पुल नहुँदा क्षति

वसन्तप्रताप सिंह

बझाङ — जिल्लाको बीच भाग भएर बग्ने सेती नदीमा निर्माण हुनुपर्ने पक्की पुलहरू वर्षाैंदेखि अलपत्र अवस्थामा रहेका छन् । तोकिएको अवधिभित्र पक्की पुल नबन्दा स्थानीय तहले बर्सेनि लाखौं रकम अस्थायी पुल निर्माणका लागि खर्च गरिरहेका छन् ।

पुल नहुँदा क्षति

सेती नदीको पानकोट, तमैल, थलारा गाउँपालिकाको झनाना र तल्कोट गाउँपालिकाको देवसैनमा समय गुज्रिसक्दा पनि पक्की पुल बन्न सकेका छैनन् ।


सेती नदीमा निर्माण हुनुपर्ने चारवटा पक्की पुलको निर्माण अवधि पटकपटक गुज्रिसक्दा पनि सम्पन्न हुन नसकेपछि स्थानीय तहले प्रत्येक वर्ष अस्थायी पुल बनाएर गाडी चलाउने गरेका छन् । मंसिरदेखि वैशाखसम्म सञ्चालन हुने अस्थायी पुल प्रत्येक वर्ष जेठको मध्यतिर सेतीमा आएको बाढीले बगाएर लैजान्छ । फेरि अर्काे वर्ष अस्थायी पुल निर्माणका लागि स्थानीय तहले लाखौं रकम खर्च गर्नुपर्छ ।


सेती नदी पारि रहेका स्थानीय तहलाई जोड्न ०७३ साल असार महिनामा निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको सदरमुकाम नजिकैको सेती नदीको पानकोटमा पक्की पुल चार वर्षसम्म पनि निर्माण हुन सकेको छैन ।


सेती पारि रहेको जिल्लाको करिब आधा भूभागलाई सडक सञ्जालमा जोड्ने यो पुल बन्न नसक्दा वर्षाैंअघि निर्माण सम्पन्न भएका सडक पनि बेकामे भएका छन् । ठेकेदार कम्पनी नीलगिरी निर्माण सेवा र जागृति निर्माण सेवाले ६ करोड ७८ लाखको लागतमा संयुक्त रूपमा पुल निर्माणको जिम्मेवारी पाएका थिए ।


डिजाइन इस्टिमेटमा त्रुटि भएका कारण पुल निर्माण हुन नसकेको निर्माण कम्पनीले जनाएको छ । हाल पुन: टेन्डर भई निर्माण कार्य सुरु हुन लागेको हो । यसैगरी तमैलमा निर्माणाधीन पुलको पनि यही पुस महिनामा सम्झौता अवधि सकिँदैछ । तीन वर्षभित्र सम्पन्न गर्ने सर्तमा केएच कन्ट्रक्सन प्रालिले ११ करोड २५ लाख रुपैयाँको लागतमा निर्माण हुने गरी ठेक्का पाएको थियो ।


निर्माण कार्यको समयावधि सकिन लाग्दा पनि २० प्रतिशत मात्र काम भएको छ । ठेक्का लिने तर काम नगर्ने प्रवृत्तिले गर्दा विकासका योजना आए पनि आफूहरूले सुविधा पाउन नसकेको खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष बर्कबहादुर रोकायाले बताए ।


सेती लोकमार्गअन्तर्गत पर्ने खप्तड छान्ना गाउँपालिकाका स्थानीयले दुई वर्षअघि यही ठाउँमा काठको अस्थायी पुल निर्माण गरेर गाडी सञ्चालन गरेका थिए । पुल निर्माणको काममा ढिलाइ भएपछि स्थानीय ठेकेदार कम्पनीप्रति आक्रोशित हुन थालेका छन् ।


तल्कोट गाउँपालिकाको देवसैनको सेती नदीमा निर्माण हुनुपर्ने मोटरपुलको ठेक्का २०६८ सालमा भएको थियो । याक्थुहाङ निर्माण सेवा प्रालिले निर्माणको जिम्मा लिएको उक्त पुलको काम पनि हालसम्म सुरु हुन सकेको छैन ।


कम्पनीले प्रत्येक वर्ष ठेक्का निर्माणको अवधि भने नवीकरण गरिरहेको छ । थलारा गाउँपालिकाको झनानामा निर्माण गर्न लागिएको पक्की पुलको काम पनि अलपत्र अवस्थामा छ ।


थलारा गाउँपालिकालाई जयपृथ्वी राजमार्गसँग जोड्ने पुल ठेकेदारको बेवास्ताका कारण अलपत्र परेको स्थानीय व्यक्तिहरूको आरोप छ । राजनैतिक संरक्षणका कारण ठेकेदारले निर्माण कार्यमा ढिलाइ गर्ने गरेको स्थानीयको आरोप छ ।


लाखौंको लागतमा काठेपुल हाल्न होडबाजी पक्की पुललाई चाँडो निर्माण गर्न पहल गर्नुको सट्टा यहाँका स्थानीय तहले अस्थायी पुल निर्माणका नाममा बर्सेनि लाखौं रकम खेर फाल्ने गरेका छन् । मस्टा गाउँपालिकाको लागत रहने गरी डुङ्ग्रीमा एउटा र कपडेमा एउटा काठेपुल निर्माण गरिएको छ ।


यी दुई पुलमा कति रकम खर्च हुन्छ भन्ने गाउँपालिकाले अनुमान नै गरेको छैन । काम सकिएपछि कतिको लागतमा निर्माण भयो भनेर भन्न सकिने मस्टा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायतले बताए । तल्कोट गाउँपालिकाले सेती नदीमा काठेपुल निर्माण गरी सवारीसाधन सञ्चालनमा ल्याएको छ ।


असोज महिनामा काठेपुल निर्माण सम्पन्न गरी सवारीसाधन सञ्चालनमा ल्याइएको इन्जिनियर विजय खातीले बताए । काठेपुल निर्माणमा कति खर्च भयो भन्ने कुरा एकिन नभएको उनले बताए ।


अघिल्लो वर्ष बगे ५२ लाखका पुल

०७४ सालमा बनेका काठेपुल ४ महिना नपुग्दै सेती नदीले बगाएको थियो । स्थानीय तहले लाखौं खर्च गरेर निर्माण गरेका काठेपुल ४ महिना नपुग्दै सेतीले बगाएको थियो । दुई/चार महिना सुविधा पाए पनि ८ महिना जस्ताको त्यस्तै हुने गरेको छ ।

प्रकाशित : मंसिर २९, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?