२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

विमानस्थलका लागि अध्ययन

मनाेज बडु

दार्चुला — अढाई दशकदेखि बन्द दार्चुलाको गोकुलेश्वर विमानस्थल पुन: सञ्चालनका लागि प्रारम्भिक अध्ययन सुरु भएको छ । नागरिक उड्डयन प्राधिकरणको टोलीले विमानस्थलको अध्ययन गरेको हो ।

विमानस्थलका लागि अध्ययन

प्रारम्भिक अध्ययनका क्रममा प्राविधिकहरूले विमानस्थलमा हवाई सेवा सञ्चालन गर्नका लागि आसपासका केही घर र दार्चुला–बैतडी जोड्ने मोटरेबल पुल बाधक रहेको बताएका छन् ।


नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर बालकिशोर रेग्मीले विमानस्थल नजिकका २/३ घर र महाकाली लोकमार्गको गोकुलेश्वर पुलको माथिको भागले बाटो रोक्न सक्ने जानकारी स्थानीयलाई गराएका थिए ।


गोकुलेश्वरका स्थानीय व्यापारी देवदत्त विष्टले ०५० सालसम्म सञ्चालनमा रहेको विमानस्थलको पुन: अध्ययन सुरु भएकोमा स्थानीय बासिन्दा उत्साहित भएको बताए । ‘देशमा सशस्त्र द्वन्द्वको सुरुवातसँगै जहाज आउन छाड्यो । त्यसपछि हालसम्म बन्द अवस्थामै छ,’ उनले भने ।


योसँगै बन्द रहेका सुदूरपश्चिमका अन्य विमानस्थलहरू सञ्चालन भइसकेको र केही सञ्चालनको तयारीमा छन् । झन्डै २५ वर्षदेखि बन्द विमानस्थल सञ्चालनका लागि अध्ययन गर्न नागरिक उड्डयन प्राधिकरणबाट प्राविधिक टोली यहाँ पुग्दा सञ्चालनको आस जागेको व्यापारी बिष्टले बताए ।


नागरिक उड्डयन प्राधिकरणबाट इन्जिनियर रेग्मीको नेतृत्वमा तीन सदस्यीय प्राविधिक टोली आएको थियो । उनीहरू अध्ययन सकेर काठमाडौं फर्किएका छन् । अध्ययनपछि टोलीले स्थानीयसँग छलफल गरेको शैल्यशिखर नगरपालिकाका प्रमुख अमरसिंह धामीले बताए ।


छलफलमा टोलीले अहिले विमानस्थलको सामान्य अध्ययन गरेको र त्यसपश्चात् प्रतिवेदन तयार पारेर विभागलाई बुझाइनेबारे आफूहरूलाई जानकारी गराएको उनको भनाइ छ ।


अहिलेको अध्ययनले विमानस्थल नजिकका केही घर र मोटरेबल पुल विमानस्थल सञ्चालनमा बाधक देखिएका छन् । सामान्य अध्ययनपछि मात्रै विस्तृत अध्ययन गरिने उक्त टोलीले जनाएको छ । केही घरहरू र पुलको माथिल्लो भाग हटाउन सके विमानस्थल सञ्चालन गर्न सकिनेछ ।


स्थानीयहरूले विमानस्थल सञ्चालनमा समस्या पुर्‍याउने खालका घरहरू हटाउन सकिने सकारात्मक प्रतिक्रिया दिएको नगर प्रमुख धामीले जानकारी दिए । लामो समयदेखि विमानस्थल बन्द रहँदा यहाँको प्राकृतिक र धार्मिक पर्यटन ओझेलमा छ ।


लामो समयसम्म विमानस्थल बन्द रहँदा गाई, भैंसी चराउने चउर र खेल सञ्चालन गर्ने मैदानमा रूपमा प्रयोगमा आइरहेको छ ।

प्रकाशित : पुस ३, २०७५ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?