कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेचबिखन जोखिममा महिला–बालबालिका

भवानी भट्ट

कञ्चनपुर — पछिल्लो एक वर्षको अवधिमा जोखिममा रहेका १ सय ९५ महिला र बालबालिकालाई सीमा क्षेत्रबाट फर्काइएको छ । विभिन्न बहानामा भारत लगिँदै गरेकाहरूलाई पश्चिमी सीमा नाकाबाट फर्काइएको हो ।

माइती नेपाल कञ्चनपुरले गड्डाचौकी र महाकालीको झोलुंगेपुलबाट भारत लगिन लागेकाहरूलाई रोकेर आफन्तको जिम्मा लगाएर घर फिर्ता पठाएको हो । सीमाबाट घर फर्काइएका मध्ये १ सय १२ जना सुदूरपश्चिम प्रदेशका छन् ।


‘यहांँको नाकाबाट जोखिममा परेका ३९ जिल्लाका महिला तथा बालबालिकाहरूलाई फिर्ता पठाएका छौं,’ शनिबार वार्षिक गतिविधि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले भनिन्, ‘सबैभन्दा बढी सुदूरपश्चिमकै छन् ।’


माइती नेपालले सीमाबाट फर्काइएकामा सबैभन्दा बढी कञ्चनपुरका ३७, कैलालीका ३२, अछामका १९ र सुदूरपश्चिमका अन्य जिल्लाका २४ जना रहेका छन् । भारतसँगै सीमा जोडिएको दार्चलाका ४ जनासमेत गड्डाचौकी नाकाबाट फर्काइएको संयोजक भट्टले बताइन् । ‘सामाजिक सञ्जाल र मोबाइल फोनको दुरुपयोगका कारण किशोरीहरू बढी जोखिममा परेका छन्,’ उनले भनिन्, ‘फेसबुक र फोनबाट सम्पर्क भई मान्छे नदेखेरै घर छाडी हिँडेकाहरूलाई नाकाबाट फिर्ता गरेका छौं ।’


माइती नेपालले अवैध रूपमा भारतीय बाटो हुँदै तेस्रो मुलुक पठाइदिने भन्दै लगिन लागेका ३३ जनालाई घर फिर्ता पठाएको छ । उनीहरूलाई पनि सीमा क्षेत्रमा सोधपुछका क्रममा रोकेर फिर्ता पठाएको हो ।


उनीहरूमध्ये कुबेत जाने १५, संयुक्त अरब इमिरेट्स जाने ११ र ७ जना अन्य विभिन्न देश जान लागेका रहेका छन् । मानव बेचबिखनका २ वटा मुद्दा जिल्ला अदालतमा दत्र्ता भएको संयोजक भट्टले बताइन् ।

२०१८ मा मात्रै माइती नेपालले भारतका विभिन्न ठाउँबाट ९ जना महिला तथा बालबालिकाहरूलाई उद्धार गरी पुन:स्थापना गरेको छ ।


पन्जाबबाट २, हल्द्वानी, दिल्ली, मझौला, खटिमा र बैंग्लोरलगायतका ठाउँबाट एक/एक जनाको उद्धार गरिएको हो । भारतीय सुरक्षाकर्मी र विभिन्न संघ संस्थाको सहयोगमा महिला तथा बालबालिकाहरूलाई उद्धार गरिएको उनले बताइन् ।


महिला तथा बालबालिकालाई विगतमा दिल्ली, बैंग्लोरलगायतका सहरमा लगिने भए पनि हालका वर्षका नयांँ ठाउँहरू देहरादुन, पिथौरागढ र हल्द्वानीमा समेत पुर्‍याइन लागेको माइती नेपालको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।


एक वर्षमा मात्रै माइती नेपालमा १ सय ५८ जना हराएको निवेदन परेको छ । जसमध्ये २९ जना भेटिएको र बांँकी अझै बेपत्ता रहेको संयोजक भट्टले बताइन् । माइती नेपालले रोकथाम तथा परामर्शका लागि गड्डाचौकी र दोधारा चांँदनी जोडने झोलुंगे पुलमा पोस्ट राखेको छ ।


झोलुंगे पुलमा वैशाखदेखि सुरु भएको पोस्टले १० जनालाई रोकेको जनाएको छ । अहिले पनि भूकम्पप्रभावित क्षेत्रका महिला तथा बालबालिकाहरू जोखिममा रहेको माइती नेपालको प्रतिवेदनले देखाउँछ । ‘भूकम्पले घर सबै भत्कायो, खान–लाउनै छैन के गर्ने भन्दै जोखिमयुक्त रूपमा भारत जान खोज्ने आउँछन्,’ संयोजक भट्टले भनिन्, ‘उनीहरू कहांँ जाने, के गर्ने भन्नेसमेत थाहा नपाएरै आउँछन् ।’

प्रकाशित : मंसिर २३, २०७५ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?