१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

महेन्द्रनगर–देहरादुन बस सेवा

कञ्चनपुर — नेपाल–भारत मैत्री सेवाअन्तर्गत शनिबारबाट महेन्द्रनगर–देहरादुन बस सेवा सुरु भएको छ । सुदूरपश्चिम प्रदेशका वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल र भारत उत्तराखण्ड राज्यका विधायक पुष्करसिंह धामीले संयुक्त रूपमा बस सेवाको उदघाटन गरे ।

महेन्द्रनगर–देहरादुन बस सेवा

महाकाली यातायात व्यवसायी प्रालि र उत्तराखण्ड परिवहन निगमले मैत्री बस सेवा सञ्चालनको सम्झौतासँगै रुट परमिट प्राप्त गरेका छन् । महेन्द्रनगर र देहरादुनबाट दैनिक २/२ बस चल्नेछन् । दुवैतर्फबाट हरेक दिन सांँझ बस छुट्ने समयतालिका छ ।


राज्यमन्त्री रावल र सीमावर्ती क्षेत्रका विधायक धामीले हरियो झन्डा देखाउनुका साथै रिबन काटेर बस सेवा सुरु भएको घोषणा गरे । ‘मैत्री बस सेवाले दुई देशबीचको सम्बन्ध बलियो बनाउनुका साथै व्यापार, व्यवसाय, रोजगार र पर्यटन क्षेत्रको विकासमा समेत सहयोगी बन्नेछ,’ राज्यमन्त्री रावलले भने, ‘देहरादुन नेपालीभाषीहरूको बसोबास भएको क्षेत्र हो, यस कारण पनि महेन्द्रनगर–देहरादुन बस सेवा अझ महत्त्वपूर्ण छ ।’ उनले उत्तराखण्डका विभिन्न धार्मिक क्षेत्रमा आउने पर्यटकलाई नेपाल भित्र्याउनसमेत मैत्री बस सेवा उपयुक्त माध्यम बन्न सक्ने बताए ।


‘यो मैत्री बस सेवाले दुई देशबीचको मित्रतालाई अझ प्रगाढ बनाउनेछ,’ उदघाटन सत्रमा बोल्दै भारत उत्तराखण्डको उधमसिंहनगरका विद्यायक धामीले भने, ‘सुदूरपश्चिम र उत्तराखण्डमा रहेको धार्मिक, रीतिरिवाज र रहनसहनको एकतालाई झन् बलियो बनाउनेछ ।’ उनले राजनीतिक रूपमा दुई देशबीच सीमांकन गरिए पनि भावनात्मक रूपमा कुनै सीमा नरहेको बताए ।


महेन्द्रनगरदेखि ३ सय ७० किलोमिटरको दूरीमा रहेको देहरादुनसम्मका लागि १ हजार २५ रुपैयाँ (भारु ६ सय २५) टिकट निर्धारण गरिएको छ । हरेक दिन महाकाली यातायात व्यवसायी प्रालि र उत्तराखण्ड परिवहन निगमका एक/एक बस महेन्द्रनगरबाट र एक/एक बस देहरादुनबाट गुड्नेछन् ।


४ महिनाअघि पनि महेन्द्रनगर–देहरादुन बस सेवा सुरु भएको थियो । तर, त्यतिबेला महाकाली यातायात प्रालिले रुट परमिट नपाएका कारण एकतर्फी रूपमा उत्तराखण्ड परिवहन निगमको बस मात्रै सञ्चालनमा थियो । उक्त बस पनि केही दिन सञ्चालन भएर बन्द हुन पुग्यो । पछिल्लोपटक दुवैतर्फका बसको रुट परमिट प्राप्त भएपछि शनिबारदेखि पुन: मैत्री बस सेवा सुचारु गरिएको हो ।


उदघाट्न समारोहमा भारत सरकारबाट प्राप्त परमिटपत्र विधायक धामीले र नेपाल सरकारका तर्फबाट प्राप्त पत्र प्रदेश राज्यमन्त्री रावलले प्रालिका अध्यक्ष डम्मर पन्तलाई हस्तान्तरण गरे । महाकाली यातायात प्रालि र भारतको उत्तरप्रदेश परिवहन निगमबीच सम्झौता भई तीन वर्षदेखि महेन्द्रनगर–दिल्ली बस सेवा पनि सञ्चालनमा छ ।


सीमा क्षेत्रमा यात्रुहरूमामाथि हुने दुव्र्यवहारमा पनि कमी आउने अपेक्षा गरिएको छ । सीमा क्षेत्रमा सञ्चालन हुने सवारी चालकबाट लुटिने, ठगिने र बढी भाडा लिने गतिविधिमा कमी आउने व्यवसायीहरू बताउँछन् ।

प्रकाशित : मंसिर २३, २०७५ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?