धान खरिद केन्द्र सुनसान

रहलपहल धान पनि व्यापारीकहाँ, संस्थान हेर्‍याहेर्‍यै 
सरकारी लक्ष्यअनुसार धान खरिद गर्न समस्या

धनगढी र टीकापुर — कैलालीमा यो वर्ष धानको उत्पादन राम्रो भए पनि नेपाल खाद्य संस्थानले लक्ष्यजति खरिद गर्न नसक्ने भएको छ । ढिलो गरी धान खरिद गर्न सुरु गरेको संस्थानले मंसिरको तेस्रो सातासम्ममा ७ हजार क्विन्टल मात्रै खरिद गर्न सकेको जनाएको छ । 

धान खरिद केन्द्र सुनसान

‘सरकारले खरिद सुरु गर्ने बेलासम्म अधिकांश किसानले धान बेचिसकेको अवस्था थियो,’ संस्थानका क्षेत्रीय प्रमुख प्रेमनारायण भण्डारीले भने, ‘व्यापारीले धानको मूल्य बढाउँदा रहलपहल धान पनि नआउने जस्तो भएको छ ।’ उनका अनुसार खाद्य संस्थानले जिल्लाका विभिन्न ठाउँमा धान संकलन केन्द्र खोल्नेबित्तिकै व्यापारीले धानको मूल्य बढाए ।


संस्थानले मोटो धानको प्रति क्विन्टल २३ सय ३१ रुपैयाँ तोकेर जिल्लाका ५ ठाउँबाट धान खरिद गर्न सुरु गरेको थियो । भण्डारीले कैलालीबाट ५० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको बताए । यसअघि किसानबाट व्यापारीले १८/१९ सय प्रतिक्विन्टलमा धान खरिद गर्दै आएका थिए ।


‘संस्थानले ढिलै भए पनि धानको उचित मूल्य कायम गरी धान खरिद सुरु गरेका थियौं,’ भण्डारीले भने, ‘व्यापारीले १५/२० रुपैयाँ बढाएर संस्थानलाई आउने धान पनि रोकिदिएका छन् ।’ व्यापारीले अहिले २३ सय ५० प्रतिक्विन्टलमा धान खरिद गरिरहेका छन् ।


कैलालीको गेटा मोहनपुर, जोशीपुर, टीकापुर, सत्ती र भजनीमा संस्थानले धान संकलन केन्द्र खोलेर खरिद गरिरहेको थियो । धान कम खरिद भएपछि थप खरिद केन्द्र कैलालीको मनुवामा समेत संकलन केन्द्र खोलेको संस्थानका क्षेत्रीय प्रमुख भण्डारी बताउँछन् । धान खरिद मोहनपुर गेटाबाट कम भइरहेको उनले बताए । रहलपहल धानका लागि भए पनि एकपटक फेरि धानको मूल्य बढाउने मनस्थितिमा रहेको भण्डारीले जानकारी दिए ।


‘कैलालीमा किसानले समयमा धानको उचित मूल्य पाउन सकेन्न्,’ धनगढी कैलाली गाउँका देवनारायण चौधरीले भने, ‘सरकारले ढिलो गरी धान खरिद सुरु गरेकाले अधिकांश किसान धानको उचित मूल्य पाउनबाट वञ्चित हुनुपरेको हो ।’ उनका अनुसार कैलालीमा अधिकांश किसानमा धान भित्र्याउने बेला खेतबाटै बिक्री गर्ने चलन छ ।


‘वर्ष दिनलाई पुग्ने धान जति किसानले राखेर बाँकी आँगनबाटै व्यापारी वा सरकारी काँटामा लगेर बिक्री गर्ने चलन छ,’ चौधरीले भने, ‘अहिले किसानको धान सकिइसकेपछि सरकार खरिद गर्ने काँटा राख्छ ।’ संस्थानले मंसिरको पहिलो सातादेखि धान खरिद गर्न सुरु गरेको हो ।


चौधरीले संस्थानको केन्द्रबाट निर्देशन नै ढिलो आएको बताए । ‘ढिलो भएकोले लक्ष्यजति किसानबाट धान पाउन गाह्रो छ,’ उनले भने, ‘संस्थानले धान खरिद गरेपछि व्यापारीहरूले धानको मूल्य बढाएका कारण पनि लक्ष्यजति धान प्राप्त गर्न सकिँदैन भन्ने हो,’ भण्डारीले तर पनि अझै किसानसँग धान रहेको बताए ।


कैलालीमा यो वर्ष १५ प्रतिशतले धानको वृद्धि भएको छ । यो जिल्ला सुदूरपश्चिम प्रदेशको मात्रै नभएर नेपालकै प्रमुख अन्न उत्पादन हुने जिल्लामा पर्छ । कैलाली जिल्लामा ७२ हजार हेक्टरमा धान बाली लगाइन्छ । यस जिल्लाको धानको उत्पादकत्व दर ४.०५ मेट्रिक टन छ ।


गतवर्ष जति पनि खरिद भएन

कैलालीको पूर्वी भेग टीकापुर, सत्ती, भजनी र जोशीपुरमा गरेर करिब ७ हजार क्विन्टल मात्र धान खरिद भएको संस्थानको धान खरिद केन्द्र टीकापुरका प्रमुख जगतबहादुर कुँवरले बताए । उनले भने, ‘यो वर्ष गत वर्षको भन्दा धान धेरै फलेको रेकर्ड पनि छ तर धान आएन ।’


कुँवरका अनुसार धान खरिदमा केही ढिलाइ पनि भयो तर गत वर्ष पनि यही समयमा धान खरिद सुरु गरिएको थियो । गतवर्ष टीकापुर, सत्ती र भजनी ३ ठाउँमा लक्ष्यअनुसार ४५ हजार क्विन्टल धान खरिद भयो । विगतका वर्षझै यतिबेला जिल्लाको पूर्वी भेगका धान खरिद केन्द्र भरिभराउ हुनुपर्नेमा यो वर्ष सुनसान रहेको छ ।


खाद्य संस्थानमा धान बिक्रीका लागि किसान नआएपछि खरिद केन्द्रका कर्मचारी घाम तापेर बसेका देखिन्छन् भने धान तौलमा संलग्न रहने पल्लेदार तास खेलेर समय कटाइरहेका छन् । गत वर्षको तुलनामा यो वर्ष करिब १० दिन ढिला गरी धान किन्ने कार्य भएको हो । खाद्य संस्थानको केन्द्रबाट धान खरिदको निर्देशन आउन ढिलाइ भएकाले काँटा लाग्न ढिला भएको जनाइएको छ ।


यो वर्ष किसानले धान बिक्री गर्दा आफैंले उत्पादन गरेको धान भनी आफ्नो परिचय खुल्ने कागजातसहित स्वघोषणा फारम भर्ने प्रावधान राखिएको छ । दलालको धान खाद्य संस्थानमा सकभर नआओस् भन्ने चाहनाले यसो गरिएको खाद्य संस्थानले जनाएको छ ।

प्रकाशित : मंसिर २२, २०७५ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?