बढ्यो चिसो

बझाङ — मौसममा आएको परिवर्तनसंगै हवात्तै बढेको चिसोले बझाङको जनीजवन प्रभावित भएको छ । केही दिनअघि भएको हिमपातले चिसो अत्यधिक बढाएको छ । चिसो बढेपछि स्थानीयहरूको दैनिक कामकाज प्रभावित भएको हो । 

बढ्यो चिसो

हिमाली भेगका बासिन्दाहरू बढी समस्यामा परेका छन् ।


‘साँझ बिहान घाँस दाउरा र पानी पँधेरो गर्न निकै समस्या हुने गरेको छ,’ दौलीचौरकी शर्मिला बोहराले भनिन्, ‘घरधन्दाको काम गर्ने महिलाहरूलाई बढी समस्या भएको छ ।’ दिउँसो पनि राम्रोसँग घाम नलाग्ने भएका कारण कामधन्दा गर्न गाह्रो भइरहेको उनले बताइन् ।


‘आगो नबालेर बस्नै सकिने अवस्था छ । यति धेरै जाडो त पहिला कहिल्यै भएको थाहा छैन,’ चैनपुरकी ७० बर्षीया महेश्वरी सिंहले भनिन् ‘यो वर्ष जाडो खपिनसक्नु छ’ जाडो बढेपछि गाँउ र सदरमुकामका टोलटोलमा मान्छे जम्मा भएर आगो तापेर जाडो छल्ने प्रयास गरिरहेका छन् ।


साइपाल, सुर्मा गाउँपालिकाको हिमाली क्षेत्रको तापक्रम माइनस भन्दा तल झरेको छ । चिसोले स–साना बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । चिसोका कारण बालबालिकाहरू बिरामी पर्न थालेको सुनिकोटकी खुड्कीदेवी कुँवरले बताइन् ।


अत्यधिक जाडो बढेपछि ओड्ने र लगाउने लुगाफाटो नभएका गरिब परिवारहरूलाई झन् सास्ती थपिएको छ । ओड्ने ओच्छ्याउने न्यानो कपडा नभएका कारण जाडोले रातभर राम्रोसँग सुत्न नसकेको थलारा गाउँपालिकामा रहेका हलिया परिवारकी ज्ञानादेवी दमाईले बताइन् ।


‘शरीरमा लाउनलाई न्यानो लुगा छैन । ओड्ने ओछ्याउने पनि गतिलो छैन । बिहान कतिबेला घाम लाग्ला भनेर कुरेर बस्ने गरेका छाैं,’ उनले भनिन् । थलाराका १७ परिवार हलियाहरूको बसोबास रहेको छ । उनीहरू अहिले पनि ऋणको ब्याजबापत साहुको हलो जोतिरहेका छन् ।


जाडो बढेसँगै बालबालिकामा निमोनिया र वृद्धवृद्धाहरूमा दमको संक्रमण बढिरहेको जिल्ला अस्पताल बझाङले जनाएको छ । ‘श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरू बढी आउने गरेका छन्’ जिल्ला अस्पतालका डाक्टर शेरबहादुर साँउदले भने ‘दैनिक दुई चार जनालाई त भर्ना नै गरेर उपचार गर्नु परिरहेको छ,’ चिसोले निमोनिया, दम, रुघाखोकी, श्वासप्रश्वाससम्बन्धी र भाइरल संक्रमण भएका विरामीहरू दैनिक १५/२० को संख्यामा जिल्ला अस्पतालमा आउने गरेको उनले बताए ।


गाउँका स्वास्थ्य संस्थामा पनि यस्ता विरामीको संख्या बढीरहेको उनले जनाए । चिसोमा आगो ताप्ने र धुवाले गर्दा दम र निमोनियाका रोगीहरूको रोग विथोलिने भएकोले यसबाट सचेत हुनुपर्ने उनको सुझाव छ ।


चिसो बढेसंगै दाउराको मुल्य पनि बढेको छ । गर्मियाममा प्राय: ठप्पजस्तै हुने दाउराको ब्यापार जाडो बढेपछि फस्टाएको दाउरा बिक्री गर्नेहरूले बताएका छन् । दौलिचौरको पटुडीबाट दाउरा बेच्न आएकी राधिका बोहराले भनिन्, ‘गर्मीको मौसममा भने जस्तो मूल्य पनि पाइँदैनथ्यो । तर अहिले जति ल्याए पनि बिक्री हुन्छ, भने जति मूल्य पनि पाइन्छ ।’


गर्मीयाममा एक भारी दाउरा बेच्न दिनभरी बजार घुम्नु पर्ने गरेको बताउँदै उनले अहिले मानिसहरू दाउरा खरिद गर्न बाटो कुरेर बस्ने गरेको बताइन् । एक महिना अघिसम्म ३ देखि ४ सयसम्म मुल्य पर्ने प्रति भारी दाउराको मुल्य बढेर अहिले ६ सयसम्म पुगेको दाउरा बिक्रि गरेर गुजार गर्दै आएकी किणी देवी बोहराले बताइन् ।

प्रकाशित : पुस १६, २०७५ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?