बस्ती नजिक डम्पिङ

मेनुका ढुंगाना

अछाम — सदरमुकामबाट संकलित फोहोर बस्ती नजिक डम्पिङ गर्न थालिएपछि स्थानीय बासिन्दा मर्कामा परेका छन् । 

मंगलसेनबाट झन्डै ७ किलोमिटर टाढा सिराडीमा फोहोर फाल्न थालिएको छ । फोहोरले त्यस आसपासका गाउँमा दुर्गन्ध फैलिएको छ ।


नगर स्थापना भएको ४ वर्ष बिते पनि हालसम्म फोहोर फाल्ने ठाउँको उचित व्यवस्थापन गरिएको छैन । बस्तीबाट निस्कने फोहोर व्यवस्थापन हुन नसक्दा स्थानीय मर्कामा परेका छन् । ५ वर्षअघि स्थानीयले जग्गा दान गरी निर्माण गरिएको डम्पिङ साइटमा खुला रूपमा फोहोर फाल्ने गरिएको छ । त्यो व्यवस्थित नहुँदा समस्या भएको हो । फोहोरका कारण नजिकै रहेको धार्मिक क्षेत्र र आसपासमा रहेका आधा दर्जन गाउँ प्रभावित भएका छन् ।


डम्पिङ साइटको तल पानीको मुहान भएकाले बर्खामा खोलाको पानीमा फोहोर मिसिने समस्यासमेत उत्तिकै रहेको स्थानीय खकेन्द्र भण्डारीले बताए । ‘गाउँको छेउमा फोहोर हुँदा नाक थुनेर हिँड्नुपर्ने अवस्था छ । बजार क्षेत्रबाट निस्किएको फोहोरलाई एकै ठाउँमा राख्दा झन् समस्या भएको छ,’ उनले भने ।


उक्त खोलाको पानी दर्जनौं गाउँका स्थानीयले गाईगोरुलाई खुवाउने, नुहाउने, लत्ताकपडा धुने लगायतका काममा प्रयोग गर्छन् । जिल्ला सदरमुकाममा जम्मा भएको फोहोर फाल्ने डम्पिङ साइट गाउँको बीच क्षेत्रमा र सडक छेउमा रहेको भन्दै अर्को स्थानमा सार्नुपर्ने वा व्यवस्थित गर्नुपर्ने स्थानीय बासिन्दाको माग छ ।


डम्पिङ साइटमा खुला रूपमा फोहोर फाल्नाले कुकुर–स्यालहरूको आतंक बढेको स्थानीयबासीको गुनासो छ । गाउँ जाने सडक छेउमै डम्पिङ साइट भएका कारण ओहोर–दोहोर गर्ने यात्रु समेत दुर्गन्धबाट निकै प्रभावित हुने गरेका छन् ।


नगरपालिकामा फोहोर फाल्ने ठाउँको अभाव रहेकाले फोहोर व्यवस्थापनमा चुनौती देखिएको मंगलसेन

नगरपालिकाका मेयर पदमबहादुर बोहराले जानकारी दिए । जग्गा र डम्पिङ साइट निर्माणका लागि बजेट अभावले समस्या पारिरहेको उनले बताए । फोहोर व्यवस्थापनका लागि डम्पिङ साइटको खोजी गरिए पनि अहिलेसम्म फेला पार्न नसकेको उनको भनाइ छ ।


‘नगरपालिकाभित्रका पन्ध्रभन्दा बढी ठाउँमा जग्गा खोजियो । तर स्थानीयले दिन मानेनन्,’ उनले भने, ‘बजेट अभावका कारण अहिलेको डम्पिङ साइटमा काम गर्न सकेका छैनौं । गुजारा चलाए जस्तो मात्रै भएको छ ।’ तर जिल्लाको फोहोर व्यवस्थापनमा नगरपालिकाले गम्भीर भएर ध्यान दिन नसकेको स्थानीयको आरोप छ ।


स्थानीय तहको निर्वाचनभन्दा अगाडि नै मंगलसेन नगरपालिकाले ३ करोड ८५ लाखमा डम्पिङ साइट निर्माण गर्ने गरी उपभोक्ता समितिमार्फत काम अघि बढाएको थियो । तर, हालसम्म २० लाख बराबरको मात्रै काम भएकाले बाँकी रकम फ्रिज गएको वडा नम्बर ६ का वडाध्यक्ष जनकराज भण्डारीले बताए ।

प्रकाशित : मंसिर २६, २०७५ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?