२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

पुस्तैनी पेसा बन्यो ज्योतिष

कञ्चनपुर — अहिलेको जमानामा धेरैको इच्छा हुन्छ निजामती सेवा । रोजगारसँगै मानसम्मान र राष्ट्रसेवा पनि । अलिकति पैसा हुनेले व्यापार व्यवसाय रोज्छन् ।

पुस्तैनी पेसा बन्यो ज्योतिष

उच्च शिक्षा हासिल गर्न नसकेका र आर्थिक अवस्था कमजोर भएकाहरू रोजगारी खोज्दै भौंतारिइरहन्छन् । तर, कञ्चनपुरको भीमदत्त नगरपालिका ३, भासीका मुरलीधर जोशी भने माथि उल्लेख गरिएभन्दा फरक भए । पुख्र्याैली पेसा ज्योतिषलाई निरन्तरता दिँदै उनले झन्डै ५ सय वर्षको इतिहासलाई जोगाएका छन् ।


भारत उत्तराखण्डको हरिद्वारबाट पूर्वमध्यमा (हाइस्कुल) सम्म अध्ययन गरेका उनले बुबा वंशीधरको बिँडो मात्रै सम्हालेनन् । ३८ पुस्तादेखि चलिरहेको ज्योतिषको कामलाई निरन्तरता दिए । हरिद्वारमा उनले संस्कृत मात्रै सिकेका हुन् । त्यहांँ बस्दा गुरुसँग लागेर उनी धर्मप्रचारक पनि बने । त्यसले पढाइ बिग्रिएपछि घर फर्केर बुबासँगै ज्योतिष विद्या सिके । अहिले उनी अठोला परिवारका नाम चलेका ज्योतिषमध्ये कहलिन्छन् ।


उनको घरमा व्रतबन्ध, विवाह, गृहप्रवेश, गृहनिर्माण शुभारम्भ आदिको शुभमुहूर्त हेर्न नेपालका विभिन्न जिल्ला र भारतबाट समेत आउने गरेका छन् । दैनिक ५/७ देखि १५/२० जनासम्म यहाँ आउने गरेको उनले सुनाए । उनका अनुसार कुनै दिन त दिनभरै भीड लाग्ने गर्छ ।


उनी सानैदेखि ज्योतिषशास्त्रसँग परिचित थिए । बाजे र बुबाले गरेको काम हेर्ने र धेरथोर सिक्ने अवसर पाए । यसले उनमा पुख्र्याैली पेसाको संरक्षण गर्नुपर्ने भावना जागेको थियो । लामो इतिहासलाई जोगाइराख्नु नै सफलता भएकाले सेवासँगै स्वरोजगार पनि हुने भएकाले उनले यसैमा जोड दिएका हुन् । ‘हाम्रा पुर्खाले विसं १५९८ देखि यो पेसा सुरु गरेका हुन्, अहिलेसम्म निरन्तरता छ,’ उनले भने, ‘४ सय ७७ वर्षको इतिहास जोगाउनु नै ठूलो उपलब्धि र चुनौती पनि हो ।’


मुरलीधरका बुबा वंशीधरले २०३८ सालमा अँठोला पञ्चांग प्रकाशित गरी भित्रेपात्रे, गोजीपात्रोलगायत प्रकाशन निकाल्न सुरु गरेका थिए । त्यतिबेलादेखि सुरु भएको अँठोला पञ्चांग अहिले पनि निरन्तर छ । नेपाल पञ्चांग समितिमा दर्ता र अनुमति लिएर नियमित प्रकाशित भइरहेको उनले बताए ।


यसलाई निरन्तरता दिन उनले छोरानातिलाई पनि ज्योतिषशास्त्र सिकाइरहेका छन् । ज्योतिष विद्या सिक्न चाहनेलाई पनि उनी सिकाइदिन्छन् ।


४ भाइमध्ये माइला मुरलीधरबाहेक अरू सबै विभिन्न पेसामा छन् । परम्परागत पेसालाई उनले नै निरन्तरता दिएका छन् । उनका पुग्ने अधिकांश ज्योतिष विद्याप्रति विश्वास र आस्था भएकाहरू नै हुन्छन् । ‘ज्योतिषशास्त्र प्रत्यक्ष विज्ञान हो, यसमा सबैको आस्था र विश्वास पनि छ,’ उनी भन्छन्, ‘मान्नेभन्दा जान्न (चिन्न) सके मात्रै यसको गरिमा अझ बढाउन सकिन्छ ।’


जोशी परिवार बैतडीको तत्कालीन रिम गाविसबाट २०२४ मा कञ्चनपुरको मंगलशेरामा बसाइँ सरेको हो । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु स्थापनाका क्रममा उनको परिवार विस्थापित भएपछि सट्टाभर्ना पाएर उल्टाखाममा पुन:स्थापना भयो । अहिले भीमदत्त नगरपालिकाको भासीमा उनको बसोबास छ ।


यसरी रह्यो अँठोला

तत्कालीन अस्कोट राज्यमा लख्खिम पाल राजा थिए । उनका विशेष सल्लाहकार ज्योतिषी दत्तदेव जोशी थिए । ज्योतिषसम्बन्धी वादविवाद हुँदा पालले अन्य सल्लाहकारलाई पनि बोलाउने गर्थे । एक दिन बिहान सबै सल्लाहकार प्रात:स्नान गरिरहेका थिए ।


स्नानका बेला ज्योतिष दत्तदेवले पूर्णिमा तिथि भनेर मन्त्र जप्दै स्नान गरिरहेका थिए । उक्त कुरा सुनेका अन्य ज्योतिष तथा गुरुलाई चित्त बुझेन । औंसीको दिन पूर्णिमाको मन्त्र जपेको भन्दै अन्यले स्नान नै बहिष्कार गरेको अँठोला वंशावलीमा उल्लेख छ ।


उक्त घटनाप्रति राजा लख्खिमले दत्तदेवलाई बोलाएर सोधपुछ गरे । दत्तदेवले आफ्नो मुखबाट पूर्णिमा निस्केकाले पूर्णिमा नै भएको उत्तर दिए । ‘मेरो मुखबाट पूर्णिमा निस्क्यो, आज पूर्णिमा नै हो,’ दत्तदेवको भनाइ वंशावलीमा उल्लेख छ । त्यसपछि राजाले पूर्णिमा देखाउन चेतावनी दिए । दत्तदेवले ध्यान गरेर चन्द्रमालाई बोलाइदिए । त्राटकद्वारा प्रकाश दिलाए । आफूले भनेको कुरा प्रमाणित गरेपछि उनलाई अटल भन्न थालियो । त्यसपछि उनको वंश नै अटल भयो । त्यही अटल अपभ्रंश भई अँठोला हुन गएको हो ।

प्रकाशित : मंसिर २३, २०७५ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?