दुर्गममा पढाइ मेला

मोहन शाही

डोटी — बडीकेदार गाउँपालिकाको मेलघटी आधारभूत विद्यालयमा छुट्टै चहलपहल थियो । जिल्लाभरका विद्यार्थी, शिक्षक, अभिभावकहरूको उस्तै जमघट ।

दिनभर नाचगान त भयो नै, पढाइसम्बन्धी थरीथरीका स्टलहरूले वातावरण नै अनौठो बनायो । पढ्ने, पढाउने विभिन्न कला, सीप र प्रस्तुति देखेर सबै आकर्षित भए । गाउँपालिकाले आयोजना गरेको पढाइ मेलामा पढाइसम्बन्धी विभिन्न स्टलहरू राखिएका थिए ।


मेलामा बर्छैन माविकी कक्षा ९ मा अध्यनरत छात्रा सरस्वती चन्द आलुबाट बिजुली निकालेको देखेर छक्क परिन् । जिब्रो टोक्दै उनले आलुबाट निकालेको बिजुली हेर्न सहपाठीहरूलाई बोलाइन । उनकै विद्यालयका कक्षा १० मा पढ्ने विद्यार्थीहरूले आलुबाट बिजुली निकालेर देखाएका थिए । ‘मैले यस्तो कल्पना नै गरेको थिइनँ, आलुमा हुने फस्फोरस र एसिडबाट बिजुली निकाल्न सकिँदो रहेछ,’ उनले भनिन्, ‘आफ्नै विद्यालयका दाइहरूको प्रतिभा मेलामा आएर मात्र थाहा पाए ।’


केदारेश्वर माविका कक्षा ४ मा पढ्ने पदम बोहरा पनि पनि सोमबार उत्साहित देखिन्थे । मेलामा घोडालाई अचम्मले सिंगारिएको थियो । घोडाका वरिपरि विभिन्न कथा, कविता, सामान्य ज्ञान भएका पुस्तकहरू झुन्डयाइएका थिए । ‘मैले दुईवटा रमाइला गाउँखाने कथा पढे,’ पदमले भने, ‘अक्षरपत्ति भएको स्टल पनि रमाइलो लाग्यो, मन मिल्ने साथीको नाम लेखेर केहीबेर खेले ।’


मेलामा स्थानीय जडीबुटीहरू, पाठ्यक्रम बाहिरका ज्ञानबद्र्धक पुस्तकहरू, विभिन्न विद्यालयका विद्यार्थीहरूले बनाएका कलात्मक घरेलु तथा कृषि सामग्रीहरू, कला चित्र, विभिन्न खेलकुदसम्बन्धी स्टलहरू राखिएका थिए ।


जिल्लाभरिका करिब ३ हजार विद्यार्थी, अभिभावक र शिक्षक मेला हेर्न आएका थिए । ‘विद्यालयको भित्ता बाहिर पनि ‘विद्यार्थीहरूलाई पढाउनुपर्छ’ भन्ने सन्देश दिन पढाइ मेलाको अवधारणा पछिल्लो समय विश्वभर आएको छ,’ शिक्षा विकास तथा समन्वय इकाई प्रमुख अनन्त कुमार पौड्यालले भने, ‘मेलाबाट शिक्षक, विद्यार्थी र अभिभावकले कक्षाकोठाबाहिर पनि सिक्ने कला कौशल र विषयवस्तु हुन्छन् भन्ने कुरा सँगसँगै बसेर जान्ने बुझ्ने मौका पाए ।’


बडीकेदार जिल्लाको दुर्गम गाउँपालिका हो । दुर्गम गाउँमा आयोजना गरिएको पढाइ मेलाबाट स्थानीय जनप्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूसमेत हौसिएका थिए ।


‘यसलाई अब गाउँपालिका तथा वडास्तरमा पनि आयोजना गर्नुपर्छ,’ मेलघटी मावि व्यवस्थापन समितिका अध्यक्ष प्रकाश थापाले भने, ‘पढाइ कसरी गुणस्तर बनाउने, विद्यार्थीहरूको सिकाइस्तर कसरी उकास्ने भन्ने विषयमा विशुद्ध गैरराजनीतिक कार्यक्रम भएकाले दुर्गमका अभिभावकहरूमा समेत नयाँ कुरा सिकाइ दिएको छ ।’


जिल्लामा पहिलो पटक आयोजना गरेको मेलामा सयाैं विद्यार्थीहरूले सांस्कृतिक झाँकीसहित र्‍याली निकालेका थिए ।

प्रकाशित : मंसिर २७, २०७५ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?