१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

जब झरना चुम्छ इन्द्रेणी

बझाङ — जिल्लाकै आकर्षक मानिने ढाँकीछडा झरना प्रचार अभावमा ओझेलमा छ । साइपाल गाउँपालिकाको साइपाल पदमार्गमा पर्ने यो झरनाको प्रचार–प्रसार प्रवद्र्धन गर्न सकेमा आन्तरिक र विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्न सक्छ । 

जब झरना चुम्छ इन्द्रेणी

साइपाल गाउँपालिका–४ मा पर्ने काँकरकोट गाउँबाट करिब ७ किलोमिटर दक्षिण पश्चिममा रहेको झरनाको बनावट अनौठो छ । माथिबाट सिधा बगेर झरेको पानी झरनाको बीच भागमा ठोक्किएर एक्कासि दायाँतर्फ फर्किएको दृश्य हेरिरहुँ जस्तो लाग्छ ।


बीच पहरोमा पुगेर दुवैतिर फाट्ने झरनामा नियमित जस्तो पर्ने इन्द्रेणीले दृश्य झनै मनमोहक देखिन्छ । हावाको गतिसँगै झरनाको प्रवाहले बयेली खेल्दै पहरामा यताउता ठोक्किँदा ढाँकीछडाले छिनछिनमा आफ्नो रूप परिर्वतन गरेझैं महसुस हुने गरेको स्थानीय बताउँछन् ।


समुद्री सतहबाट करिब ३ हजार १ सय मिटरको उचाइमा रहेको यो झरनाको लम्बाइ करिब ३ सय मिटर छ ।


झरना नजिकैबाट छर्लंग देखिने साइपाल हिमाल, झरनाको छेवैमा सुसाउँदै बग्ने सेती नदी, वरिपरि रहेको हरियो जंगलले यो क्षेत्रको सुन्दरता अझै बढाएको छ । हिमाली जलवायुको सामीप्य महसुस हुने स्थानीय बासिन्दाहरू बताउँछन् । झरना क्षेत्र वरिपरिका वनमा झारल र नाउरका बथानहरू, मृग, घोरल, बँदेल जस्ता विभिन्न जंगली जनावरहरू देख्न सकिन्छ ।


यस क्षेत्रमा डाँफे, मुनाल, कालिजलगायतका चराचुरुङ्गी पनि सजिलै देख्न पाइन्छ । झरना नजिकै रहेका ठूलठूला पहरामा भीर मौरीको मह सिकार गर्ने व्यवस्था मिलाउन सके यहाँ पर्यटकको संख्या बढ्न सक्ने स्थानीय गोरख बोहराको भनाइ छ ।


‘यो झरनाको बनावट नै अनौठो खालको छ । त्यहाँ बसेर घण्टौं हेर्दा पनि आँखा नअघाउने खालको यति सुन्दर झरना पहिलो पटक देखेको हुँ,’ साइपाल बेसक्याम्प पदयात्राका क्रममा ढाँकीछडा झरना क्षेत्रको समेत भ्रमण गरेका काठमाडौंका सुमन केसीले भने, ‘झरनाको कलकल, चराहरूको चिरबिर आवाज र त्यहाँबाट देखिने सुन्दर हिमालको दृश्य साँच्चिकै अद्भुत लाग्छ ।’


प्रचार प्रसारको अभावमा प्रकृतिको गर्भमै रहेको यस्तो ठांउको व्यवस्थापन र प्रवद्र्धन गर्न सके बर्सेनि हजारौं पर्यटकको गन्तव्यको रूपमा विकास गर्न सकिने उनको भनाइ छ ।


यो झरनामा क्यानोनिङको पनि सम्भावना रहेको बताउँदै यहाँ सामान्य पूर्वाधारहरूको विकास गर्न सके पर्यटकहरूको आकर्षण बढ्ने काँकरकोटका होटल व्यवसायी रणबहादुर खड्काले बताए । उनले यो गाउँपालिकामा थुप्रै झरनाहरू, तालतलैया र मनोरम प्राकृतिक दृश्यहरू रहेकाले साइपाल सर्किट नै निर्माण गरेर पदयात्रा मार्गको विकास गर्न सकिने सम्भावना रहेको बताए ।


गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले साइपाल गाउँपालिकामा रहेको ढाँकीछडा झरना बनावटका हिसाबले जिल्लाकै सबैभन्दा आकर्षक झरना भएको र यसको विकासका लागि गाउँपालिकाले काम सुरु गरिसकेको बताएका छन् ।


उनले झरनासम्म पुग्ने बाटोलाई घोडेटो बाटोका रूपमा विकास गर्ने र झरनाको प्रचारप्रसार गर्ने काम गाउँपालिकाले गरिरहेको बताए । आगामी वर्षभित्रमा जिल्लाको सबैभन्दा बढी आन्तरिक र बाह्य पर्यटकले घुम्ने गन्तव्यमध्येको एक ढाँकीछडालाई बनाउने आफूहरूको लक्ष्य रहेको उनको भनाइ छ ।

प्रकाशित : पुस ३, २०७५ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?