अल्लो उत्पादन न्युन

अछाम — अल्लोको कपडाको माग बढे पनि आधुनिक प्रविधि नहुँदा उत्पादन न्यून छ । जिल्लाको पूर्वी क्षेत्रका बासिन्दा अल्लोको कपडा उत्पादनमा सक्रिय भए पनि यो क्षेत्रमा अझै आधुनिक प्रविधि भित्रिन सकेको छैन ।

अल्लो उत्पादन न्युन

स्थानीय अहिले पनि पुरानै हाते सीप प्रयोग गर्न बाध्य छन् । यसले मिहिनेत धेरै परेपनि उपलब्धि थोरै छ ।


तुर्माखाँद गाउँपालिका–७ तोषीका झंकरबहादुर विष्टले अल्लोलाई पकाएर बनाएको लोक्ताबाट धागो बनाउन समस्या हुने गरेको बताए । १ लाख ५० हजार लगानीमा सामान खरिद गरेर व्यवसाय सुरु गरेका विष्टले धागो तान्न नजान्दा मेसिनरी सामान बिग्रेको बताए । रकम खेर गए पनि हरेस नखाएर त्यसैलाई निरन्तरता दिएको उनको भनाइ छ ।


‘त्यत्तिकै छोडौं भने लगानी सबै खेर जाने जस्तो देखियो । तर पनि परिवारको सल्लाहले फेरी प्रयास गर्‍यौं र सफल भयौं,’ उनले भने । हाल उनको कपडा उद्योगमा अल्लोको कोट उत्पादन हुने गरेको छ । १ महिनामा ४ वटा कोटलाई आवश्यक पर्ने कपडा हातले उत्पादन गरिन्छ ।


‘एउटा कोटका लागि ४ मिटर कपडा आवश्यक पर्छ,’ उनले भने, ‘हामी हातले अल्लोको रेशा तानेर बुन्छौं । जसका लागि कटन धागो र अल्लो धागो बुटवल, भरतपुर, काठमाडौंबाट मगाउनुपर्छ । त्यो पनि समयमै पाइँदैन ।’ अहिले उद्योगलाई चाहिने सबै सामान आफूसँग रहेको र कपडा पनि उत्पादन भइरहेको बताउँछन् । तर बजारमा माग भए पनि ढुवानी गर्न भने सकेका छैनन् ।


उनको उद्योगबाट उत्पादित १५ वटा कोट बिक्रीका लागि तत्कालीन घरेलु तथा साना उद्योग विकास समितिमा राखेका छन् । गत वर्ष एक गैरसरकारी संस्थाले साविकको तोषी गाविसको गर्जे बकल्देउ लेकमा प्रशस्त अल्लो देखेपछि त्यो क्षेत्रका ३० जना महिलालाई ३० दिने अल्लो प्रशोधन तथा कपडा बुुन्ने तालिम दियो ।


त्यो महिलाका लागि अपूरो सीप मात्र भयो । बजार व्यावस्थापनका लागि सुरुमा सरकारी कार्यालय, एनजीओ/आईएनजीओले सहयोग गर्छौं भने पनि हालसम्म कुनै पहल नगर्दा उत्पादन गरेर गाउँमा थन्क्याउनुपर्ने बाध्यता रहेको उनले सुनाए ।


बजारको छेउछाउ अथवा सडकसँग आफ्नो क्षेत्र नजोडिएको हुँदा दुर्गममा कोही नजाने र सदरमुकामसम्म ढुवानी गर्न सक्ने आफ्नो अवस्था नरहेको अर्का स्थानीय उद्धव विष्टले बताए । ‘कोट बेच्नकै लागि मंगलसैन आउन सकिँदैन, सदरमुकामबाट धेरै टाढा छ,’ उनले भने, ‘एक कोटको चार हजारसम्म पर्छ । आउजाउमा त्यत्तिकै खर्च हुन्छ ।’

प्रकाशित : मंसिर २८, २०७५ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?