१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पुरानो वरको रूख ‘साक्षात् देवता’

मेनुका ढुंगाना

अछाम — गाउँमा पुरानो रूख देखेपछि बुढापाकाले भन्ने गर्छन् ‘यो रूख मसँगैको हो ।’ कसैले रूखलाई सय वर्ष पुरानो, कसैले २ सय वर्ष पुरानो भन्छन् । तर अछामको विकट मानिने कालेकाँडामा ८ सय वर्ष पुरानो वरको रूख अझै छ ।

पुरानो वरको रूख ‘साक्षात् देवता’

पञ्चदेवल विनायक नगरपालिका ९, कालेकाँडाका पहराम कार्कीका अनुसार उक्त रूखलाई साक्षात देवताकै रुपमा मान्ने चलन छ । उनले भने, ‘हाम्रा बाजेलेसमेत यो रूख ८ शताब्दी पुरानो हो भन्थे, यो रूखलाई साक्षी राखेर कसम खाएका धेरैले मदिराको कुलतसमेत छाड्छन् ।’


त्यस ठाउँमा साल र वरका रूख थिए । विस्तारै सालको रूख सुक्दै गयो र बरको रूख झ्यागिँदै गयो । त्यही बेलादेखि नै यो रूखको पूजा हुन थालेको कार्कीले इतिहास सुनाए ।


वरको रूखमूनि कालिका देवीको पूजा गरिन्छ । रूख संरक्षणका लागि पूजा गर्न सुरु गरिएको ९३ वर्षीय पुजारी नौले भाट बताउँछन् । ‘म ७/८ वर्ष हुने बेला ९० वर्ष पुगेकाहरू पनि ८ सय वर्ष पुरानो हो भनेको सुन्थें । अहिलेसम्म यो रूख उस्तै छ ।’ उनले भने, ‘यो रूखमा चढेर कसैले काट्न पाइँदैन । जथाभावी यो रूखलाई छोयो भने संकट आइलाग्छ भन्ने विश्वास छ ।’


कालेकाँडामा रहेको वरको रूखको इतिहासबारे स्थानीय ९० वर्ष पुगेका बुढापाकाहरू पनि अघिल्लै पुस्ताबाट सुनेका कुराहरू नयाँ पुस्तालाई सुनाउँछन् ।


अघिल्लो पुस्तासम्म चिल्तडा गाउँको बीचैमा रहेको वरको रूखको छहारीमा बसेर गाउँघरको सभा तथा पञ्चायत गरिन्थ्यो । त्यो अहिले लगभग बन्द भएको छ । वरका रूख पनि गाउँघरमा कमै भेटिन्छन् । कालेकाँडामा भने गाउँघरका कार्यक्रमहरू त्यही ८ सय वर्ष पुरानो बरको चौतारामै हुने गरेका छन् ।


उनकाअनुसार दशैंमा यो ठाउँमा मेला लाग्दछ । कालिकोट र दैलेखसँग सीमाना जोडिएको गाउँ भएकाले यो ठाउँमा मेला लाग्दा त्यहाँका महिलापुरुषहरू देउडा खेल्नसमेत आउने गर्छन् । ‘यति पुरानो रूखबारे प्रचारै भएन । प्रचार भएको भए यसको संरक्षण पनि हुन्थ्यो । महत्त्व पनि बढ्थ्यो,’ उनले भने ।


पहिले गाउँलेहरू मिलेर वरिपरि चौतारा बनाउने र संरक्षण गर्ने गरेको उनी बताउँछन् । अहिले यो रूखको संरक्षणका लागि पञ्चदेवल विनायक नगरपालिकाले १ लाख रकम छुट्याएको छ ।


महिनावारी र गर्भवतीलाई डर

गाउँको बीचैमा देउता मानेर पुज्ने रूख भएकै कारण अन्धविश्वास पनि जोडिएको छ । यहाँका महिला स्वास्थ्य सेवा र पढ्न पाउनबाट बञ्चित छन् ।


‘देवता मानेर पुजा गर्ने रूख नजिकै स्वास्थ्य चौकी छ । यहाँ सुत्केरी हुन आउन निकै डर लाग्छ,’ स्थानीय सञ्जु गिरीले भनिन्, ‘यो रूखप्रति मान्छेको धेरै विश्वास छ । स्वास्थ्य चौकी आएपनि बाटो मोडेर हिड्नु पर्ने अवस्था छ ।’ रूख नजिकै विद्यालय भएकाले महिनावारी भएको बेला छात्राहरूलाई अप्ठ्रो पर्ने गरेको स्थानीय नविना शाहीले बताइन् ।


‘महिनावारी भएको बेला यो बाटो हिंड्न मिल्दैन । बाटो काटेर हिँड्दा महिनावारी भएको सबैले थाहा पाउँछन् ।’ उनले भनिन्, ‘बाटो काटेको देखेपछि त केटाहरूले त जिस्क्याइहाल्छन् । यही कारणले धेरैजसो छात्रा महिनावारी हँुदा विद्यालय आउँदैनन् ।’


हिन्दु धर्ममा बरको रूखको विशेष महत्व छ । विभिन्‍नधार्मिक तथा शुभकार्यमा यसको पात प्रयोग गरिन्छ । र यसको स्वच्छ हावा स्वास्थको लागि उपयुक्त मानिन्छ । आकारमा धेरै ठूलो हुने यो रूखको आयू पनि लामो हुन्छ । समय परिवर्तनसँगै गाउँमा चौतारा बनाउने, संरक्षण गर्नेतर्फ अहिलेका युवा चासो दिँदैनन् । त्यसकारण गाउँघरमा बरका नयाँ रुख देखिँदैनन् ।


गाउँघरको चोक तथा चौतारामा शीतलता प्राप्त गर्न र आवश्कताअनुसार धार्मिक कार्यका लागि यो रूख प्रयोगमा आउँछ ।

प्रकाशित : पुस १६, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?