स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम : सडक निर्माण र शिक्षा क्षेत्रलाई प्राथमिकता

पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा संयोजक रहेको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संसद् कोष) अन्तर्गत डडेलधुरामा अधिकांश विकास बजेट मठमन्दिर, विद्यालय र सडक निर्माणमा विनियोजन गरिएको छ ।
प्रदेश ब्युरो

धनगढी — सांसदहरूले स्थानीय तहझैं अधिकांश रकम सडक निर्माणमा छुट्टयाएका छन् । उनीहरूले सडकसँगै मठमन्दिर, शिक्षा र केही सामाजिक विकासतर्फ खर्च गर्ने भएका छन् ।

डोटीका सांसदले यो वर्ष पनि सडकमै बजेट खन्याए । यहाँ कुल बजेटको ५६ प्रतिशत रकम सडकमै विनियोजन गरिएको जिल्ला समन्वय समितिले जनाएको छ ।


पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा संयोजक रहेको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संसद कोष) अन्तर्गत डडेलधुरामा अधिकांश विकास बजेट मठमन्दिर, विद्यालय र सडक निर्माणमा विनियोजन गरिएको छ ।


कैलालीका ५ संघीय निर्वाचन क्षेत्रबाट निर्वाचित सासंदहरूले आफ्नो क्षेत्रको सडक र विद्यालय तथा सामुदायिक भवनमै धेरै रकम वितरण गरेका छन् । तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा पनि अधिकांश बजेट सडक र विद्यालय भवन निर्माणमा लगानी गरिने भएको छ । केही टुक्रे येजना पनि समावेश छन् ।


डोटीमा ९ सडक योजना

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको कार्यविधिअनुसार १० लाखभन्दा मुनिका योजना बनाएर रकम विनियोजित गर्न पाइँदैन ।


एकमात्र प्रतिनिधिसभा सिट रहेको डोटीमा दुई करोड २५ लाख रुपैयाँ सडकमै विनियोजन गरेको प्रतिनिधिसभा सदस्य प्रेम आलेले बताए । उनले सबैभन्दा बढी ५०/५० लाख रूपसकाडा–छहरा–बाझिलेक–सम्मेनी र खसरे–बगेडा–निरौली सडकका लागि छुट्टयाएका छन् ।


२३ मध्ये ९ सडक योजना छन् । सडकबाहेक धार्मिक पर्यटन क्षेत्र, शिक्षा तथा सिँचाइ कुलोमा रकम बढी गएको छ । ‘परम्परागत रूपमै योजना विनियोजित भएका छन्,’ स्थानीय रमेश कुञ्जेडाले भने, ‘नयाँ तथा आयआर्जनको पाटोसँग जोडिएका योजना कार्यान्वयनमा नआउने भए ।’


विद्यालयमा लगानी

डडेलधुरामा २० वटा योजना छनोट भएका छन् । ६ वटा विद्यालयलाई झन्डै एक करोड रकम वितरण गरिएको छ । मठ मन्दिरमा पनि एक करोड रकम विनियोजन गरिएको जिल्ला समन्वय समितिले जानकारी दिएको छ ।


विद्यालय पछि मठ मन्दिरमा बढी रकम विनियोजन गरिएको छ । जिल्लाका ७ वटै स्थानीय तहका ८ वटा मन्दिरमा ठूलो रकम विनियोजन गरिएको छ । उग्रतारा क्षेत्र विकास समितिअन्र्तगत ४ वटा मन्दिरमा रकम विनियोजन गरिएको छ । यसैगरी जिल्लाका विभिन्न सडकमा पनि ठूलो रकम विनियोजन गरिएको छ ।


विगतमा जिल्ला विकास समितिले निर्माण सुरु गरेका तर अधुरो रहेका सडक योजनालाई प्राथमिकतामा राखी योजना छनोट गरिएको जिल्ला समन्वय समिति डडेलधुराका संयोजक गणेशराज भट्टले जानकारी दिए । उनले भने, ‘विगतभन्दा निकै फरक कार्यविधि भएका कारण संसद कोषको रकम जथाभावी भएको छैन ।’


ठोस योजना र काम देखिने गरी योजना छनोट गरिएको पनि संयोजक भट्टले बताए । दुईवटा ५०/ ५० लाखका ठूला योजनामा रकम विनियोजन भएको छ भने अरू १० लाखमाथिका योजना बनाएर विकास बजेट विनियोजन गरिएको छ ।


प्रत्यक्ष निर्वाचित सांसद संयोजक, समानुपातिक तथा राष्ट्रियसभाका सांसद सदस्य, गाउँपालिकाका प्रमुख सदस्य र जिल्ला समन्वय समितिका संयोजक तथा उप संयोजक सदस्य रहने गरी बनेको समितिले योजना छनोट गर्ने नयाँ कार्यविधिअनुसार रकम बाँडफाँट हुने गरेको छ ।


हरेक स्थानीय तह र प्रदेशसभा सांसदहरूको बजेटमा साझेदारी हुने गरी विकास योजनामा संसद कोषको रकम बाँडफाँट हुने प्रावधानका कारण विगत जस्तो चुहावट हुने स्थिति नरहेको जिल्ला समन्वय समितिका एक कर्मचारीले बताए । ग्रामीण क्षेत्रका मठ– मन्दिर भन्दा पर्यटकीय दृष्टिकोणले सम्भावना भएका धार्मिक क्षेत्र र पर्यटकीय क्षेत्रको विकासमा संसद् कोषको रकम केन्द्रित गरिएको पनि उनले दाबी गरे ।


पूर्वाधार निर्माणमै जोड

कैलाली सदरमुकाम धनगढीसमेत समेटिएको क्षेत्र ५ का सांसद नारदमुनि रानाले ४ करोडको करिब ९० प्रतिशत रकम विद्यालय भवन निर्माणमा विनियोजन गरेका छन् ।


जिल्ला समन्वय समितिलाई पठाएको विवरणमा धनगढी तुलसी रानादेखि धमलशान टोलमा जाने सडक कालोपत्रे र गदरिया बजार पछाडिको एउटा कल्भर्टमा ३५ लाख बाहेक सबै रकम भवन निर्माण तथा मर्मतमा विनियोजन भएको छ ।


कुल छनोट भएका १७ योजनामध्ये सवैभन्दा धेरै स्कुल, कैलाली बहुमुखी क्याम्पस र राना सांस्कृतिक संग्रहालयको भवन निर्माणमा ५०/५० लाख विनियोजन गरिएको छ ।


धनगढीको जुगेडा, मनहेरामा कभर्डहल निर्माणमा ४० लाख ६० हजार, सामुदायिक भवन, ज्येष्ठ नागरिक र सभागृहलाई २०/२० लाख गरी ६० लाख, धनगढी माविको प्रयोगशाला निर्माणमा ३५ लाख, शैलेश्वरी मन्दिर जीर्णोद्धारमा १५ लाख, सहिद होरिलाल प्रतिष्ठानमा २० लाख , सूर्याेदय, बहेडाबाबा न्युकालिका, पुरनबाबा माविको भवन निर्माणमा करिब १ करोड जति विनियोजित छ ।


यस क्षेत्रका प्रभावशाली नेता लेखराज भट्टले ४ करोडको ८० प्रतिशत भन्दा धेरै रकम सडक ग्राभेल र कालोपत्रे निर्माणमा लगाएका छन् । छनोट भएका कुल योजनामा एउटा योजना १० लाखको मात्रै भए पनि स्थानीय समस्यालाई मध्यनजर गरिएको छ । उनले गोदावरी वडा नम्बर ३ मा सर्पदंश उपचार केन्द्र पूर्वाधार निर्माणमा १० लाख विनियोजन गरेका छन् ।


कैलालीकै निर्वाचन क्षेत्र ३ मा छनोट भएका १५ मध्ये सबैभन्दा ठूलो हसुलिया–मसुरिया सडकको स्तरोन्नति हो । यो योजनामा १ करोड बजेट विनियोजन गरिएको छ । अन्य सडक पूर्वाधारमा करिब १ करोड छुट्टयाइएको छ । बाँकी रकम सिँचाइ, नहर, पुल–पुलेसा, खानेपानी, स्कुल र सामुदायिक भवन निर्माणमा लगाइने भएको हो ।


कैलाली क्षेत्र नम्बर २ का सांसद झपट रावलले लम्की चुहामा १५ शय्याको सामुदायिक अस्पताल भवन निर्माणमा १ करोड १० लाख छुट्टयाएका छन् । उनको ४ करोडका २० वटा योजनामध्ये दोस्रो ठूलो ५० लाख बजेट विनियोजन भएको बर्दगोरिया धामको विकासमा छ ।


अन्य योजनामा हाटबजार, बालबाटिका, तटबन्ध, खानेपानी, स्कुल भवन निर्माणमा १० देखि माथि २० लाखसम्म रकम विनियोजन गरेका छन् ।


कैलाली कारागारमा बन्दी जीवन बिताइरहेका क्षेत्र १ का सांसद रेशम चौधरीको क्षेत्रमा सडक पूर्वाधार, ज्येष्ठ नागरिक, स्वास्थ्य चौकी, मन्दिर र स्कुलका भवन निर्माणमा ४ करोड विनियोजित भएको छ । कुल २० योजनामा मोहनपुरदेखि नवलपुरसम्मको सडक र हिमालय मावि टीकापुरको भवनमा ५०/५० लाख रुपैयाँ विनियोजन भएको छ । बाँकी योजना २० लाख मुनिका छन् ।


सडक र धार्मिक संरचना प्राथमिकतामा

खानेपानी मन्त्री समेत रहेकी कञ्चनपुर क्षेत्र १ की सांसद विना मगरले २० वटा योजनामध्ये ६ वटा सडक कालोपत्रे र ग्राभेलका छन् ।


सडक निर्माणमा करिब १ करोड बजेट विनियोजन गरिएको जिल्ला समन्वय समितिको कार्यालयले जनाएको छ । सडक निर्माणपछि उनले चर्च, धाम तथा धार्मिक संरचना निर्माणलाई प्राथमिकता दिएकी छन् ।


यसैगरी रानाथारू होमस्टे, रंगशाला प्याराफिट, कभर्ड हल निर्माण लगायत क्षेत्रमा बजेट विनियोजन गरिएको छ ।


क्षेत्र नं. २ मा पनि सडक तथा कल्भर्ट निर्माणलाई प्राथमिकता दिइएको छ । आधा दर्जन सडक र कल्भर्टका योजना १ करोड बढी बजेट विनियोजन गरिएको छ । सांसद नरबहादुर धामीले १९ योजनामा ४ करोड बजेट विनियोजन गरेका छन् ।


जिल्ला समन्वय समितिमा पठाएको योजना छनोटको पत्रअनुसार तटबन्ध निर्माणमा पनि ठूलो रकम विनियोजन गरिएको छ । तीन वटा तटबन्ध निर्माणका योजनामा ७० लाख रकम विनियोजन गरिएको छ ।


सांसद धामीले पनि मन्दिर, चर्च लगायतका भौतिक संरचना निर्माणलाई प्राथमिकतामा राखेका छन् । यसैगरी विद्यालय, सामुदायिक भवन निर्माणमा पनि बजेट विनियोजन गरिएको छ ।


क्षेत्र नं. ३ का सांसद डा. दीपक प्रकाश भट्टले विपन्न तथा भूमिहिन नागरिकका लागि आवास भवन निर्माण र विद्यालयको भौतिक संरचना निर्माणमा आधा रकम विनियोजन गरेका छन् ।


उनले भीमदत्त र महाकाली नगरपालिकामा आवास भवन निर्माणका लागि ५०/५० लाख विनियोजन गरेका छन् ।


यसैगरी दुवै नगरपालिकामा विभिन्न विद्यालयको भौतिक संरचना निर्माणका लागि पनि करिब १ करोड बजेट विनियोजन गरिएको छ । यसैगरी सिँचाइका लागि स्यालो ट्युवेलर डिप बोरिंग लगायतका योजनामा पनि बजेट विनियोजन गरिएको छ ।


तीनवटै क्षेत्रका सांसदहरूले एउटै योजनाभित्र थुप्रै शीर्षक राखेर बजेट विनियोजन गरेका छन् । एउटा योजनामा न्यूनतम १० लाख भन्दा कम बजेट छुट्याउन नपाइने र २० भन्दा बढी योजना छनोट गर्न नपाइने प्रावधान भएकाले एउटै योजना भित्र विभिन्न शीर्षकहरूमा रकम विनियोजन गरिएको देखिन्छ ।


‘गत विगतका भन्दा नराम्रो तरिकाले योजना छनोट भएको छ,’ जिल्ला समन्वय समिति कञ्चनपुरका एक कर्मचारीले भने, ‘चार/पाँच वटा विद्यालयमा भौतिक संरचना भनेर डल्लो बजेट छुट्याइएको छ, तर कुन विद्यालयलाई कति भन्ने छैन ।’


उनका अनुसार भौतिक संरचना भनेर बजेट विनियोजन भएको छ तर कस्तो खालको संरचना हो भन्ने विषयमा योजनामा खुलाइएको छैन । सांसदहरूले सम्बन्धित स्थानीय तहका प्रमुख र उपप्रमुखहरूसँग छलफल गरी योजना छनोट गरे पनि विगतको भन्दा खासै फरक नरहेको देखिन्छ । बाटोघाटो मठ मन्दिर र विद्यालयमै बढी बजेट छुट्याइएको देखिन्छ ।


(डडेलधुराबाट डीआर पन्त, धनगढीबाट मोहन बुढाऐर, डोटीबाट मोहन शाही र कञ्चनपुरबाट भवानी भट्ट)

प्रकाशित : मंसिर २०, २०७५ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?