२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

पुरुष भारतमा महिला बाख्रापालनमा

मेनुका ढुंगाना

अछाम — यहाँका महिला बाख्रापालन व्यवसाय गरेर आत्मनिर्भर बन्न थालेका छन् । थोरै लगानीमै मनग्गे आम्दानी हुन थालेपछि आकर्षण बढेको छ । 

पुरुष भारतमा महिला बाख्रापालनमा

उन्नत जातका बाख्राबाट जन्मिएका बोका हुर्काएर खसी पारिन्छ । यहाँका बजारमा मासुको उच्च माग छ । खसीको मासु प्रतिकेजी ७ सयमा बिक्री हुन्छ । कृषक बाख्रा पालेरै लाखौं आर्जन गर्न सफल भएका छन् । गाईभैंसी पालेर दूध बिक्री गर्नुभन्दा बाख्रा र खसी पाल्दा बढी आम्दानी हुन थालेपछि यो व्यवसाय थालेको ढकारी गाउँपालिका–४ बलाताकी सेतु कामीले बताइन् ।


‘छोराछोरीको शिक्षा–दीक्षाको खर्च जुटाउन श्रीमान् अहिले पनि भारतमै हुनुहुन्छ । एक्लैको आम्दानीले घरपरिवार चलाउन नसकेपछि मैले बाख्रा पाल्न सुरु गरें,’ उनले भनिन्, ‘अहिले २१ बाख्रा छन् । ४ छोराछोरीको हेरविचार र दिउँसो बाख्रा चलाएर समय बित्छ ।’


यो गाउँका धेरै महिलाले बाख्रापालन व्यवसाय रोजेका छन् । गाउँ पुरुषविहीन जस्तै छ । बालबालिका, महिला र वृद्धवृद्धा मात्रै बस्ने गाउँमा ३/४ वर्ष यता छुट्टै चहहलपहल छ । दसैं र अन्य समयमा पनि यहाँका खसीबाख्राले अछाम सदरमुकाम मंगलसैन, सुर्खेत, दैलेख र नेपालगन्जसम्म बजार पाउने गरेको स्थानीय आइता साउदले बताइन् ।


‘यहाँका धेरै महिलाको माइती घर सुर्खेत र दैलेखमा छ । चिनजान पनि उतै हुने भएकाले माइत जाने निहुँमा खसी बाख्रा बेचेर आउँछौं,’ उनले भनिन्, ‘भारतबाट श्रीमान् दसैंमा आउँदा बाख्रा पालेको देखेर अचम्म मान्नुभयो ।’ उनले बाख्रा पालेर बर्सेनि एक लाखभन्दा बढी आम्दानी गरिरहेको बताइन् ।


०७० देखि व्यावसायिक रूपमा बाख्रापालन सुरु गरेपछि अहिले आफ्नो जीवनमा नसोचेकै परिवर्तन आएको स्थानीय कला साउदले बताइन् । ‘हाम्रो परिवारमा पहिला ६ महिना पनि राम्रोसँग खान पुग्थेन । बाख्रा पालेर अहिले समाजमा आर्थिक हैसियत राम्रो बनाउन सकेकी छु,’ उनले भनिन् । १५/१६ वटा बाख्रा पाल्दै आएकी साउदले घर खर्च मात्र नभई छोराछोरीलाई पढाउन पनि सजिलो भएको बताइन् । बाख्राको उचित स्याहारसुसार गर्ने हो भने आम्दानीको गतिलो माध्यम बन्ने उनको भनाइ छ ।


कुनै सरकारी तथा गैरसरकारी संस्थाको सहयोगबिना व्यवसाय गर्ने व्यक्ति भेटिन मुस्किल परेका बेला आफ्नो गाउँका महिलाहरूले गरेको व्यावसाय देखेर प्रभावित भएको वडाध्यक्ष भक्तबहादुर बुढाले बताए ।


‘अनुदानबिनै यहाँका महिलाले आफ्नै लगानीमा व्यवसाय सुरु गरेका छन् । व्यवसाय गर्ने अधिकांशका श्रीमान् भारतमा छन्,’ उनले भने, ‘गाउँपालिकाले व्यवसाय मजबुत बनाउनका लागि आगामी दिनमा सहयोग गर्नेछ ।’ बलातामा मात्र होइन, जिल्लाका बस्ती, ढकारी, हिच्मा, ढुंगाचाल्ना र घोडासैन क्षेत्रका महिला कृषकहरू बाख्रापालनबाट राम्रो आम्दानी गर्न सफल भएका छन् ।

प्रकाशित : पुस ५, २०७५ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?