कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

उमेर नपुग्दै बिग्रिसक्छ घरबार

भवानी भट्ट

कञ्चनपुर — महाकाली नगरपालिका ९ दोधाराकी तुलसीदेवी (नाम परिवर्तन) २० वर्षकी भइन् । ४ वर्षअघि ८ कक्षामा पढ्दा गाउँकै युवासँग प्रेम विवाह गरेकी उनी तीन वर्षदेखि माइतमै बसेकी छन् ।

उमेर नपुग्दै बिग्रिसक्छ घरबार

घरेलु हिंसासँगै श्रीमान्ले अर्काे विवाह गरेपछि उनले २ वर्षको छोरासहित माइतीमा आश्रय लिएकी हुन् ।

विवाह गरेको केही महिना त तुलसी जीवन राम्रै बित्यो । बिस्तारै उनीमाथि घरेलु हिंसा हुन थाल्यो ।


त्यतिसम्म उनले सहेकै थिइन् । जब श्रीमान्ले कान्छी भित्र्याए उनी बाहिरिइन् । ‘श्रीमान्ले वास्ता गर्न छाडेपछि मैले पनि घर छाडेर आए,’ उनले भनिन्, ‘हिंसा सहनै नसकिने भयो, त्यहाँ कसरी बस्नु ?’ उनले श्रीमान्विरुद्ध बहुविवाहको मुद्दा पनि हालेकी छन् । उक्त मुद्दा अहिले पनि चलिरहेको छ ।


तुलसीले श्रीमान्विरुद्ध बहुविवाह र घरेलु हिंसा गरेको भन्दै प्रहरीमा जाहेरी पनि दिइन् । केही दिन प्रहरीले पक्राउ गरेपछि विवाह दर्ता र छोराको जन्म दर्ता गरियो । अहिले फेरि पुरानै अवस्था छ । यतिबेला उनले नगरपालिकाको न्यायिक समितिमा पनि निवेदन दिएकी छन् । त्यसको सुनवाइ हुन भने बाँकी छ ।


दोधाराकै रिंकु (नाम परिवर्तन) ले पनि १० कक्षा पढ्दापढ्दै घर परिवारको इच्छाअनुसार गाउँकै युवासँग विवाह गरिन् । १९ वर्षको उमेरमा विवाह गरेकी उनको घरबार पनि १ वर्षमै बिग्रियो । घरेलु हिंसाका कारण श्रीमान्सँग बस्न सकिनन् । ‘रात दिनको हिंसा सहन नसकेर भागेर माइत आए,’ रिंकुले भनिन्, ‘आमा बुबाले खोजेको केटासँगै मन पराएर विवाह गरें तर त्यहांँ त बस्नै नसकिने भयो ।’


रिंकु १ वर्षदेखि माइतमा बस्दै आएकी छन् । पढाइ छाडेर विवाह गरेकी उनलाई यतिबेला निकै पछुतो लागिरहेको छ । विवाह गर्नुको साटो राम्ररी पढेको भएर अहिले केही यस्तो दु:ख नखेप्नुपर्ने उनको बुझाइ छ । ‘त्यतिबेला घर परिवारले पनि मानेन, मैले पनि मन पराए,’ उनले भनिन्, ‘सानैमा विवाह गरें, विवाह गर्ने उमेर नपुग्दै घरबार बिग्रियो ।’


महाकाली नगरपालिकामा कम उमेरमै विवाह हुने समस्या अत्यधिक छ । यहाँ ८/९ कक्षा पढ्दापढ्दै विवाह गर्ने र पुरुषहरू कामका लागि भारत जाने चलन छ । महिलाले घरबार सम्हाल्ने गर्छन् । यसरी कम उमेरमा विवाह गर्नेमध्ये अधिकांशको घरबार बिग्रेको छ । यसै साता महाकाली नगरपालिकामा आयोजित सिलाइ–कटाइ तालिममा सहभागी १६ मध्ये आधा जति कम उमेरमै विवाह गरेर घरबार बिग्रेका महिला थिए ।


‘त्यतिबेला पढ्दापढ्दै विवाह गरियो, अहिले पछुताउनुपरेको छ,’ महाकाली नगरपालिका ३ की शारदा क्षेत्रीले भनिन्, ‘न पढाइ भयो, न त घरबार नै सप्रियो । अहिले माइतमा बसेर दिन गुजार्नुपरेको छ ।’ शारदा २२ वर्षकी भइन् । उनको विवाह ५ वर्षअघि भएको हो । उनकी ५ वर्षकी १ छोरी छन् ।


महाकाली नगरपालिकाको न्यायिक समितिले हालसम्म करिब डेढ सय मुद्दाको छिनोफानो गरेको छ । जसमध्ये ४० प्रतिशत घरेलु हिंसा र बहुविवाहका छन् । न्यायिक समितिले मुद्दा फैसला गर्न नसकेपछि अंश दिलाउने विवाह दर्ता र जन्म दर्तालगायतका काम गराउन सघाएको नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक चिनी गिरीले बताइन् ।


‘न्यायिक समितिमा परेको अधिकांश मुद्दामा बालविवाह भएकाहरू नै पीडित छन्,’ संयोजक गिरीले भनिन्, ‘हामीले अंश र अन्य अधिकार दिलाउन पहल गरिरहेका छौं ।’ उनले पछिल्लो पटक लामो समयदेखि श्रीमान् भारतमा बेपत्ता भएको र श्रीमतीलाई आफन्तले अंश नदिएको मुद्दा न्यायिक समितिमा दर्ता भएको बताइन् । यस विषयमा पनि पीडित महिलालाई अंश दिलाइरै छाडिने उनको भनाइ छ ।


‘अहिले पनि नगरपालिकामा बाल विवाह मुख्य समस्याका रूपमा रहेको छ,’ संयोजक गिरीले भनिन्, ‘यसकै कारण घरेलु हिंसा भई घरबार बिग्रेका समस्या निम्तिएका छन् ।’ उनले बाल विवाह रोक्नका लागि जनचेतनासँगै आवश्यक सूचना दिन पनि आग्रह गरेको बताइन् । सूचना प्राप्त हुनेबित्तिकै आवश्यक कारबाही गरिने उनको भनाइ छ ।

प्रकाशित : पुस १, २०७५ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?