१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गाउँमै रोजगारी दिने योजना असफल

युवाहरूको विकास कार्यदल गठनको योजना ल्याएको नगरपालिका अन्तत: कार्यान्वयनमा असफल
मेनुका ढुंगाना

अछाम — मंगलसैन नगरपालिकाले ७ सय युवालाई रोजगारी दिन तामझामका साथ प्रचारप्रसार गरी अगाडि बढाएको युवा कार्यदल कार्यक्रम असफल भएको छ ।

नगरपालिका भित्रका युवालाई स्थानीय तहमै काम दिएर उनीहरूलाई विदेशिनबाट रोक्न युवाहरूको विकास कार्यदल गठनको योजना ल्याएको नगरपालिका अन्तत: कार्यान्वयनमा असफल भएको हो ।


‘युवालाई कामका आधारमा पारिश्रमिक दिने सत्ता पक्षको मत र तलब दिएर युवालाई रोजगारी नै दिनुपर्ने प्रतिपक्षको मत भएकाले योजना नै असफल भयो,’ नगरप्रमुख पदमबहादुर बोहराले शुक्रबार पत्रकार सम्मेलनमा भने, ‘कानुनी जटिलता, समुदायको असहयोग र राजनैतिक विषय बनाइएकाले काम गर्न सकिएन ।’ गत असार १० गते सम्पन्न भएको दोस्रो नगरसभाले समेत अनुमोदन गरेको विकास कार्यदलमा रोजगारीका लागि १८ वर्षदेखि ५० वर्ष उमेर समूहका मंगलसैन नगरपालिकाका ११ सय ३१ जनाले दरखास्त दिएका थिए ।


कार्यदलका सदस्यहरूले रोजगारी दिएर भवन, बाटो, कुलो, पानीको मुहान मर्मत, सरसफाइ र अवरुद्ध सडक मर्मतलगायत पूर्वाधार निर्माणका काममा उनीहरूलाई गाउँमा परिचालन गर्ने नगरपालिकाको योजना थियो ।


उपभोक्ता समिति, ठेक्कामार्फत गरिने काम र डोजरको प्रयोग पूर्णरूपमा बन्द गरिने उद्देश्यले नगरपालिकाले युवाहरूको कार्यदलको अवधारण ल्याएको दाबी गरेको थियो । ढाँटेर, ठगेर र कागज बनाएर रकम असुल्ने काम सबै बन्द गर्न कार्यदल गठनको अवधारणा ल्याएको नगरपालिकाले अब पुरानै शैलीमा उपभोक्ता समितिमार्फत काम गर्ने जनाएको छ ।


‘हाम्रा योजना असफल पार्न विभिन्न तत्त्वले असहयोग गरे । अब उपभोक्ता समिति वा टेन्डरमार्फत नै विकास निर्माणको काम अघि बढाउँछौं,’ नगर प्रमुख बोहराले भने । दरखास्तबाट उठेको १ लाख १३ हजार राजस्वसमेत युवालाई भेला गरेर वडाध्यक्षमार्फत फिर्ता गरिने वडा नम्बर ३ का अध्यक्ष पदम भाटले बताए ।


‘कार्यदलको काम सुरु कहिले हुन्छ भनेर दिनहुँ सोधिराख्ने युवालाई जवाफ दिँदादिँद थाकिसकेँ । उनीहरू आक्रोशित भएका छन्,’ उनले भने, ‘अब आफ्नो बुद्धि, विवेक प्रयोग गरेर स्थिति सामान्य बनाउनतर्फ लाग्छु ।’


दैनिक अनिवार्य ८ घण्टा काममा लगाएर मासिक १२ हजार पारिश्रमिक दिने योजना सार्वजनिक गर्दै नगरपालिकाले दरखास्त खुला गरेपछि भारतबाट समेत दरखास्त दिन आएका युवा कार्यदलको योजना असफल भएपछि आक्रोशित बनेका हुन् ।


कार्यदलमार्फत एउटा वडामा आवश्यकताका आधारमा २५ देखि ५० जनाको समूह बनाइने लक्ष्य थियो । उनीहरूलाई सुरुमा ६ महिनाका लागि करार नियुक्ति दिइने निर्णय गरेर लोकप्रियता कमाएको नगरपालिका ३ महिनामै असफल भएको जानकारी पाएका युवाहरू फेरि भारत जानेक्रम सुरु भएको छ ।


आर्थिक अवस्था कमजोर भएपछि मंगलसैन–४ का रोहित विक पढाइ अधुरै छाडेर भारतको मुम्बई गएका थिए । त्यहाँ मजदुरी गर्दै आएका उनी नगरपालिकाले युवालाई गाउँमै रोजगारी दिन लागेको खबर सुनेर घर आएका हुन् । नगरपालिकाले कार्यदल असफल भएको जानकारी गराएपछि फेरि यसै साता भारत फर्किने तयारीमा छन् ।


‘नगरपालिकाले रोजगारी दिने कुरा थाहा पाएपछि घर फर्केको हुँु,’ रोहितले भने, ‘पढाइ अधुरै छाडेर कामको खोजीमा भारत गएको थिएँ तर यता ३ महिना खाली बसेपछि नगरपालिकाले अब हुँदैन भनेपछि फेरि मुम्बई जान बाध्य भएँ ।’ रोहित मात्रै होइन, उनीजस्तै कामको खोजीमा भारतबाट फर्केका युवा धमाधम भारत फर्कंदै छन् ।


नगरपालिकाले अगाडि आश्वासन दिएर पछि धोका दिएको मंगलसैन ५ का पेमकला बजगाईंले बताइन् । ‘ऋण निकालेरै दरखास्तका लागि फोटो खिचेको, ३ महिनासम्म नगरपालिका धाएको कसैले देखेन,’ उनले भनिन्, ‘नगरपालिकाले युवाहरूको विश्वास गुमाएको छ ।’

प्रकाशित : मंसिर २२, २०७५ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?