१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

टीकापुरमा कृषक पाठशाला

गणेश चौधरी

टीकापुर — रानी, जमरा र कुलरिया कुलो सिँचाइअन्तर्गत कृषितर्फको कार्यालयले गाउँगाउँमा एकीकृत शत्रु जीव व्यवस्थापन (आईपीएम) कृषक पाठशाला सञ्चालन गरिरहेको छ ।

कृषकलाई विषादी प्रयोगले हुने हानिकाबारे जानकारी गराउने र विषादी प्रयोग गर्नै परेमा हरियो स्टिकर (लोगो) भएको विषादी प्रयोग गर्न सल्लाह दिने गरिएको छ ।


कृषि कार्यालयका प्रमुख सुनील सिंहले बजारमा रातो, पहेंलो, हरियो र नीलो स्टिकर भएको विषादी आउँने गरेको बताए । ‘रातो र पहेंलो बिषादी निकै खतरनाक मानिन्छ । त्यसैले हरियो स्टिकर भएको प्रयोग गर्न सिफारिस गर्छौं,’ उनले भने । रासायनिक विषादीको प्रयोगले मानवलगायत जीवजन्तुको स्वास्थ्यमा असर पर्ने भएकाले सकभर रासायनिक विषादी प्रयोग नगर्न र घरेलु विषादी उत्पादन र प्रयोगमा जोड दिने गरिएको उनको भनाई छ ।


‘धेरै विषादी प्रयोग गर्दा किसान स्वयंलाई पनि असर पर्छ । उपभोक्तालाई पनि असर पर्छ । शोध अनुसन्धानबाट विषादी प्रयोग भएका खानेकुराले क्यान्सर, अल्सर, ग्यास्टिक जस्ता रोग लाग्ने र अपांग बच्चा जन्मिने, मानिसमा इन्फर्टिलिटीको समस्या पनि भएको खुल्न आएको छ,’ उनले भने ।


रानी, जमरा कुलरिया सिँचाइ आयोजनाको कृषितर्फको कार्यालयले कैलालीको पूर्वी भेगमा अझै विषादी प्रयोगको मात्रा सन्तुलनमा रहेको अनुमान गरेको छ । यहाँ प्रशस्त माहुरीपालन छ । माहुरी मरेका छैनन् । अत्यधिक विषादी प्रयोग भए माहुरी पनि मर्छन् ।


विषादी प्रयोगका बारे किसानलाई सचेतनाका लागि पुस ९ देखि १७ गतेसम्म विषादी न्यूनीकरण क्याम्प सञ्चालन गरिनेछ । ‘विषादीको दुरुपयोग नहोस् भनेर क्याम्प सञ्चालन गर्छौं । त्यतिबेला किसानले रोग लागेको बाली क्याम्पमा लिएर आउनुहुन्छ । बाली हेरेर के रोग लागेको हो त्यहीअनुसार विषादी दिन्छौं,’ कार्यालय प्रमुख सिंहले भने ।


रासायनिक विषादी प्रयोग गर्दै आएका किसानलाई एकीकृत शत्रुजीव व्यवस्थापन कृषक पाठशालामा (आईपीएम) घरेलु विषादी उत्पादन र प्रयोग विधि सिकाइने गरिएको छ । यसबाट विषादी किन्ने पैसा पनि बच्ने गरेको किसान जितबहादुर चौधरीले बताए । उनले भने, ‘बालीमा प्रयोग गर्ने रासायनिक मल र विषादीका कारण जमिन र उपभोक्ताको स्वास्थ्यमा मात्र असर नपारी किसान स्वयंलाई पनि असर पार्ने कुरा सबै किसानले बुझ्न जरुरी छ ।’


कृषि प्राविधिकका अनुसार किसानका लागि सबै कीरा बालीका शत्रु हुदैनन । शत्रु र मित्र कीराको पहिचान गरी खेतीपाती गरे लगानी पनि कम र मानव स्वास्थ्यमा पनि असर गर्दैन ।


रानी, जमरा कुलरिया सिँचाइ आयोजनाको कृषितर्फको कार्यालयले शत्रुजीव व्यवस्थापन र मित्रजीवको संरक्षणबाट तरकारी खेती गर्ने र बजारमा रहेका विभिन्न रासायनिक मल र विषादीको न्यूनीकरणबारे सचेतना फैलाउन आईपीएम कृषक पाठशाला सञ्चालन गर्दै आएको जनाएको छ ।


रासायनिक विषादी प्रयोग बढदै गएकाले स्वच्छ बाली उत्पादन गर्ने र घरेलु जडीबुटीबाट बनाइएका विषादीको प्रयोगमा प्रोत्साहन गर्न र किसानलाई नियमित रूपमा आफ्नो खेतबारीको अवलोकन गर्ने बानीको विकास गर्न पनि पाठशालाले भूमिका खेलेको टीकापुर नगरपालिकाको कृषि शाखा प्रमुख गौरीशंकर गुप्ताले बताए । उनले भने, ‘एउटा पाठशालामा कम्तीमा २५ जना किसान रहने गरेका छन् ।’

प्रकाशित : पुस २, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?