१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

भटमास बेचेर चामल

मनोज बडु

हुती, दार्चुला — ब्याँस गाउँपालिका ६ हुतीकी विमला कुँवर एक बिहान झिसमिसेमै मकैको भारी बोकेर सीमापारि राउती बजार पुगिन् । सोधिन्, ‘घोगा (मकै) कति रुपैयाँमा राख्छौं ?’ साहुले जवाफ फर्काए, ‘२० रुपैयाँ भारु ।’

भटमास बेचेर चामल

व्यास गाउँपालिका ६ बसेडीका ४५ वर्षीय संग्राम भट्ट पनि भटमास बिक्री गर्न राउती बजार नै पुग्छन् । उनी पनि विमलाले झैं भटमास बिक्री गरी चामल किन्छन् ।


‘विगतमा स्वदेशको बाटो प्रयोग गरी सदरमुकाम पुगेर भटमास बिक्री गथ्र्यौं,’ संग्रामले भने, ‘अहिले भारतीय बजार जान्छौं ।’ उनीहरू भटमासलगायत स्थानीय उपज बिक्री गरेर चामल, नुन, पिठो र तेललगायत खरिद गर्छन् । सुरुमा एक किलो भटमासको एक किलो चामल पाइन्थ्यो ।


अहिले नगदमा बिक्री गरेर चामल किनिन्छ । उनले भने, ‘स्थानीयस्तरमा बजार नहुँदा उत्पादित वस्तु विदेशमा बिक्री गर्नुपर्ने बाध्यता छ । भारतीय बजारमा यहाँको रैथाने कालो भटमासको माग बढी छ । कालो भटमास प्रतिकिलो ७५ रुपैयाँ भारुमा बिक्री हुने स्थानीयले बताए ।


विमलाले यो वर्ष करिब एक क्विन्टल मकै र ५० किलोग्राम भटमास भारतीय बजारमा बिक्री गरी १ क्विन्टल जति चामल किनेको बताइन् । स्थानीयस्तरमा उत्पादन गरेको वस्तुमा पोषिलो पदार्थ पाइनेबारे ज्ञान नहुँदा यहाँका स्थानीय मकै बिक्री गरी पिठो र भटमास बिक्री गरेर चामल किन्ने परम्परा छ । विमला र संग्राम मात्र नभई यो क्षेत्रका स्थानीय बर्सेनि यो सिजनमा स्थानीय उत्पादन बिक्री गर्ने गर्छन् ।


हिउँदभरिका लागि चामल र पिठोको जोहो गरिसकेको हुनाले बजार जाने झन्झटबाट मुक्ति पाइएको विमलाले सुनाइन् । श्रीमान् विदेश गएकाले बजार आवतजावत आफैंले गर्नुपर्छ । ‘यहाँको खेतमा धान खासै उत्पादन हुँदैन । भात खाने बानी परेको हुनाले चामल किन्नुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘अन्य आयस्रोत खासै नहुँदा यहाँ उत्पादन हुने वस्तु बिक्री गरी आवश्यक वस्तु खरिद गरिरहेका छौं ।’


मकै र दलहन यहाँका स्थानीय सीमावर्ती बजार पुर्‍याउँछन् । ब्याँस गाउँपालिकाको हुती, धौलाकोट, सुन्सेरालगायतका ठाउँहरूमा मकै, भटमास बढी उत्पादन हुने हुँदा विगतदेखि यी वस्तु बिक्री गरेर चामल खरिद गर्दै आएका छन् ।


‘गाउँबाट सदरमुकाम खलंगा निकै टाढा भएकाले सहजताका लागि नजिकका भारतीय सीमावर्ती बजारमा स्थानीय वस्तु बिक्री गर्दै आएका छौं,’ हुतीका स्थानीय रमेशराज भट्टले भने, ‘स्थानीयस्तरमा व्यापारी तथा कुनै निकायले खरिद नगर्दा न्यून मूल्यमा स्थानीय उत्पादन बिक्री गर्न बाध्य छौं । स्वदेशमा सडकको पहँच नपुगेको हुँदा यहाँको सबै उत्पादन भारतमा बिक्री गरी पछि त्यही वस्तुबाट तयारी चीज किन्छौं ।’

प्रकाशित : मंसिर २३, २०७५ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?