कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सामुदायिक वनको आम्दानीले एम्बुलेन्स

बाटो ग्राभेल गर्नका लागि ट्याक्टर र जेसीबी किनेर भौतिक पूर्वाधार निर्माण पनि वनबाटै प्राप्त रकमबाट भइरहेको छ ।
गणेश चौधरी

टीकापुर — कैलालीको सत्ती कर्णाली सामुदायिक वन समुदायको विकासमा सहयोगी बनेको छ । बाढीका बेला बस्ने सेल्टरदेखि शिक्षा र स्वास्थ्यमा यही वनको स्रोतले सहयोग पुगेको छ ।

स्थानीय उपभोक्ताले विगत २५ वर्षदेखि वनको आम्दानीबाट लाभ लिँदै आएका छन् ।

यही वनको आम्दानीबाट टीकापुर नगरपालिकाको सत्तीमा उच्च मावि सञ्चालन गरिएको छ ।


एम्बुलेन्स सञ्चालन, बाटो ग्राभेलका लागि ट्याक्टर र जेसीबी किनेर भौतिक पूर्वाधार निर्माण पनि वनबाटै प्राप्त रकमबाट गरिएको समिति अध्यक्ष धनसिंह साउदले बताए । उनले भने, ‘यो सामुदायिक वनबाट उत्पादित बेतबाट आम्दानी बढेपछि यो क्षेत्रको विकास हुन थालेको छ ।’


सत्ती कर्णाली सामुदायिक वनमा वार्षिक करिब १ हजार क्विन्टलभन्दा बढी बेत उत्पादन हुने गरेको छ । उत्पादित बेतबाट वार्षिक ३० लाख सम्म आम्दानी हुने गरेको सामुदायिक वनले जनाएको छ । बेतबाट कुर्सी, बास्केट, फूलदानी डोको जस्ता दैनिक प्रयोगमा आउने हलुका र टिकाउ सामान निर्माण गरिन्छ ।


बेत पश्चिम महेन्द्रनगरदेखि पूर्व विराटनगरसम्म र भारतमा पनि बिक्रीका लागि पठाइने गरिन्छ ।


वनले बेत उत्पादन मात्र होइन, विपन्न उपभोक्तालाई जीविकोपार्जनका लागि बेतबाँस तालिम पनि दिन थालेको छ । विपन्न उपभोक्ताले सामुदायिक वनबाट बेत किनेर सामग्री बनाएर व्यवसाय सञ्चालन गरेका छन् ।


वनको कमान्ड क्षेत्रका विद्यालयलाई वनले आर्थिक तथा निर्माण सहयोग गर्दै आएको र अध्यनरत दलित जेहेन्दार मुक्त कमैया र अपांगलाई छात्रवृत्ति पनि उपलब्ध गराउँदै

आएको अध्यक्ष साउदले बताए ।


बेत बेचेर वनबाट भएको आम्दानीले नै एउटा एम्बुलेन्स पनि खरिद गरिएको छ ।

बिरामीलाई बयलगाडामा बोकेर ३–४ घण्टा लगाएर टीकापुर अस्पताल लैजानुपर्ने बाध्यताबाट उपभोक्तालाई मुक्ति मिलेको स्थानियवासी बताउँछन् ।


पछिल्लो समय आफूहरू वनलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजनामा रहेको अध्यक्ष साउदले बताए । उनले भने, ‘बेतबाट हुने आम्दानी त छँदै छ ।


वनमा रहेको मनोरम ताल नदी र जंगल पर्यटकीय क्षेत्रका रूपमा विकास गरी आम्दानी बढाउने प्रयासमा छौं ।’ पर्यटकीय क्षेत्र विकासका लागि वनको आफ्नै र स्थानीय तहको पनि लगानी भइरहेको छ । यसका लागि केन्द्रमा पनि माग गरिररहेको अध्यक्ष साउदले बताए ।


२ सय ९८ हेक्टर क्षेत्रफलमा फैलिएको यो वन जगेर्ना गर्दा बगरमा वृक्षरोपण गरेको देखेर छिमेकी गाउँका कतिपयले खिसिटिउरी गरेको वनका पूर्वअध्यक्ष मोहनबहादुर रावलले स्मरण गरे ।


वृक्षारोपणपछि संरक्षणका लागि चौकीदारलाई दिने तलबका लागि उपभोक्ताको घर घरमा गएर धान संकलन गर्नुपरेको उनी बताउँछन् । धान उठाएर खान खोजेको आरोप पनि आफूहरूमाथि लागेको सम्झदै हाल यस वनले वार्षिक ३० लाख मूल्य बराबरको बेत बेच्न थालेपछि सबै दंग परेको उनले बताए ।

प्रकाशित : पुस १०, २०७५ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?