‘राजा गए, पानी सुक्यो’

डीआर पन्त

देवल, डडेलधुरा — गाउँमा राजा आए, खानेपानी योजनाको उद्घाटन गरे । उनी गाउँबाट नफर्कंदै धारामा पानी सुक्यो । धेरैले पछि मात्र थाहा पाए, राजालाई देखाउन मात्र धारो बनाइएको रहेछ । एक घण्टा पैदल दूरीबाट गाग्रीमा पानी ल्याएर ट्यांकी भरिएछ । त्यो धारामा अहिलेसम्म पनि थोपै चुहिँदैन ।

गाउँको खबर यस्तै छ । ०४२ मा तत्कालीन राजा वीरेन्द्रले साविकको देवल गाविस सदरमुकाम नजिकै धाराको उद्घाटन गरेका थिए । राजाले उद्घाटन गरेको ताम्रपत्र अहिले फालिएको छ । आउने जाने मूल बाटोमा रहेको उक्त धारो देखाउँदै स्थानीय त्यो बेलाको बेथिति उप्काउँछन् ।

त्यो घटनाको ३५ वर्षपछि पनि देवलको पिल्कोट गर्खामा खानेपानीको समस्या ज्यूँकात्यूँ छ । त्यस क्षेत्रमा दुई दर्जन बढी खानेपानी योजनाको निर्माण सम्पन्न भएको छ । दर्जन बढी योजना अहिले पनि निर्माणाधीन छन् । दर्जन बढी खानेपानी योजनाको माग गाउँपालिकामा थुप्रिएको छ ।

न त सम्पन्न भएका योजनामा पानी आउँछ, न निर्माणाधिन योजना नै सम्पन्न भएर खानेपानीको समस्या समाधान होला भन्ने स्थानीयलाई विश्वास लाग्छ । उक्त क्षेत्रमा सबैभन्दा बढी लगानी खानेपानीमा देखिए पनि पानीको समस्या भने समाधान हुन सकेको छैन । जिल्लाकै सुक्खा क्षेत्रका रूपमा चिनिने साविकको देवल गाविसका बासिन्दाले खानेपानीका लागि निकै सास्ती खेप्नुपरेको छ ।

‘उ त्यही धारो हो,’ स्थानीय समाजसेवी नारायण अवस्थीले भने, ‘त्यतिबेला पञ्चहरूले राजा झुक्याएर योजना खाए । पछिल्लो समय हाकाहाकी जनतालाई देखाएर योजनाको बजेट पचाउने गरेका छन् । थुप्रैपटक खानेपानी योजना निर्माण भए पनि अधिकांश योजनामा पानी छैन ।

कतै मूलले बाटो फेरेका कारण योजना बन्द भएका छन् । कतै मूल नै सुकेका कारण योजना असफल भएको प्राविधिकहरूले बताउने गरेका छन् ।’ साविकको देवल गाविस अहिले अजयमेरु गाउँपालिकाको ५ र ६ नम्बर वडाका बाडिएको छ । गाउँपालिका बनेपछि पनि खानेपानीका क्षेत्रमा हुने गरेको लगानीको व्यापक दुरुपयोग भइरहेको स्थानीयको गुनासो छ ।

स्थानीय शिवराज पन्तका अनुसार पानीको स्रोतका रूपमा गुवाडीको लेक मात्र हो । गुवाडीको लेक क्षेत्रमा सडक निर्माण हुन थालेपछि पानीका मूल पनि हराउन र सुक्न थालेका छन् । ‘१० लाखदेखि तीन करोडसम्मका खानेपानी योजना साविकको देवल गाविसमा निर्माण भए । तर कुनै पनि योजनाबाट उपभोक्ताले सहज रूपमा खानेपानी पाउन सकेका छैनन्,’ पन्तले भने । गाउँपालिकाले पछिल्लो समय निर्माण सुरु गरेका योजनाको अवस्था झनै दयनीय छ ।

पहुँच भएका व्यक्ति र गाउँका केही परिवारका लागि खानेपानी क्षेत्रमा धेरै बजेट हालिएको गुनासो पन्तले गरे । विगतमा निर्माण भएका योजनाको मर्मत सम्भार हुन सकेको छैन । करोडौं खर्चेर बनेका योजना जीर्ण अवस्थामा छन् । नयाँ–नयाँ योजनाका नाममा बजेट सकाउने काम मात्र भइरहेको सर्वसाधारणको गुनासो छ ।

देवल बजारमै खानेपानीको समस्या छ । ग्रामीण क्षेत्रमा पनि नाम मात्रका योजना निर्माण भएका छन् । गाउँ–गाउँ र टोलटोलमा ठूलाठूला पानी ट्यांकी देख्न सकिन्छ । अधिकांश पानी ट्यांकी रित्ता मात्र होइनन्, निर्माण भएदेखि पानी नभएका छन् ।

खानेपानीका लागि अधिकांश गाउँलेले खोला र परम्परागत नाउलीको भर पर्नुपरेको छ । खोला किनाराका गाउँलेका लागि केही सहज भए पनि अरू गाउँका बासिन्दाले भने पानीको जोहो गर्न निकै कठिनाइ भोग्नुपरेको छ ।

वडा–५ का वडाध्यक्ष दानवबहादुर खड्काले गत वर्षदेखि खानेपानीलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले भने, ‘विभिन्न गाउँमा खानेपानीका योजना सुरु भइसकेका छन् । चालु आर्थिक वर्षमा धेरै गाउँमा योजना सम्पन्न गर्ने, पुराना योजना मर्मत गर्ने काम सम्पन्न हुनेछ ।’

प्रकाशित : मंसिर २८, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?