कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

बसाइँसराइले रित्तिँदै गाउँ

मेनुका ढुंगाना

अछाम — बसाइँसराइ बढेपछि जिल्लाका अधिकांश बस्ती रित्तिन थालेका छन् । गाउँमा पहिलेझैं खेती गर्ने युवा भेटिँदैनन । उहिलेका उब्जनी हुने फाँट अहिले बाँझै छन् । काम गर्ने जनशक्तिको अभाव छ । बस्तुभाउ पाल्न छाडिएको छ ।

बसाइँसराइले रित्तिँदै गाउँ

मंगलसैन नगरपालिकाको तथ्यांकअनुसार ०७४ वैशाखदेखि चैतसम्म ७८ परिवारका ३ सय १० जना बसाइँ सरे । यहाँ बसाइँसराइ गरेर एउटा मात्र परिवार आएको मंगलसैन नगरपालिकाका सूचना अधिकारी खगेन्द्र रिमालले जानकारी दिए ।


०७५ वैशाखदेखि असारसम्म २५ परिवारका ८४ जना बसाइँ सरेर गएका छन् । नगरपालिकामा एउटा परिवार मात्र भित्रिएको छ । रिमालले भने, ‘मोटरबाटो, खानेपानी, स्वास्थ्य, शिक्षा, बिजुली, सञ्चार र पूर्वाधार विकास राम्ररी पुगेको छैन । बसाइँसराइ रोक्न गाउँ बस्तीमा विकास पुर्‍याउनु चुनौती छ ।’


बसाइँसराइका कारण पहाडी क्षेत्रमा वनजंगल बढेको छ । गाउँगाउँमा जंगली जनावर पस्छन । चितुवा लगायतका जनावर अहिले बस्तीमै पुगेर आक्रमण गरेका घटना सार्वजनिक भइरहेका छन् । सुख र अवसरको खोजीमा बसाइँसराइ हुँदा गाउँघर रित्तिएका हुन् । भएका युवाहरू कामको खोजीमा विभिन्न देशमा जाने चलन बढेको छ ।


सुखको खोजीमा सहरबजारतिर झर्ने क्रम बढेसँगै गाउँ रित्तिएका हुन् । युवाले पठाएको रकमले तराईतिर घर घडेरी जोड्ने क्रम पनि बढेको छ ।


स्तरीय जीवनशैलीको खोजीले जिल्लाका पहाडी बस्तीबाट बसाइँ सर्ने क्रम रोकिएको छैन । सबैलाई टोल बस्तीमा मोटरबाटो, खानेपानी, शिक्षा, स्वास्थ्य, बिजुली र सञ्चार सुविधा चाहिएको छ । मंगलसैन नगरपालिकाका प्रमुख पदम बोहराले शिक्षा, स्वास्थ्यमा लगानी बढाएर बसाइँसराइ व्यवस्थित गर्नतर्फ लागेको बताए ।


शिक्षित व्यक्तिलाई उत्पादनमूलक व्यवसायमा भुलाउन सके बसाइँसराइ रोकिने उनले दाबी गरे । ‘उत्पादनमूलक वस्तु, कृषि र पशुपालनमा सेयर लगानीको वातावरण बनाउन योजना बनाउँदै छाैं,’ उनले भने, ‘५ वर्षमा समृद्ध, सहकारीमार्फत आर्यआर्जन आत्मनिर्भर बनाउने र गाउँमै बस्न मन पराउने वातावरण मिलाउँछौं ।’


माटो परीक्षण गर्ने त्यसपछि फलफूल, तरकारी, जडीबुटी, अन्न उत्पादन, पशुपालनमा बिमा गरी आम्दानीको स्रोत बनाएपछि बसाइँसराइ घटाउने नगरप्रमुख बोहराले बताए । सबै स्कुलमा अंग्रेजी माध्यमको पढाइलाई जोड दिए बसाइँसराइ रोकिन सक्ने शिक्षक काशीराम सुवेदी बताउँछन् । ‘विकासको लागि सबैभन्दा बलियो शिक्षा हुनुपर्छ । अहिले अंग्रेजीप्रतिको आकर्षण बढदो क्रममा छ । त्यसैले अंग्रेजी शिक्षामा जोड दिनुपर्छ,’ उनले भने ।


‘पैसा कमाएर सहरमा घरघडेरी जोडेपछि कोही पनि गाउँ फर्कंदैन,’ पूर्वजनप्रतिनिधि गंगाराम भण्डारीले भने, ‘आयआर्जनका कार्यक्रम, युवालाई गाउँमा स्वरोजगार र दुर्गम बस्तीसम्म राज्यको उपस्थिति जनप्रतिनिधिले देखाउनुपर्छ । बसाइँसराइ रोक्ने उपाय यही नै हो ।


सर्वसाधारण गाउँको बस्ती चटक्कै छाडेर किन सहर झर्छन्, अनुसन्धान गरी सुविधाको व्यवस्थापन र सेवा उपलब्ध गराउनमा जोड दिनुपर्छ ।’ अछामका १० वटै स्थानीय तहमा सम्पन्न भएका नगर र गाउँसभाले पूर्वाधारका योजना आफ्ना नीति तथा कार्यक्रममा पारेका छन् । अब कसरी बसाइँसराइ रोक्न सकिन्छ भन्ने चुनौती उनीहरूलाई छ ।

प्रकाशित : पुस ६, २०७५ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?