१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

कर्णाली किनारमा घिन्ताङ धुन

जाडो मौसम सुरु भएपछि वनभोजले खानेहरूको भीडले कैलालीका रमणीय स्थल भरिभराउ
मोहन बुढाऐर

काठमाडौँ — जाडो बढेसँगै तराईका बासिन्दामा वनभोज खाने चलन छ । मंसिरको पारिलो घाममा रमणीय स्थलमा साथी–संगीसँग नाच–गान गर्दै वनभोजमा सहभागी हुनुको मजा नै बेग्लै हुन्छ ।

कर्णाली किनारमा घिन्ताङ धुन

कैलालीका अधिकांश रमणीय स्थल भरिभराउ छन् । गोदावरी, घोडाघोडी, टीकापुर पार्क, चिसापानी, खानीडाँडा, बुढीतोला र कोइहिली ताललगायत क्षेत्रमा भीड लागेको हो ।


धनगढीवासीको नजिकको गन्तव्य हो, देवहरिया जंगल । त्यहाँभित्रको रमणीय जोखर ताल वनभोजस्थल बन्दै गएको छ । धनगढी बजारबाट १५ किलोकिलोमिटर टाढाको गदरियाको कोइहिली ताल क्षेत्रमा पनि उस्तै भीड लाग्ने गरेको छ । यो वर्ष यहाँ राष्ट्रपति चुरे कार्यक्रम अन्तर्गत आन्तरिक पर्यटन विकासका लागि विभिन्न काम भएका छन् । छुट्टै वनभोज स्थल, बाल उद्यान भएकाले पनि धेरैको रोजाइमा कोइहिली ताल पर्छ ।


यस्तै घोडाघोडी, गोदावरी, चिसापनी र टीकापुर पार्कमा शैक्षिक भ्रमण निकै बढी हुने गरेको छ । शनिबार यहाँ खुट्टा राख्ने ठाउँ हुँदैन । युवायुवतीको बढी रोजाइमा भने कैलालीको पूर्वी कर्णालीको बगर पर्छ । पारिलो घाममा घिन्ताङ, घिन्ताङ... मादल बजाउँदै वनभोजमा रमाउनेहरूको संख्या पछिल्ला दिनमा बढ्दै गएको छ ।


तिहारको देउसीभैलोबाट संकलित रकमले वनभोज मनाउने समूह अहिले बढी हुने गरेको पर्यटन व्यवसायी पुष्प कुँवरले बताए । उनले पैसा संकलन गरेर पनि मंसिरमा पिकनिक मनाउने चलन बढ्दै गरेको जनाए । ‘यसले आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत मद्दत पुगिरहेको छ,’ उनले भने ।


धनगढीको उत्तरबेहेडीबाट वनभोजका लागि गोदावरी पुगेकी पुष्पा भट्टले मंसिरको पारिलो घाममा साथीसंगीसँग रमाउन वनभोज खान आएको बताइन् । ‘शनिबार लगायत सार्वजनिक बिदाको दिन पिकनिक जान सबै जना हुरुक्क हुन्छन्,’ उनले भनिन् । जाडोमा हुस्सु र शीत लहर नचल्दासम्म वनभोज जाने चलन छ । धनगढी– ११ का खडक साउदले भने, ‘यो समयमा महिला र पुरुष सबै मन मिल्नेहरूले वनभोजका कार्यक्रम तय गर्छन् ।’


उनले शनिबार टोलवासी नजिकैको जोखर तालमा वनभोज खान जाने गरेको बताए । ‘हेमन्त ऋतुमा सुदूरका पहाडी जिल्लामा पनि उहिले ग्वानी जाने चलन थियो,’ स्थानीय धनन्जय जोशीले भने, ‘त्यो एक प्रकारको वनभोज अर्थात् पिकनिकजस्तै हो ।’


उनका अनुसार घरबाट अलिक टाढा गाईगोरु चराउने वनमा तन्नेरी महिला/पुरुष आफ्ना दौंतरीका साथमा ग्वानी मनाउने गरेको बताए । आफ्नो घरबाट एक जनालाई पुग्ने चामल, दाल, नुन–तेल, खुर्सानी र तरकारी लिएर संयुक्त भोज हुन्थ्यो । उनी बझाङ र बाजुरामा ग्वानी जाने चलन बढी रहेको सम्झिन्छन् ।


‘अहिले उता पहाडतिर ग्वानी भन्दैनन्, पिकनिक जाने भन्छन्,’ उनले भने, ‘यता तराईमा बसाइ सरेका उनै ग्वानी खाने स्थानीय वनभोज जाने चलन बढी छ ।’ उनी पछिल्लो समयमा देखासिकीमा साथीसंगी मिलेर वनभोज मनाउने चलन बढेको बताउँछन् । समाजशास्त्रका विद्यार्थी रामबहादुर बुढाऐर वनभोजले सामाजिक एकताको भावना ल्याउने र थकानयुक्त जिन्दगीलाई सामूहिक रमाइलोमा परिणत गर्ने बताउँछन् ।


थारू समुदायका अगुवा हेरुलाल डगौरा कैलाली र कञ्चनपुरका थारू समुदायमा उहिले वनमा देउताको पूजा गर्ने र संयुक्त भोज गर्ने चलन रहेको बताउँछन् । ‘वनभोज जाने चलन थिएन,’ उनले भने, ‘तर हरदुवा, हरेरी, धुरिया, बाहु पूजा सबै वनभोजअन्तर्गतका कार्यक्रम हुन् । मानव सभ्यतामा वनभोजको परम्परा कुनैकुनै रूपमा हरेक जातिमा रहेजस्तै थारूमा पनि थियो ।’


अहिले हरेक गाउँघरमा थारू युवायुवती भैलोलगायतका अन्य सामूहिक आम्दानीको केही रकम वनभोज कार्यक्रममा खर्चने गरेको उनले बताए ।

प्रकाशित : पुस १, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?