२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

जुम्ली घोडाको व्यापार घट्यो

परम्परागत व्यापार लोप हुने चिन्ता
मनोज बडू

दार्चुला — नेपाल– भारत सीमावर्ती जोलजिवीको ऐतिहासिक मेलामा जुम्ली घोडाको राम्रो व्यापार हुँदै आएको भए पनि पछिल्ला केही वर्षयता जुम्ली घोडाको माग घटेर व्यापार ओरालो लागेको छ । 

जुम्ली घोडाको व्यापार घट्यो

जोलजिवीको व्यापारिक मेलामा यो वर्ष जुम्ली घोडाको व्यापारमा कमी आएको व्यापारीहरू बताउँछन् । ‘भारतमा लाग्ने जोलजिवी मेलामा नेपालको जुम्ली घोडा विगतदेखि नै प्रख्यात मानिन्थ्यो । मेलामा बिक्री पनि राम्रै हुन्थ्यो,’ वर्षांैदेखि जुम्ली घोडाका व्यापारी दयाकृष्ण धरालाले भने, ‘पछिल्लो ३ वर्षयता व्यापार हातै घटेको छ ।’ ३ वर्षअघिसम्म ५५/६० घोडा/खच्चर बिक्री हँुदै आएका थिए । अहिले २० घोडा मुस्किलले बिक्री हुने गरेको उनले बताए ।


घोडा व्यापारी धरालाका अनुसार यो वर्ष जोलजिवी मेलामा १३ घोडा मात्र बिक्री भएका छन् । जुम्लाबाट ३५ घोडा जोलजिवी पुर्‍याए पनि फर्कने बेला बाटोमा बिक्री गर्दै जानुपर्ने अवस्था सृजना भएको उनको भनाइ छ । गत वर्ष जुम्लाबाट ३५ घोडा जोलजिवी मेलामा ल्याए पनि १८ मात्र बिक्री भएका थिए ।


२०७३ मा ४० घोडा मेलामा ल्याउदा २२ बिक्री भएका थिए । २०७२ मा ६० घोडा मेलामा ल्याउँदा ३० बिक्री भएको उनले जानकारी दिए । यसैगरी विगत ३/४ वर्षयता घोडा व्यापार ओरालो लागेपछि परम्परा जोगाउनकै लागि भए पनि जुम्लाबाट जोलजिवी मेलामा आउनुपर्ने बाध्यता भएको दु:ख धरालाले सुनाए ।


विगत २०/२५ वर्षदेखि जुम्लाका घोडा ल्याएर व्यापार गर्दै आएका जुम्ला चन्दननाथ नगरपालिका ८ का व्यापारी धरालाले घोडाको व्यापार यसैगरी हुने हो भने केही वर्षमै लोप हुने खतरा आंैल्याए । जुम्ला र बाजुरा जिल्लाबाट घोडाको व्यापारका लागि व्यापारी यहाँ आउँछन् । तर, पछिल्ला वर्षहरूमा घोडाको व्यापार ओरालो लाग्न थालेपछि चिन्तित भएका छन् ।


पछिल्ला वर्षमा घोडाको व्यापार निराशाजनक हुँदा परम्परागत रूपमा प्रचलित व्यापार संकटमा पर्ने उनीहरूको भनाइ छ । धरालासँगै घोडाहरूको व्यापार गर्ने जयबहादुर रोकाया दुर्गम ठाउँमा सडक सञ्जाल विस्तार हुँदा घोडा/खच्चरको व्यापार घटेको बताउँछन् । उनले भने, ‘दुर्गम ग्रामीण भेगका मानिसले सामान ढुवानीका लागि घोडा खरिद गर्थे । तर, पछिल्ला वर्षमा यातायातको विकास क्रम बढ्दा आफूहरूको व्यापार ओरालो लागेको हुन सक्छ ।’


‘सबै ठाउँमा सवारीसाधन सञ्चालन हुन थालिसकेका छन्,’ उनले भने, ‘यसले पनि घोडाको व्यापार घट्दै गएको हो ।’ सवारीसाधन र सामग्री ढुवानीमा प्रयोग गरिने घोडा पछिल्लो समय कम बेचिने गरेका छन् । सबैजसो स्थानमा मोटर चल्न थालेकाले घोडाको व्यापार कम हुँदै गएको उनको भनाइ छ ।


जोलजिवी मेलामा बिक्री नभएपछि पछिल्ला वर्षमा फर्कने बेला बाटोमा घोडाको बिक्री गर्नुपर्ने स्थिति सिर्जना भएको व्यापारी धरालाले बताए । ‘मेलामा घोडाको व्यापार ओरालो लागेदेखि नै आउने बेला ग्राहक खोज्ने र फर्कने समयमा बिक्री गरेर जान्छौं,’ उनले भने, ‘बाटोको व्यापार उधारोमा बिक्री गर्नुपर्ने भएकाले घाटा हुने गरेको छ ।’ सुरु–सुरुमा सबै घोडा मेला नै बिक्री हुन्थे । पछिल्ला वर्षमा बैतडी, बझाङ, बाजुरालगायत ठाउँमा बिक्री गर्दै गएको उनले जानकारी दिए ।


भारतमा सेप्टेम्बर १४ तारिखबाट लाग्ने उक्त मेला पछिल्ला वर्षमा मंसिर १ गतेबाट आयोजना गरिँदै आएको छ । विगतदेखि नै जोलजिवी मेलाको नेपालको मुख्य आकर्षक जुम्ली घोडा नै हो । विभिन्न स्थानीयदेखि स्वदेशी, विदेशी सामग्रीको व्यापार हुने हुँदा अन्तर्राष्ट्रिय स्तरमा पनि जोलजिवी मेलाको चर्चा हुने गरेको छ ।


भारतमा सुरुदेखि यो मेलालाई सरकारीस्तरबाट सञ्चालन गरिंदै आए पनि नेपालमा भने यसपालिबाट सरकारी तवरबाट सञ्चालन गरिन थालेको छ । मालिकार्जुन गाउँपालिकामा रहेका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण तथा प्रवद्र्धन गर्न र स्थानीय संस्कृति, भेषभूषा जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिन लागेको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्रसिंह धामीले बताए ।

प्रकाशित : मंसिर २२, २०७५ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?