१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘भगवान् भरोसा’ मा दुर्गमका गर्भवती

मोहन शाही

लाना, डोटी — बडीकेदार गाउँपालिका–५ केदारमाडौंका गर्भवती महिलाहरूले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूको अनुहार देखेकै छैनन् । यहाँ ४५ परिवार छन् । सबै मगर जाति । ५/७ सन्तान नजन्माउने दम्पती न्यून छन् ।

‘भगवान् भरोसा’ मा दुर्गमका गर्भवती

सबैका सन्तान घरमै जन्मेका । औंलामा गनिने मात्र लेखपढ गरेका छन् । जनचेतनाको निकै कमी, त्यसमा पनि गाउँदेखि स्वास्थ्य संस्था पुग्न पाँच घण्टा लाग्ने ।


‘यिनीहरू भगवान् भरोसामा छन्, अहिलेसम्म गाउँका कुनै महिलाले स्वास्थ्य संस्थामा बच्चा जन्माएका छैनन्,’ केदारमाडौं गाउँकी स्वास्थ्य स्वयंसेविका भावना पुनमगरले भनिन्, ‘सहरतिर जिरो होमडेलिभरी भन्ने नारा छ, हाम्रातिर जिरो हस्पिटल डेलिभरी छ ।’ स्वास्थ्य संस्था रहेको लानाको मार्कोट उनीहरूका लागि अपायक गाउँ हो । मार्कोटका स्थानीयसँग खानपान, रहनसहन र भाषा पनि मिल्दैन ।


स्वास्थ्य संस्था जानुभन्दा भगवान्सँग प्रार्थना गर्दै घरमै प्रसूति गराउन उनीहरू उचित सम्झन्छन् । भगवान्कै कारण अहिलेसम्म घरमै बच्चा जन्माउँदा पनि कसैको ज्यान नगएको जयप्रकाश घर्तीमगर बताउँछन् । उनी धिर्काणी देवताका कारण गाउँमा अनिष्ट नभएको विश्वास गर्छन् ।


घांगल जदी गाउँकी ३३ वर्षीया बिस्ना रोक्कामगरले गत वर्ष मृत छोरा जन्माइन् । ७ दिनसम्म उनको साल निस्केन । सीतादेवी बेहोस हुन थालेपछि मात्र परिवारले ४ घण्टा पिठ्युँमा बोकी घांगल स्वास्थ्य चौकी ल्याइपुर्‍याए ।


स्वास्थ्यचौकी इन्चार्ज भक्त ताम्राकारले ज्यान जोखिममा रहेको भन्दै साल झिक्न नेपालगन्ज रिफर गरे । नेपालगञ्ज गएपछि उनले पुनर्जन्म पाइन् । ‘कालको मुखबाट फर्केर आइन्,’ इन्चार्ज ताम्राकारले भने, ‘७ दिनसम्म मृत्यु पर्खने तर स्वास्थ्य संस्था नआउने परिवार उनीमात्र होइन, गाउँमा अझैं सयौं छन् ।’


घांगलकै लटाली गाउँकी मीना जेठाराको कथा पनि उस्तै छ । २६ वर्षीया मीनाले गत भदौमा घरमै छोरो जन्माइन् । बच्चा जन्मियो तर १८ घण्टासम्म साल अड्कियो । मीनालाई भीरको बाटो ३ घण्टा हिँडेर स्वास्थ्य संस्था लैजान परिवारले सकेनन् । ज्यान जान लागेपछि उनका श्रीमान्ले घांगल स्वास्थ्यचौकीबाट अनमी मनीषा साउदलाई गुहारे । घरमै पुगेर अनमी मनीषाले साल झिकिदिइन् र उनको ज्यान जोगियो ।


दुर्गम गाउँका यी नमुना घटनामात्र हुन् । जनचेतनाको अभाव र स्वास्थ्य संस्थामा पहुँच नहुँदा सयौं बिरामी उपचारबाट वञ्चित हुने गरेका छन् । गर्भवती महिला भौगोलिक कारणले घन्टौं पैदल हिंडेर स्वास्थ्य संस्था जानुभन्दा घरमै ‘भगवान् भरोसा’ कामना गरेर प्रसूति भइरहेका छन् । जिल्लामा यस्ता दर्जनौं गाउँ छन् जहाँका महिला घरमै सुत्केरी हुन बाध्य छन् ।


घांगलको स्वास्थ्यचौकी ।तस्बिर : मोहन/कान्तिपुर


इलाका स्वास्थ्यचौकी लानाकी इन्चार्ज बिस्ना बम चन्दले स्वास्थ्यचौकीमा उपचारका लागि आउन एक दिन लाग्ने गाउँ पनि थुप्रै रहेको बताइन् । साबिकको लानाकेदारेश्वर गाविसको वडा नं. १ को केदारमाडौं ५ को धारी तथा ६ नं. वडाको भवना गाउँका झन्डै डेढ सय घरबाट महिलाहरू गर्भवती हुँदा पनि स्वास्थ्य संस्था नआउने गरेको उनले बताइन् ।


‘अहिलेसम्म एक जनालाई पनि केही भएको छैन, दु:ख गरी किन अस्पताल जाने भन्ने धारणा पालेर नआउने पनि धेरै छन्,’ उनले भनिन्, ‘यथार्थमा बच्चा र आमाको स्वास्थ्यमा पर्ने असरबारे उनीहरूलाई प्रभावकारी कार्यक्रम ल्याएर बुझाउन सकेका छैनौं । बच्चाले दिसा खाएको, सेतो पानी बगिरहेको र जीउमा इन्फेक्सन भएको उनीहरूले चाल पनि पाउँदैनन् ।’


घांगलको पातल, मेहली, नाकोट, धारापानी, बग्र, पालासैन, गाजरी, जदी, लटालीलगायतका २ सय परिवारका गर्भवती महिला पनि स्वास्थ्य संस्था नआएर घरमै प्रसूति हुने गरेका छन् । घांगल स्वास्थ्यचौकी इन्चार्ज भक्त ताम्राकार भौगोलिक रूपले टाढा तथा जनचेतनाका कारण स्वास्थ्य संस्था नआउने भए पनि परिवार तथा गर्भवती महिलाले लापरबाही गर्नु मुख्य कारण रहेको बताउँछन् ।


भगवान्का डरले आउँदैनन् बिरामी
बडीकेदार गाउँपालिकाको वडा नं. ५ मार्कोटमा इलाका स्वास्थ्यचौकी छ । स्वास्थ्यचौकीको गतिलो भवन छ, दक्ष स्वास्थ्यकर्मी पनि छन् । गर्भवती महिलाका लागि आवश्यक छुट्टै प्रसूति कोठा, कुरुवाका लागि बन्दोबस्तीका आवश्यक सामग्री पनि छन् । तर त्यहाँ प्रसूति हुन खासै जान चाहँदैनन् । त्यसको एउटै कारण हो अन्धविश्वास ।


स्वास्थ्यचौकी भवनको दक्षिण क्षेत्र प्रसूति कोठा छ । त्यही कोठाको भित्तासँग जोडिएको डुणेबिगरगाणी मन्दिर छ । नजिकै मन्दिर भएकाले गर्भवती महिला स्वास्थ्य संस्था जान हिच्किचाउँछन् । ‘सुत्केरी महिला त भगवान्को ठाउँभन्दा पर नै बस्नुपर्छ भन्ने रुढिवादी सोच छ,’ अनमी बिस्ना बम चन्दले भनिन्, ‘धेरै जस्तो सुत्केरी कोठामा पस्नै मान्दैनन् । राति भगवान् रिसाउँछन् भनेर कुरुवा पनि बस्दैनन् ।’


स्वास्थ्यचौकीले तयार पारेको सामुदायिक अंक पत्रमा पनि स्वास्थ्यकर्मीहरूले सो कुरा उल्लेख गरेका छन् । गर्भवती महिला नियमित चेकजाँच गर्न नआउने तथा प्रसूति गराउन नआउने कारणमा नजिकै मन्दिर हुँदा अन्धविश्वासले गर्दा हो ।


स्थानीय चक्र बोहराले महिला महिनावारी हुने समयावधिलाई भन्दा प्रसूति भएको समयावधिलाई बढी छोइछिटो गर्ने रुढिवादी भएकाले मन्दिर नजिक नजाने चलन रहेको बताए । गर्भवती महिलाले साता दिनभन्दा बढी सुत्केरी भएका बेला मानिसलाई छुन नहुने, भगवान् तथा मठमन्दिरतिर हेर्न तथा जान नहुने कुसंस्कार छ ।


गाउँपालिकाको प्रोत्साहन कार्यक्रम

दुर्गम क्षेत्रका महिलाहरूलाई स्वास्थ्य संस्थाको पहुँचमा ल्याउन सरकारले विभिन्न आकर्षक कार्यक्रम वर्षाैंदेखि लागू गरेको छ । त्यसको कार्यान्वयन प्रभावकारी नभएपछि बडीकेदार गाउँपालिकाले गाउँगाउँमा रहेका महिला स्वयंसेविकाहरूलाई उपयोग गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ ।


गर्भवती महिलाहरूलाई नियमित चेकजाँच गराउन तथा प्रसूतिका समयमा स्वास्थ्य संस्था ल्याउनेलाई प्रोत्साहन रकम दिने गरेको कार्यपालिका सदस्य टोपबहादुर चन्दले बताए ।


स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका बस्तीहरूलाई लक्षित गरी स्वयंसेविकाहरूलाई विशेष तालिम र क्षमता अभिवृद्धि गरेर भिटामिन, नाभी मलम, कैँची, ब्लेड जस्ता डेलिभरीका बेला आवश्यक सामग्री उपलब्ध गराएर तयारी अवस्थामा राख्ने गरेको उनले बताए ।


प्रसूति हुनेबेला स्वास्थ्यचौकी ल्याउँदा स्वयंसेवकले गाउँपालिकाबाट ४ सय पाउँछन् । एक पटक स्वास्थ्य जाँच गराउन गर्भवती महिलालाई स्वास्थ्य संस्थामा ल्याएबापत प्रतिव्यक्ति ३ सय रुपैयाँ दिने निर्णय गरेको छ । यो कार्यक्रमले समुदायमा सुधार ल्याउन लागेको स्वयंसेविका भावना पुनमगर बताउँछिन् ।


त्यसबाहेक पायक पर्ने स्थानमा स्वास्थ्य इकाई स्थापनाका लागि पनि पहल भइरहेको वडाध्यक्ष विकास बिनाडीले जानकारी दिए । उनले केदारमाडाैं गाउँका महिलाहरूलाई लक्षित गरी वडा सदरमुकाम सिराडमा स्वास्थ्य इकाई सञ्चालनमा ल्याउन थालेको बताए ।


त्यस्तै ओखलढुंगा, मुलेचौरका बासिन्दालाई लक्षित गरी मुलेचौरमा पनि स्वास्थ्य इकाई स्थापना भएको छ । अन्यत्र पनि विस्तार गर्न अध्ययन भइरहेको छ ।

प्रकाशित : मंसिर २२, २०७५ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?