कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जैविक मार्गमा होमस्टे

मोहन बुढाऐर

धनगढी — लालझाडी–मोहना वन्यजन्तु जैविक मार्गमा विजयसाल होमस्टे सञ्चालनमा छ । कञ्चनपुर र कैलालीको सीमा नदी छेउको जंगल किनारमा बसालिएका ५ घर परिवार मुक्त कमैयाले यो होमस्टे चलाएका हुन् ।

जैविक मार्गमा होमस्टे

होमस्टे सञ्चालनकर्ता जमुना चौधरीले लालझाडी–मोहना जैविक मार्गभित्रको सिस्ने सिमसार संरक्षित क्षेत्र र विजयसालको वन अध्ययन अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरी होमस्टे सञ्चालनमा ल्याएको बताइन् । ‘यो होमस्टे राजमार्गमा पर्ने भएकाले थकाइ मार्न आउने पाहुँनाको समेत विश्रामस्थल बन्दै गएको छ,’ उनले भनिन् ।


चौधरीले होमस्टेमा आउने पर्यटकका कारण आन्तरिक पर्यटन आयआर्जनको राम्रो माध्यम बन्न थालेको बताइन् । पछिल्लो समयमा सिस्ने सिमसार क्षेत्र आन्तरिक पर्यटकको एक ‘पिकनिक स्पट’बन्दै गएको छ । सामुदायिक वन समन्वय समिति अध्यक्ष शिवराज पन्तले नदी किनार जंगल छेउमा बसालेका मुक्त कमैयालाई संरक्षण अभियानमा जुटाएर उक्त होमस्टे स्थापना गर्न लगाएको बताए ।


‘वनजंगलमाथि निर्भरता घटाउन मुक्त कमैया समुदायलाई होमस्टे सञ्चालनका लागि प्रेरित गरिएको हो,’ अध्यक्ष पन्तले भने, ‘अहिले यहाँका मुक्त कमैया समुदाय संरक्षणमा जुटेका छन् । नदी छेउको उजाड क्षेत्र अहिले पूरै जंगल बनाइसकेका छन् ।’ कैलालीको वसन्ता जैविक मार्ग तथा घोडाघोडी सिमसार क्षेत्रमा पर्ने माघी होमस्टे पनि सञ्चालनमा छ । घोडाघोडी सिमसार क्षेत्रको अवलोकन भ्रमण गर्न आउने आन्तरिक तथा बाहय पर्यटकलाई लक्षित गरी माघी होमस्टे सञ्चालनमा ल्याएको सचिव मानबहादुर चौधरीले बताए ।


कैलालीमै वनबेहडा धार्मिक वन तथा वसन्ता जैविक मार्गको ‘सर्किट’ लाई जोड्ने अर्काे भादा होमस्टे सञ्चालित छ । थारू संस्कृति र वसन्ता जैविक मार्गभित्रका प्राकृतिक सम्पदालाई देखाउँदै कैलालीको उर्मामा भादा होमस्टे सञ्चालनमा ल्याएका हुन् ।


त्यस्तै वन्यजन्तुको ओहोरदोहोर गर्ने बाटोमा बर्दिया राष्ट्रिय निकुञ्जलाई जोड्ने खाता जैविक मार्गमा गोविन्दपुर र डल्ला होमस्टे पर्छन् । खाता करिडोरले बर्दिया राष्ट्रिय निकुञ्जलाई भारतको कतरनियाघाट वाइल्डलाइफ सेन्चुरीलाई जोडेको छ ।


शिव सामुदायिक वन समितिद्वारा सञ्चालित डल्ला जैविक मार्ग होमस्टेले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई आकर्षित गर्न सफल भएको छ । जैविक मार्गभित्र पर्ने शिव सामुदायिक वनका वन्यजन्तु हेर्न आउने पर्यटकको संख्यामा समेत वृद्धि हुँदै गएकाले होमस्टे पछिल्लो समयमा राम्रोसँग चलेको सामुदायिक वनका अध्यक्ष मंगल थारू बताउँछन् ।


उनका अनुसार अहिले दैनिक ३०/४० आन्तरिक तथा बाह्य पर्यटक होमस्टेमा आउने गरेका छन् । उनी आफ्नो होमस्टेले प्रसिद्धि पाउन लागेको दाबी गर्छन् । उनले अघिल्लो वर्ष बेलायतका राजकुमार ह्यारीले पनि आफ्नो डल्ला गाउँको ‘भिजिट’ गरेको बताए ।


होमस्टेको स्थापनाले यहाँको जीवनस्तर माथि उठेको उनले बताए । कञ्चनपुरको शुक्लाफाँटादेखि रौतहटको वाग्मतीसम्मको वन्यजन्तु जैविक मार्गलाई जोड्ने ‘करिडोर’ मा सञ्चालनमा आएका ‘होमस्टे’ आयआर्जनको राम्रो माध्यम बन्दै गएको छ, भन्छन्, तराई भू–परिधि कार्यक्रमका प्रबन्धक पूर्णेश्वर सुवेदी ।


उनले होमस्टेद्वारा जीविकोपार्जनमा मद्दत पुग्नाका साथै स्थानीयको संरक्षणमा ठूलो योगदान रहँदै आएको बताए । ‘जैविक मार्गमा वन्यजन्तुको अलिकति बासस्थान सुधार्ने र प्राकृतिक सम्पदाको संरक्षण गर्ने काम भएको छ,’ उनले भने, ‘यससँगै संरक्षण गरेबापत स्थानीयले पर्यापर्यटनको एउटा पाटोबाट होमस्टेको अवधारणा विकास भएको छ ।’


अहिले जैविक मार्ग र राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा गरी २६ वटा होमस्टे सञ्चालनमा रहेको उनले जानकारी दिए । विश्व वन्यजन्तु कोषको सहयोगमा नेपाल र भारत सरकारले भारतको जिमकर्वेटदेखि रौतहटको वाग्मतीसम्मको वन्यजन्तु ओहोरदोहोर गर्ने जैविक मार्ग निर्माणमा तराई भूपरिधि कार्यक्रम सन् २००१ बाट सुरु गरेको छ ।

प्रकाशित : पुस ७, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?