१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हिउँ पर्‍यो फुरुरु...

बझाङ र दार्चुलाका उच्च लेकाली भेगमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । विद्यालयहरू बन्द छन् भने बझाङमा सोलार ब्याट्री चार्ज हुन नसक्दा एफएम रेडियो प्रसारणमा कठिनाइ भएको छ ।

बझाङ/दार्चुला — चिसो बढेसँगै बझाङ र दार्चुलाका उच्च लेकाली भेगमा हिमपात भएको छ । बझाङका साइपाल, सुर्मा, छविस पाथीभेरा र बुंगल नगरपालिकाको माथिल्लो भेगमा हिउँ खसेको छ ।

हिउँ पर्‍यो फुरुरु...

घाम नलाग्दा सोलार ब्याट्रीले काम नगरेपछि जिल्लामा प्रसारण हुने सबै एफएम रेडियोहरू बन्द छन् । ५ वटा एफएम रेडियो स्टेसन बन्द भएका हुन् ।


जिल्लाका अधिकांश विद्यालयसमेत बन्द छन् । नेपाल टेलिकम बझाङका कार्यालय प्रमुख बमबहादुर सिंहले घाम नलाग्दा बुधबार रातिबाट बाँता र केदारको टावरमा राखिएका सोलारका ब्याट्री चार्ज नहुँदा मोबाइल नेटवर्क आउने र जाने समस्या भएको बताए । जाडोले जनजीवन प्रभावित हुँदै गएको छ ।


हिउँ जमेको र जाडो बढेपछि घर बाहिरको काम गर्न समस्या भइरहेको छविस पाथीभेरा गाउँपालिका ७ का स्थानीय प्रकाश धामीले बताए । ‘जाडोले केटाकेटी र वृद्धवृद्धा बढी समस्यामा परेका छन् । कोही पनि घरबाहिर निस्कन सकेका छैनन्,’ उनले भने, ‘पशुबस्तुलाई आहारा र चरनको समस्या भएको छ ।’


बुंगल नगरपालिकामा रहेको भूमेश्वरी आधारभूत विद्यालय, सुर्मादेवी, सूर्योदय, धुली निमावि धुली, धौलपुर प्राविलगायतका दर्जन बढी विद्यालय बन्द भएको बुंगल नगरपालिकाका स्थानीय हिक्मतराज धामीले बताए । हिउँदेबाली बिग्रने चिन्तामा रहेका किसानलाई भने राहत पुगेको छ । ‘गत वर्षको जस्तै खडेरी पर्छ कि भन्ने चिन्ता लागेको भए पनी वर्षा भएकाले खेतीपाती सप्रिने आशा छ,’ धामीले भने ।


यस्तै दार्चुलाका लेकाली क्षेत्रमा पनि हिमपात भएको छ । बुधबार दिउँसोदेखि जिल्लाका विभिन्न ठाउँमा हिमपात सुरु भएको हो । अपी हिमाल र ब्यासका गाउँपालिकाका अधिकांश ठाउँमा हिउँ परेको छ ।


नौगाड, मार्मा र दुहु गाउँपालिकाका लेकाली भेगमा पनि हिमपात र वर्षा भएको स्थानीयले बताए । अपी हिमालको घुसा, खण्डेश्वरी, सितोला, गुल्जर तथा ब्यास गाउँपालिका ब्यास, राप्ला र सुन्सेरालगायतका ठाउँमा हिमपात हुँदा यहाँको जनजीवन कष्टकर भएको अपी हिमाल गाउँपालिका–४ का स्थानीय कल्याणसिंह बोहराले बताए ।


गाउँ माथिका उच्च डाँडामा यसअघि नै हिमपात भएको र गाउँमा पहिलो पटक हिउँ परेको उनले बताए ।

प्रकाशित : मंसिर २८, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?