कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सडकमा पहिरैपहिरो

कालोपत्रे गरेको ६ महिना नबित्दै बार्जुगाढदेखि मार्तडीसम्मको सडक खण्डमा जताततै पहिरो गएको छ
अर्जुन शाह

बाजुरा — वर्षदिन नपुग्दै बाजुरा सडक पहिरोले भत्किन थालेको छ । बार्जुगाढदेखि मार्तडीसम्मको २७ किलोमिटर खण्डका सयौं ठाउँमा पहिरोले सडकमा क्षति पुगेको छ । 

सडकमा पहिरैपहिरो

झन्डै ७० करोड लागतमा गत वर्ष कालोपत्रेको काम सकिएको थियो । ६ महिना नबित्दै वर्खामा बार्जुगाढदेखि मार्तडीसम्मको खण्डमा जताततै तल–माथिबाट पहिरोले सडक भत्काएको छ ।


अम्कोट क्षेत्रमा तलबाट बुढीगंगा नदीको जोखिम बढेको छ भने माथिबाट पहिरोले सडक ढाकेको छ ।

वर्षा सकिए पनि लगातार सुक्खा पहिरो डरलाग्दो गरी खसिरहेको छ । यातायात व्यवसायी शेरबहादुर रावत भन्छन्, ‘तल–माथि दुवैतिरबाट लगातार पहिरो खस्ने गरेकाले बाजुरा सडकमा जोखिम छ ।’


सडक निर्माणमा संलग्न प्राविधिक देवीलाल विकका अनुसार माथि रोक्यो तल खस्छ, तलबाट उठायो माथिबाट पहिरोले ढाक्छ । विक यो सडक कालोपत्र गर्ने निर्माण कम्पनी पीएस कन्स्ट्रक्सनका इन्चार्ज हुन् ।


वर्षामा भत्किएको सडक सफा गर्न यसै साता अछामको साँफेस्थित सडक डिभिजन कार्यालयले इस्टिमेट तयार गरेको छ । सडकमा खसेको पहिरो हटाउन मात्र ११ करोड खर्च लाग्ने अनुमान गरिएको कार्यालयका प्राविधिकले जनाएका छन् । ‘सफा गरेर के गर्नु तलमाथिबाट उस्तै क्षति दोहोरिने देखिन्छ,’ ती प्राविधिकले भने ।


अम्कोट क्षेत्रमा तल बुढीगंगा नदीलाई थुन्ने गरी पारी कैलाशमाडौंबाट पहिरो लगातार खसिरहेको छ । झन्डै २ किलोमिटर क्षेत्रमा माथिबाटै पूरै डाँडा फुटेर बुढीगंगा नदी थुनिएको छ । वर्षामा नदी थुनिएर जडागासम्म जलाशय भएको थियो ।


अहिले पनि सुक्खा पहिरो थामिएको छैन । ‘तलबाट बुढीगंगा नदीले कटान गरेको छ भने माथिबाट पनि पहिरो खसिरहेकै छ,’ इन्जिनियर विकले भने ।


साँफेदेखि मार्तडीसम्म ५७ किलोमिटर लम्बाइ रहेको बाजुरा मूल सडक बार्जुगाडसम्मको ३१ किलोमिटरसम्म राम्रै भए पनि त्यसअगाडि स्थायी रूपमा सडक सञ्चालन हुन सक्ने अवस्था नरहेको प्राविधिकहरूले बताए । ‘सडक क्षतविक्षत छ, सडकमा गएको पहिरोको दृश्यले बाजुराको मुहारै बिगारेको झैं लाग्छ,’ पहिलोपटक बाजुरा पुगेका दुर्गा भण्डारीले भने । ०५१ सालमा साँफेमा शिलान्यास भएको यो सडकमा ०७३ मा बाजुरा सदरमुकाम मार्तडीमा बस पुगेको थियो ।


बार्जुगाढदेखि मार्तडीसम्मको सडकखण्ड जताततै पहिरोको चपेटामा परेपछि अर्को ठाउँबाट सडक लैजानुपर्ने अवस्था आएको प्राविधिकहरू औंल्याउँछन् । ‘जति मर्मत सुधार गरे पनि अहिलेको ठाउँबाट सडक स्थायी रहने देखिन्न,’ इन्जिनियर विक भन्छन्, ‘बार्जुगाढदेखि नै माथिबाट सडक बनाउनुको विकल्प छैन ।’ मर्मतका नाममा बारम्बार करोडौं खर्च गर्नुको सट्टा अर्को ठाउँबाट सडक निर्माणको योजना बनाइहाल्नु उचित हुने उनको सुझाव छ ।


अर्को ठाउँबाट सडक लैजानुपर्ने बाध्यात्मक अवस्थामा बेतालमाडौंदेखि बानेगाउँ–डेल्टा हुँदै जुगाडबाट मार्तडी पुर्‍याउनु उत्तम विकल्प हुने प्राविधिकहरू बताउँछन् । ‘यो ठाउँमा पहिरोको जोखिम छैन,’ अर्का प्राविधिक उपेन्द्र शाह भन्छन् ‘यो ठाउँमा हाल ग्रामीण सडक छ, त्यसैलाई स्तरोन्नति गरे पुग्छ ।’

प्रकाशित : पुस १, २०७५ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?