लागूऔषधको ट्रान्जिट बन्दै महेन्द्रनगर

खुला सीमा, सहज पहुँच र अभिभावकको निगरानी नहुँदा प्रयोगकर्ता बढे
भवानी भट्ट

कञ्चनपुर — महेन्द्रनगरको मुटुमा रहेको सभागृहमा गत वर्षसम्म लागूऔषध प्रयोगकर्ताको भीड देखिन्थ्यो । त्यो ठाउँ एकान्त हुँदा लागूऔषध प्रयोगकर्ताले सुरक्षित ठान्थे । सभागृहको निर्माण पूरा भएपछि उनीहरूको अखडा सर्‍यो । अहिले बजारका सार्वजनिक स्थल र शौचालयमा सरेका छन् । 

लागूऔषधको ट्रान्जिट बन्दै महेन्द्रनगर

कञ्चनपुरको महेन्द्रनगर तथा आसपासका क्षेत्रमा लागूऔषधका प्रयोगकर्ता बढ्दै गएका छन् । खुला सिमाना र अभिभावकले निगरानी नगर्दा समस्या चुलिँदै गएको छ ।


लागूऔषध प्रगोगले जिल्लामा चोरी, कुटपिट तथा अन्य अपराधसमेत बढाएको छ । मोबाइल र साइकल चोरीका घटनामा अधिकांश लागूऔषध प्रयोगकर्ता नै संलग्न हुने गरेको प्रहरीले जनाएको छ । ‘चोरीका घटनामा धेरैजसो लागूऔषध प्रयोगकर्ताको संलग्नता देखिएको छ,’ जिल्ला प्रहरी कार्यालयका एसपी कुवेर कडायतले भने, ‘दुई/तीन दिनमा एउटा लागूऔषधको मुद्दा आइरहेको छ ।’


पछिल्लो पटक निर्मला घटनामा अनुसन्धानको दायरामा रहेका प्रदीप रावल र विशाल चौधरी पनि लागूऔषध प्रयोगकर्ता हुन् । अभिभावकका अनुसार उनीहरू पनि महेन्द्रनगर तथा आसपासका क्षेत्रमा विभिन्न चोरीका घटनामा पक्राउ परिसकेका छन् ।


मदिरा सेवन, चरेस र सिरिन्जबाट लागूऔषधको प्रयोग लगायतका गतिविधिमा पनि उनीहरू संलग्न थिए ।


जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा लागूऔषधका ४४ वटा मुद्दामा ५३ जना पक्राउ परेका छन् । जसमा अधिकांश १७ देखि ३० वर्ष उमेरका छन् । गत आवमा ४ किलोग्रामभन्दा बढी चरेस र ७ ग्राम चरेस बरामद भएको छ ।


यसैगरी सुघ्ने तथा सिरिन्जबाट प्रयोग गरिने नाइट्राभेट ११ सय ७७ टयाब्लेट, फेनारगन ४ सय ६० एम्पल, स्पास्मा ३ एम्पल र कोरेक्स ३ बोतल बरामद भएको छ । भारतबाट प्रयोगका लागि लुकिछिपी ल्याइरहेको अवस्थामा र महेन्द्रनगर बजारमा प्रयोग गरिरहेको अवस्थामा उक्त लागूऔषध बरामद गरिएको हो ।


यसैगरी चालु आर्थिक वर्षमा पनि हालसम्म १७ मुद्दामा ३२ जना पक्राउ परेका छन् । यस वर्ष पनि चरेस ४ किलोग्राम, खैरो हेरोइन २१ ग्राम, फेनारगन १ सय ४० एम्पल, नाइट्राभेट ७ सय १३ एम्पल रक्सोजेसिक ३५ एम्पल बरामद भएको छ ।


लागूऔषध नियन्त्रण ब्युरोले गत आवमा १९ किलोग्राम चरेस र करिब १६ ग्राम खैरो हेरोइन बरामद गरेको छ । यस वर्ष पनि हालसम्म ४ किलोग्राम चरेस र ५० ग्राम खैरो हेरोइन बरामद गरेको छ । यसैगरी कोरेक्स, नाइट्राभेट, स्मापा नाइट्राजेपाम, कोरेक्स र सिरिन्जहरू प्नि ठूलो परिमाणमा बरामद गरिएको छ । ब्युरोले गत वर्ष ३४ जना र यस वर्ष २१ जनालाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ ।


‘खुला सिमाना, सहज उपलब्धता, अभिभावकको कमजोरी र सामाजिक दायित्वको अभावले लागूऔषध प्रयोगकर्ता बढ्दै गएका छन्,’ एसपी कडायतले भने, ‘अभिभावक र समाजले पनि आफ्नो दायित्व निर्वाह गर्न सकेनन्, राति घरबाट बाहिर जाने छोराछारीलाई हामीले कहाँ जान लागेको भनेर सोध्न छाडिसक्यौं ।’


उनका अनुसार सीमावर्ती बजारमा सिरिन्जबाट प्रयोग हुने विभिन्न किसिमका लागूऔषध र टयाब्लेटहरू सहजै प्राप्त हुने भएकाले यसको प्रयोग अझ बढेको हो । महेन्द्रनगर तथा आसपासका क्षेत्रका प्रयोगकर्ताहरू अधिकांश सीमावर्ती बजार वनबसा र खटिमासम्म यसकै लागि पुगेका हुन्छन् ।


खासगरी पढाइका लागि पहाडबाट तराई झर्ने र विपन्नता भएका परिवारमा अभिभावको निगरानी नहुने हुँदा त्यस्ता स्कुले किशोर तथा युवामा यस्तो कुलत बढ्दै गएको महेन्द्रनगर सामुदायिक प्रहरी सेवा केन्द्रका इन्चार्ज सई दानसिंह भाट बताउँछन् । ‘स्कुले उमेरका किशोर तथा युवाहरू धेरैजसो कुलतमा फसेका छन्,’ उनले भने, ‘अभिभावकको निगरानी नहुनु र सीमावर्ती क्षेत्रमा सहज रूपमा उपलब्ध हुनु पनि यसको प्रमुख कारण हो ।’


सामुदायिक प्रहरी सेवा केन्द्रले बजार क्षेत्रका विद्यालयहरूमा लागूऔषधको कुलतबाट जोगाउन प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।


हरेक विद्यालयमा दैनिक रूपमा यसको प्रयोगबाट हुने बेफाइदा र असरका बारेमा जानकारी दिने गरिएको भाटले बताए ।


लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरका इन्चार्ज सई धनञ्जय मल्ल पनि संगत, पारिवारिक कमजोरी र खुला सीमाकै कारण यसको प्रयोग गर्ने बढ्दै गएको बताउँछन् ।


‘भारतीय बजारमा सहजै प्राप्त हुन्छन्, जहाँबाट पनि लुकाइछिपाइ जनचेतनाको अभाव, सानो परिमाण जहाँ लुकाएर पनि ल्याउन सकिन्छ,’ उनले भने, ‘सबै ठाउँमा सुरक्षा निकायको उपस्थिति हुन सक्दैन, भए पनि सानोतिनो परिमाण थाहा पाउन सकिँदैन ।’


उनले अभिभावक तथा बालबालिकाहरूमा जनचेतनाको अभाव र नियनत्रणका प्रयासहरू पर्याप्त मात्रामा नहुँदासमेत यो समस्या विकराल बन्दै गएको बताए ।

प्रकाशित : मंसिर २७, २०७५ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?