२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

पुल निर्माणमा लापरबाही

मेनुका ढुंगाना

अछाम — म्याद सकिएको ५३ महिना बितिसक्दा पनि सेती लोकमार्ग जोड्ने बूढीगंगा नदीको चित्रे पुलको निर्माण कार्य पूरा भएको छैन ।

पुल निर्माणमा लापरबाही

२०७० भदौमा सम्झौता भएर ०७२ असारमा पुल निर्माण गरिसक्ने सम्झौता थियो । सम्झौताको ५ वर्ष बित्दा पनि निर्माण कार्य पूरा हुन नसकेको हो ।


अहिलेसम्म उक्त पुलका ४ वटा पिलर मात्रै निर्माण भएका छन । ठेकेदारको आग्रहमा पटकपटक म्याद थपिए पनि निर्माणले गति नलिँदा यातायात सञ्चालनमा व्यवधान छ । उक्त पुल निर्माणका लागि अनक, नन्देगडा र तुल्सी दुर्गा निर्माण कम्पनीले संयुक्त रूपमा सम्झौता गरेका थिए । ठेकेदार कम्पनीको लापरबाहीले काम हुन नसकेको स्थानीयको आरोप छ ।


एक सय मिटर लम्बाइको पुल निर्माणको सम्झौता ३ वटा कम्पनीसँग संयुक्त भए पनि कामको सम्पूर्ण जिम्मा नन्देगडा कन्स्ट्रक्सनले लिएको थियो । कुल ६ करोड ३६ लाख लागत थियो । हालसम्म ७४ प्रतिशत काम सकिएको दाबी निर्माण व्यवसायीका प्रतिनिधि खेमराज बुढाको दाबी छ ।


‘पानीमुनि ८ मिटर खनेर पिलर हालिएका छन् । अहिलेको अवस्थामा ४ प्रतिशत काम तत्काल सुचारु गर्न सकिन्छ । २६ प्रतिशत काम सम्पन्न गर्न केही समय लाग्छ,’ उनले भने, ‘पुल निर्माण गर्ने क्रममा कुनै निकायको साथ पाएनौं । सबैले दोष दिने काम मात्र गर्छन् ।’


स्थानीय निर्माण कम्पनी नन्देगडा कन्स्ट्रक्सनका प्रोपराइटर रामबहादुर बुढाले कहिले मिस्त्री अभाव र कहिले पानीको बहाव बढेको बहाना गरेर ढिलासुस्ती गरिरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । ‘अब कुनै पनि हालतमा पुल बन्ने गरी ठेकेदारलाई ताकेता गरिरहेका छौं,’ उनले भने ।


चित्रे पुल निर्माणको काममा भइरहेको ढिलासुस्तीका बारेमा यहाँ हुने प्राय: छलफल र कार्यक्रममा सरोकारवालाले चासो लिनुका साथै लापरबाही गर्ने ठेकेदारलाई कारबाहीका लागि पहल गर्नुपर्ने आवाज उठ्ने गरेको छ । तर, बेवास्ता गर्ने ठेकेदारलाई कानुनबमोजिम कारबाही गर्नतर्फ सम्बन्धित निकायले आँट गरेको छैन ।


सेती लोकमार्ग जोड्ने चित्रे पुलको कार्यालयले पटक–पटक ताकेता गर्दा पनि ठेकदारले लापरबाही गरिरहेको जिल्ला समन्वय समितिका उपप्रमुख टोपबहादुर रावलले बताए । ‘सीडीओ, मेयरलगायत सरोकारवालाको समूहले भर्खरै अनुगमन गर्दा ठेकेदारको लापरबाही र निर्माण सामग्री व्यवस्थापनमा बेवास्ता गरेको देखियो,’ उनले भने, ‘काम सुस्त गतिमा भइरहेको छ ।’ पुल निर्माण नहुँदा सदरमुकाम आवतजावतमा कठिनाइ छ । करिब १० किलोमिटरको दूरी पार गर्न ४० किलोमिटरको घुमाउरो यात्रा गर्नुपर्ने बाध्यता छ ।

प्रकाशित : पुस ८, २०७५ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?