१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

गाईगोरुका डरले जडीबुटी खेती

गणेश चौधरी

टीकापुर — छाडा गाईगोरुले अन्नबाली नष्ट गर्न थालेपछि यहाँका किसान जडीबुटी खेती लगाउन थालेका छन् । क्यामोमाइल, मेन्था, लेमन ग्रास लगायत जडीबुटी गाइगोरुले नरुचाउने र आम्दानी पनि राम्रै हुने भएकाले खेतीमा जोड दिएका हुन् ।

गाईगोरुका डरले जडीबुटी खेती

टीकापुर नगरपालिका–१ बनगाउँका किसान दिलबहादुर चौधरी भन्छन्, ‘अन्नबाली लगाएर ढुक्क हुने अवस्था छैन । गत वर्ष सयौं छाडा गाइगोरुले एकै दिन पुरै बाली सखाप बनाइदिए । त्यसैले यसपाली क्यामोमाइल लगाए ।’ रानी जमरा कुलरिया सिँचाइ आयोजनाले कैलालीको टीकापुर क्षेत्रमा अन्नबाली उत्पादनका लागि सिँचाइ सुविधाका साथै कृषिमा पनि लगानी गर्दै आएको छ ।


छाडा गाईगोरुले बाली सखाप बनाइदिन थालेपछि कतिपय किसानले गहुँ नलाएर जडीबुटी लाएको नमुना कृषि सहकारी संस्थाका अध्यक्ष जीतबहादुर चौधरीले बताए । ‘मेरो करिब २ कट्ठाको काउली सबै छाडा गाइगोरुले खाइदिए । कसरी खेती गर्नु,’ उनले भने । धानबालीपछि लगाइने तोरी, मसुरो र गहुँ लगायत हिउदे बालीको तुलनामा आम्दानी पनि राम्रो हुने भएकाले किसानहरू क्यामोमाइल नै लगाउने गरेको बताउँछन् ।


जडीबुटी खेती बढेकाले टीकापुरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रले यो वर्ष प्रशोधनका लागि आधुनिक मेसिन राखेको छ । प्रशोधन केन्द्रका शाखा प्रमुख कमल बेलवासेले प्रशोधनका लागि १ करोड ३६ लाख लागतमा नयाँ मेसिन जडान गरिएको बताए ।


जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले किसानलाई बिउ, प्राविधिक सल्लाह र प्रशोधन निशुल्क रुपमा उपलव्ध गराउने भएको छ । किसानलाई यो खेतीमा सजिलो हुनुका साथै आम्दानी पनि बढी हुने कम्पनीका टीकापुर शाखा प्रमुख बेलवासेले बताए । उनले भने, ‘सुरु सुरुमा किसानहरूलाई यो खेतीका लागि पटक पटक अनुरोध गर्नुपरे पनि अब भने किसान आफैं बीउ र प्राविधिक सल्लाहका लागि आउने गरेका छन् ।’


बेलवासेका अनुसार कम्पनीले टीकापुरमा क्यामोमाइल र मेन्थाको खेती विस्तार र प्रशोधन गर्दै आएको छ । किसान बढदै गएपछि टीकापुरमा रहेको प्रशोधन मेसीनले धान्न सक्ने अवस्था रहेन । नयाँ अत्याधुनिक प्रशोधन मेसीन जडान गरियो ।


उनका अनुसार गत वर्ष क्यामोमाइलको तेल ९० किलो र मेन्थाको तेल १ हजार ३ सय ८६ किलो उत्पादन गरिएको थियो । कम्पनीले प्रशोधित तेल सन्चो, मसाज तेल लगायत बस्तु उत्पादन गर्छ । बढी भएको प्रशोधित तेल देशी विदेशी कम्पनीमा बिक्री वितरण गरिनेछ ।


जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले यहाँका स्थानीयलाई रोजगार पनि दिएको छ । कम्पनीको टीकापुर शाखामा २४ जना दैनिक ज्यालादारीमा, एक जना करार र ५ जना स्थायी कर्मचारी छन् । टीकापुरको औद्योगिक क्षेत्रमा यो एउटा मात्र उद्योग राम्रो रुपमा सञ्चालनमा छ ।

प्रकाशित : मंसिर २४, २०७५ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?