१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सडक नाटक प्रभावकारी

डोटी — लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा कतै बहस कार्यक्रम चलाइए । कतै अन्र्तक्रिया । जसले जसरी मनाएपनि शिक्षक भक्त जेठाराका लागि भने प्रभावकारीे बन्यो, सडक नाटक ।

‘अन्य कार्यक्रममा सहभागीलाई लिखित रुपमै निम्ता दिएर बोलाउनुपर्छ, तैपनि उपस्थिती न्यून हुन्छ,’ उनले भने, ‘सडक नाटक सुरु गरेमा पलभरमै दर्शक जम्मा हुन्छन् । सुरुदेखि अन्तसम्मै झुम्मिएर चासो राख्छन् ।’


केआईसिंह, पूर्वीचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकालगायत स्थानीय तहमा लैंगिक हिंसाविरुद्ध जनचेतना जगाउन बाल क्लबहरूले सडक नाटकको आयोजना गरे । वायलमा भने बालविवाहविरुद्ध सडक नाटक नै मञ्चन गरियो ।


‘सडक नाटक निकै प्रभावकारी भयो, दर्शक बिना आमन्त्रण पनि जम्मा भए,’ १६ दिने अभियान मनाउन प्राविधिक तथा आर्थिक सहयोग गरेको पहल कार्यक्रमका सुशासन अधिकृत दिपक ओझाले भने, ‘गाउँपालिकामा बालविवाहको विषयमा चर्को रुपमा कुरा उठिरहेका बेला सडक नाटकले महत्वपूर्ण भूमिका खेल्यो ।’ सडक नाटक हेर्न गाउपालिकाका जनप्रतिनिधी र कर्मचारीसमेत आए ।बालकलाकारलाई हौसला दिएर गए ।’


झिमेमालिका मावि वायलमा अध्ययनरत कलाकार सरिता विश्वकर्माले १६ वर्षीया सहपाठीको बालविवाह भइरहेको खबर पाएपछि गाउँमा सडक नाटक देखाएको बताइन् । उनले जबर्जस्ती विवाह गर्दा त्यसले पार्ने प्रभाव र कानुनी व्यवस्थाबारे सडक नाटक मार्फत कुरा राखेकी थिइन् ।


सडक नाटक रोचक, ग्रामीण बोलीभाषा र समसामयिक भाषामा उतार गर्न सकिने भएकाले बढी प्रभावकारी हुने नाटककार धन बहादुर मल्लले बताए । धार्मीक तथा पौराणीक बिषयबस्तुमाथि मञ्चमा प्रस्तुत हुने नाटक ब्यावसायीक रुपमा अघि बढ्न नसकेपनि त्यसैको सानो अंशका रुपमा मानिने सडक नाटकले बजार लिन थालेको उनको भनाई छ ।


पछिल्लो समय सडक नाटकलाई संघसंस्थाहरूले विभिन्न जनचेतनामूलक अभियानहरूमा उपयोग गर्ने गरेको गैरसरकारी संस्था महासंघ डोटीका अध्यक्ष रघु कठायतले बताए । स्रोता दर्शकहरूले नेताको भाषणभन्दा कलाकारहरूका कुरामा बढी रुचि राख्ने भएकाले जनचेतनामूलक विषयवस्तु सर्वसाधरणलाई बुझाउन सजिलो हुने उनको भनाइ छ ।


सडक नाटकमा पछिल्लो समय बालबालिका बढी आकर्षित छन् । गाउँपालिका तथा वडास्तरमा विभिन्न संघसंस्थाले गठन गरेका बालक्लबहरू कुनै न कुनै माध्यमबाट सडक नाटकमा सहभागी हुने गरेको केआईसिंह गाउँपालिका उपाध्यक्ष मिना बिष्टले बताइन् । ‘केहीले आम्दानी पनि गर्छन्, सामान्य पढाइ खर्च पनि आउँछ,’ दुर्गामाडांै बालक्लब संजालकी सदस्य ललिता कुँवरले भनिन्, ‘दुई दिनअघि मात्र हामीलाई विषयवस्तु दिएमा सडक नाटक सहजै तयार गर्न सक्छौं ।’


उनले बालविवाह, घरेलु हिंसा, छाउपडी प्रथा, मदिराको विकृतिजस्ता आधा दर्जन विषयवस्तुमा सडक नाटकमा भूमिका खेलेकी छन् ।

प्रकाशित : मंसिर २४, २०७५ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?