँच बनाउनुपर्छ,’ उनले भने, ‘हाम्रा कमीकमजोरी के छन् त्यसमा सुधार गर्नका लागि सुझाव माग्न पनि आएका हौं ।’ उनले ढिलोचाँडो भए पनि न्याय र सत्य कहिल्यै नमर्ने भन्दै अदालतप्रति विश्वास राख्न आग्रह गरे ।

अदालतको महत्त्व, त्यहाँ हुने प्रक्रिया तथा गतिविधिबारे जानकारी दिई स्थानीयसँग विश्वासको सम्बन्ध विस्तार गर्न उच्च र जिल्ला अदालत संयुक्त रूपमा वायलमा न्यायिक संवाद गरेका थिए । अदालतहरूले पछिल्लो समय जनतासँग सम्बन्ध स्थापित गर्न बस्तीमा जाने, सर्वसाधारणसँग भेटघाट राख्ने, अदालतमा
भइरहेका गतिविधिहरू सञ्चार माध्यममार्फत सार्वजनिक गर्ने काम गर्दै आएका छन् ।

प्रकाशित : मंसिर १९, २०७५ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बर्खामा चुहिन्छ बर्थिङ सेन्टर

मेनुका ढुंगाना

अछाम — मंगलसैन नगरपालिका १३ बस्तीको दुईतले कच्ची स्वास्थ्य चौकी मर्मत सम्भारको अभावले जीर्ण बनेको छ । पानी परेका दिन स्वास्थ्यकर्मीलाई सेवा प्रवाह गर्नै मुस्किल पर्छ । चौकीमा नाम मात्रको बर्थिङ सेन्टर छ । 

छेउमा एउटा पुरानो खाट । नजिकै डस्टबिन । एक छेउमा प्रसूति गराउँदा आवश्यक पर्ने सामग्री अस्तव्यस्त छन् । झ्यालबाट आउने प्रकाशको सहायताले सुत्केरी गराउन बाध्य छन्, स्वास्थ्यकर्मी । प्रसूति गराउनका लागि आवश्यक सामग्री भए पनि तिनलाई सुरक्षित राख्ने ठाउँकै अभाव छ । पानी परेको दिन घर चुहिन्छ । भएका सामग्रीमा खिया लागेको छ । यहाँका अधिकांश महिला घरमै सुत्केरी हुन विवश छन् ।

सामान्यतया सुत्केरी गराउन उज्यालो कोठा, सहज वातावरण र दक्ष स्वास्थ्यकर्मीको आवश्यकता पर्छ । यहाँ भने त्यस्तो कुनै सुविधा छैन । बिहान उज्यालो हुँदादेखि साँझ अँध्यारो नहँुदासम्म कोही सुत्केरी व्यथा लागेर बर्थिङ सेन्टर पुगेमा मात्रै सुरक्षित प्रसूति हुन पाउँछन् । राति व्यथा लाग्यो भने त्यो पनि सम्भव छैन ।

‘गाउँभन्दा अलिमाथि नै यो स्वास्थ्य चौकी भवन छ । राति यतै बसेर सेवा दिन हामीलाई निकै समस्या छ,’ स्वास्थ्य चौकी इन्चार्ज विजय श्रेष्ठले भने, ‘३० वर्षअगाडि निर्माण भएको जीर्ण भवन भएकाले राति सेवा दिन अप्ठ्यारो भएको हो ।’
अरू ठाउँमा गएर सुत्केरी हुन यहाँका महिलालाई अर्को विकल्प पनि छैन । गाउँबाट नजिक भनेकै सदरमुकामको जिल्ला अस्पताल हो । त्यहाँ पुग्नै १३ घण्टा लाग्छ । बस्ती, डाडीगडे र बाँडा गरी मुख्य ३ टोल भएको साविकको बस्ती गाविसको केन्द्रमा रहेको स्वास्थ्य चौकीको आफ्नै भवन नहँुदा सेवा प्रभावकारी नभएको स्वास्थ्य चौकी इन्चार्ज श्रेष्ठले बताए ।

‘बस्ती र डाडीगडेका महिलाहरूको यो बर्थिङ सेन्टरसम्म पहुँच छ ।बाडा गाउँबाट यहाँ सेवा लिन आउँदैनन्,’ उनले भने, ‘एक गाउँबाट अर्को गाउँको दुरी ७/८ घण्टाको छ । व्यथा लागेका महिला हिँडेरै यो ठाउँमा पुग्दा ज्यानै जोखिममा पर्ने सम्भावना हुन्छ ।’

उनका अनुसार महिनामा १/२ महिला मात्र प्रसूतिका लागि आउँछन् । स्वास्थ्य चौकीको तथ्यांकअनुसार १ अनमी र २ अहेब भएको स्वास्थ्य चौकीमा आव ०७४ /७५ मा २३ जना मात्रै सुत्केरी भएका छन् ।

जुन ठाउँमा सुरक्षित सेवा पाउने आस बोकेर महिला पुग्छन, त्यही ठाउँको दयनीय अवस्थाले स्वास्थ्य सेवा प्रभावकारी बन्न नसकेको स्थानीय पवित्रा साउँदले बताइन् । ‘मैले नै राति सुत्केरी व्यथा लाग्दा घरमै बच्चा जन्माए,’ उनले भनिन्, ‘यो बर्थिङ सेन्टर हुनु र नहुनुमा हामीलाई कुनै फाइदा छैन ।’

कलिलै उमेरमा बिहे गर्ने चलन भएका कारण यहाँका अधिकांश महिलाको सन्तान जन्माउने औसत उमेर १७ देखि २१ वर्ष हो । जोखिम अवस्थामा घरमै सुत्केरी हँुदा आमा र बच्चाको ज्यान नै असुरक्षित हुने गरेको स्थानीयको भनाइ छ ।

‘कतिपयका बच्चा गर्भमै मरेका हुन्छन् । कतिका जन्मिसकेपछि मर्छन् । हामीले थाहा पाएसम्म घरमै पुगेर जानेबुझे जति सेवा र सुझाव सल्लाह दिन्छौं,’ स्वास्थ्य स्वयंसेविका मातृका ढुंगानाले भनिन्, ‘तर पनि यहाँका महिलाको ज्यानजोखिममै छ ।’

प्रकाशित : मंसिर १९, २०७५ १३:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT